न्यू योर्क। अमेरिकी अध्यागमन अधिकारीले आप्रवासी पक्राउ गर्न बल, धम्की र डरत्रासलाई नियमित माध्यम बनाएको नयाँ प्रतिवेदनले जनाएको छ।
अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू) ले सार्वजनिक गरेको प्रतिवेदन “एजेन्ट्स अफ केओस एन्ड क्रुएल्टी” ले यस्तो देखाएको हो।प्रतिवेदनले सन् २०२५ मा एरिजोना, क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, इलिनोय, लुइजियाना, मेरिल्यान्ड र न्यु मेक्सिकोमा भएका १,२१३ अध्यागमन कारबाही अध्ययन गरेको थियो।
अध्ययनमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस), कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) र अन्य संघीय निकाय तथा राज्य र स्थानीय अधिकारीका कारबाही समावेश थिए।
झन्डै एकतिहाइ घटनामा बल प्रयोग
एसीएलयूका अनुसार ३७५ घटनामा बल प्रयोग वा बल प्रयोगको धम्की दिइएको थियो। यो कुल घटनाको करिब ३१ प्रतिशत हो। कूल २४१ घटनामा प्रत्यक्ष शारीरिक बल प्रयोग गरिएको थियो भने १०५ घटनामा हतियार प्रयोग गरिएको थियो। त्यस्तै, ८६ घटनामा रासायनिक पदार्थ प्रयोग गरिएको थियो।
प्रतिवेदनले अधिकारीले मानिसलाई धकेलेको, लडाएको वा जमिनमा थिचेको ४१८ घटना अभिलेख गरेको छ। रबरको गोलीजस्ता "प्रोजेक्टाइल" ७५ पटक, "फ्ल्यास–ब्याङ ग्रिनेड" ५९ पटक र टेजर ३३ पटक प्रयोग गरिएको थियो।
अधिकारीले ४७ घटनामा गाडीको सिसा फुटाएका थिए भने ७६ घटनामा चालक वा यात्रुलाई जबर्जस्ती गाडीबाट बाहिर निकालेका थिए। बल प्रयोगबाट ११९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ। एसीएलयूले १६ घटनालाई घातक बल प्रयोगसँग सम्बन्धित भनेको छ।
सडक, कार्यस्थल र विद्यालयनजिक कारबाही
प्रतिवेदनले ६२४ कारबाही सार्वजनिक स्थानमा भएको जनाएको छ। ती स्थानमा सडक, फुटपाथ, बस स्टप, ग्यास स्टेसन, किराना पसल, सपिङ सेन्टर र राजमार्ग थिए।
रेस्टुरेन्ट, कार वास, निर्माणस्थल र अन्य कार्यस्थलमा २५२ कारबाही भएका थिए।विद्यालय, अस्पताल, आश्रयस्थल र धार्मिक स्थलनजिक ८६ कारबाही भएका थिए।
विद्यालय वा विद्यालयनजिक ४९ घटना भएका थिए। ती कारबाहीका कारण ४० विद्यालय पूर्ण वा आंशिक लकडाउनमा गएका थिए।
बालबालिका र अमेरिकी नागरिक पनि प्रभावित
प्रतिवेदनले २१४ बालबालिका अध्यागमन कारबाहीबाट प्रभावित भएको जनाएको छ। तीमध्ये ३२ जना अमेरिकी नागरिक थिए। कुल १५५ अमेरिकी नागरिक पक्राउ, लक्षित वा दुर्व्यवहारबाट प्रभावित भएको दाबी गरिएको छ।
स्थायी बसोबास अनुमति भएका व्यक्ति, डाका प्राप्त व्यक्ति, शरणार्थी आवेदक, गर्भवती महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्ति पनि प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
रेसियल प्रोफाइलिङको आरोप
एसीएलयूले ४३७ घटनामा सम्भावित "रेसियल प्रोफाइलिङ" भएको जनाएको छ। मानिसको अनुहार, छालाको रङ, भाषा, उच्चारण, पेसा वा उनीहरू उपस्थित स्थानका आधारमा शंका गरिएको आरोप छ।
इलिनोयमा १५६ घटना अभिलेख गरिएको थियो। क्यालिफोर्नियामा १०४ घटना भेटिएका थिए। फ्लोरिडामा ६५ घटना भेटिएका थिए।
यी एसीएलयू अध्ययनक्क निष्कर्ष हुन्। सबै घटनामा अदालतले कानुन उल्लङ्घन भएको फैसला गरेको छैन।
पत्रकार र प्रदर्शनकारी पनि लक्षित
प्रतिवेदनले १५० घटनामा पत्रकार, प्रदर्शनकारी, धार्मिक अगुवा, निर्वाचित अधिकारी र कानुनी पर्यवेक्षक प्रभावित भएको जनाएको छ।
कम्तीमा ७८२ व्यक्ति पक्राउ, लक्षित वा दुर्व्यवहारबाट प्रभावित भएको दाबी गरिएको छ। धेरै व्यक्ति कारबाहीको भिडियो खिचिरहेका थिए। केही विरोध प्रदर्शनमा सहभागी थिए। केही पत्रकारिताको काम गरिरहेका थिए।
मुख छोपेका अधिकारी र नम्बर नभएका गाडी
प्रतिवेदन अनुसार, ३७२ घटनामा अधिकारीले अनुहार छोपेका थिए। ३१० घटनामा नम्बर नभएका गाडी प्रयोग गरिएको थियो।
२५५ घटनामा अधिकारीले “पुलिस” लेखिएको पोसाक लगाएका थिए। उनीहरूको वास्तविक निकाय स्पष्ट देखिएको थिएन। एसीएलयूले यसले अधिकारीको पहिचान गर्न र उजुरी दर्ता गर्न कठिन बनाएको जनाएको छ।
प्रतिवेदन समाचार, अदालतका कागजात, सरकारी विवरण, तस्बिर, भिडियो र अधिकारवादी संस्थाका अभिलेखमा आधारित छ। यो अमेरिकाभर भएका सबै अध्यागमन कारबाहीको पूर्ण प्रतिनिधिमूलक अध्ययन होइन।
अध्ययन आठ राज्यमा सीमित थियो। सार्वजनिक नभएका धेरै घटना छुटेका हुन सक्ने एसीएलयूले स्वीकार गरेको छ। आईसीई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अर्थात् डीएचएसले प्रतिवेदनका निष्कर्षबारे प्रतिक्रिया दिएका छैनन्।




प्रतिक्रिया