०४ जेठ २०८३, सोमबार
Mon, May 18, 2026
SUBSCRIPTION

लङ आइल्यण्ड रेल हड्ताल जारी, ३ लाख यात्रु अलपत्र, सहमति प्रयास असफल

न्युयोर्क राज्यको मेट्रोपोलिटियन ट्रान्सपोटेसन अथोरिटी (एमटिए)ले संचालन गर्ने यो रेलसेवाका पाँचवटा कर्मचारी युनियनहरुले ज्याला बृद्धि, सम्झौतापत्र, स्वास्थ्य बीमा लगायतका माग राखी हड्ताल आह्वान गरेका हुन् ।
लङ आइल्यण्ड रेल हड्ताल जारी, ३ लाख यात्रु अलपत्र, सहमति प्रयास असफल


न्यूयोर्क । न्यूयोर्कको व्यस्त रेल सेवा मध्येको एक लङ आइल्यण्ड रेलरोड (एलआइआरआर) रेल सेवा बन्द हुँदा तीन लाखबढी यात्रुको विचल्ली भएको छ । रेल सेवाका ३५ सय बढी कामदारले विभिन्न माग राखी हडताल गरेपछि शनिबारबाट रेल सेवा बन्द रहेको छ । न्युयोर्क राज्यको मेट्रोपोलिटियन ट्रान्सपोटेसन अथोरिटी (एमटिए)ले संचालन गर्ने यो रेलसेवाका पाँचवटा कर्मचारी युनियनहरुले ज्याला बृद्धि, सम्झौतापत्र, स्वास्थ्य बीमा लगायतका माग राखी हड्ताल आह्वान गरेका हुन् । 

मजदुरको मागको बारेमा शनिबारबाटै व्यवस्थापन र कर्मचारी प्रतिनिधिवीच वार्ता शुरु भएपनि सहमतिमा पुग्न सकेको छैन । हड्ताल जारी रहेमा सोमबार कार्यदिनमा यात्रुहरुले झन ठूलो समस्या भोग्नुपर्ने भन्दै सरोकारवालाहरुले तत्काल सहमतिमा पुग्न दवाव समेत दिएका छन् । दैनिक तीनलाख बढी आत्रु आवत जावत गर्ने एलआइआरआर रेल सेवाले न्यूयोर्कसिटी र लङ आइल्यण्ड क्षेत्रका दुई काउन्टीहरुका बासिन्दालाई यातायातको सेवा प्रदान गर्ने गर्दछ । यो हड्तालले विशेष गरी न्यूयोर्क सिटी, नासाउ काउन्टी र सफोक काउन्टीका यात्रुहरूलाई असर गरेको छ। हजारौं मानिसहरू काम, विद्यालय र अन्य कामका लागि रेलमा निर्भर रहने भएकाले सडकमा अत्यधिक ट्राफिक जाम र सार्वजनिक यातायातमा भीड बढेको छ । यात्रुको सेवाका लागि एमटीएले बस सेवा संचालन गरेपनि पर्याप्त नहुँदा यात्रु सकस भोग्न बाध्य भएका छन्। 

न्युयोर्क राज्यका गभर्नर क्याथी होचुलले युनियनहरूमाथि वार्तामा इमानदार नभएको आरोप लगाइन्। साथै उनले ट्रम्प प्रशासनलाई समेत दोष दिँदै संघीय मध्यस्थता प्रक्रिया समयअघि समाप्त गरिएको कारण परिस्थिति बिग्रिएको बताइन्। उनले (एमटीइ)ले निष्पक्ष तलब वृद्धि प्रस्ताव राखेको भए पनि अर्को पक्षले सहकार्य नगरेका कारण सम्झौता हुन नसकेको बताइन्।
हड्ताल कहिलेसम्म चल्ने भन्ने स्पष्ट छैन। दुवै पक्षले एकअर्कालाई दोष दिइरहेकाले तत्काल समाधान हुने सम्भावना कम देखिएको छ। यदि हड्ताल लामो समयसम्म जारी रह्यो भने न्यूयोर्क क्षेत्रमा ठूलो आर्थिक असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया