काठमाडौं । अमेरिका निबासी एक युवतीले बलात्कारको आरोप लगाएपछि हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई काठमाडौ बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन्। युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी हुन्।
पीडित युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो। सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेकी उनी अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएकी थिइन्।
अस्पतालबाट डिस्चार्ज भएपछि जीवनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास गरिरहेको समयमा यो घटना घटेको उनले उल्लेख गरेकी छन्। पीडितले सामाजिक सञ्जालमा लेखे अनुसार, उनको परिवारसँग वर्षौंदेखि जोडिएका र उनले ‘दाइ’ भनी सम्मान गर्ने कलाकार सागर लम्साल सोही समयमा अमेरिका पुगेका थिए। बुबाको आग्रह र चिनजानको मान्छे भेट्दा मन हल्का हुने आशामा उनले लम्साललाई भेटेकी थिइन्।
आफ्नो पीडादायी अनुभव सुनाउँदै उनले लेखेकी छन्, ‘१० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। कोठामा बसेर कुरा गर्दा मैले आफ्ना संघर्ष र आँसु पोखिरहेकी थिएँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’
घटनापछि आफू पूर्ण रूपमा टुटिसकेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको उनले बताएकी छन्। आफू जिउँदो लास सरह भएको र दैनिक रूपमा त्यो घटनाले पिरोलिरहेको भन्दै उनले आफ्ना बुबासँग माफी समेत मागेकी छन्।
यसैवीच चलचित्र ‘पाँच पाण्डव’को निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाएको थियो। उनको ठाउँमा अर्को कलाकार अनुबन्ध गरी ती दृश्य पुनः छायांकन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।




प्रतिक्रिया