न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलरका वस्तुमाथि ५० प्रतिशत थप भन्सार महशूल (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। क्यानडाले अमेरिकी गाडी, मदिरा र दुग्धजन्य उत्पादनमाथि भेदभावपूर्ण व्यवहार गरेको भन्दै नयाँ ट्यारिफ घोषणा गरिएको हो।
नयाँ ट्यारिफ अगस्ट १९ देखि लागू हुनेछ। वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, आइस हकीका सामग्री, स्विमिङ पुल, फर्निचर, माछा मार्ने रड, बीउ, कपडा र विगसहितका वस्तु प्रभावित हुनेछन्। यो ट्यारिफ विद्यमान करभन्दा थप हुनेछ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई दुई देशबीचको व्यापार सम्झौताको प्रत्यक्ष उल्लङ्घन भनेका छन्। उनले विवाद समाधानका लागि वासिङ्टनसँगको वार्ता तीव्र बनाउने बताएका छन्।
ऊर्जा उत्पादन, पोटास, माछा र महत्वपूर्ण खनिजलाई भने नयाँ ट्यारिफबाट छुट दिइएको छ। अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी ‘सेक्सन २३२’ अन्तर्गत पहिल्यै ट्यारिफ लागेका वस्तुमा पनि यो अतिरिक्त शुल्क लागू हुनेछैन। अमेरिकी सरकारले क्यानडाले अमेरिकी गाडी, मदिरा र दुग्धजन्य उत्पादनमाथि भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। ह्वाइट हाउसका अनुसार क्यानडामा अमेरिकी सवारीसाधनको आयात एक वर्षमा २२ प्रतिशत घटेको छ। अमेरिकी मदिराको आयात ८१ प्रतिशत घटेको छ।
ट्रम्पले सन् १९३० को ‘ट्यारिफ एक्ट’ अन्तर्गतको ‘सेक्सन ३३८’ प्रयोग गरेका छन्। उक्त कानुनले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशका उत्पादनमा ५० प्रतिशतसम्म दण्डात्मक ट्यारिफ लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ। यो व्यवस्था झन्डै एक शताब्दीमा पहिलोपटक प्रयोग भएको रोयटर्सले जनाएको छ।
यूएस ट्रेड रिप्रेजेन्टेटिभ जेमिसन ग्रीरले क्यानडाले अमेरिकी ट्यारिफको लगातार प्रतिकार गरिरहेको सञ्चारमाध्यमहरूलाइ बताएका छन। उनले अमेरिकाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित उद्योग जोगाउन खोज्दा क्यानडाले बदला लिने नीति अपनाएको आरोप लगाएका छन।
प्रधानमन्त्री कार्नीले क्यानडाले अमेरिकी कदमको समान स्तरमा मात्र प्रतिकार गरेको बताएका छन्। उनले यसअघिका अमेरिकी ट्यारिफलाई क्यानडा–युनाइटेड स्टेट्स–मेक्सिको एग्रिमेन्ट (कुस्मा) को उल्लङ्घन भनेका छन्। क्यानडाले विवाद समाधानका लागि विस्तृत प्रस्ताव पेस गरिसकेको उनले बताएका छन।
नयाँ ट्यारिफले अमेरिकामा क्यानडाबाट हुने कुल वस्तु आयातको करिब ५.२ प्रतिशत हिस्सा प्रभावित गर्नेछ। ट्यारिफका कारण मूल्यवृद्धि हुन सक्ने चिन्ता बढेको छ। दुई देशबीचको आपूर्ति सञ्जाल थप प्रभावित हुने जोखिम देखिएको छ।




प्रतिक्रिया