जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो मातृभुमिलाई ( जोगाई राखौ, युगौ युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मुल नारा सहित अमेरिमा रहेका मगरहरुले मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति पर्व २०२६ भव्यताका साथ मनाएका छन् । मगर संघ अमेरिका मातहतका विभिन्न राज्यमा रहेका च्याप्टरहरुको आयोजनामा माघे संक्रन्ति पर्व २०२६ विविध साँस्कृतिक कार्यक्रम गरी भब्य रुपमा मनाएका हुन् ।
जनवरी ११, २०२६ को दिन मगर संघ अमेरिका इलिनोई च्याप्टरको आयोजनामा सिकागो शहरबाट सुरु भएको माघे संक्रान्ति पर्व २०२६, जनवरी १८, २०२६ मा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको आयोजनामा बोस्टन शहरबाट टुङगिएको हो । सन् २००४ मा स्थापना भएको मगर संघ अमेरिकाले मगर जातिको संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्वन र पुस्तान्तरणको अभियानमा निरन्तर लागि रहेको मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरले बताए । मगर संघ अमेरिका न्युयोर्क च्याप्टरको आयोजनामा जनवरी १६ मा न्युयोर्क शहरमा भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा माघीको मौलिक परम्परागत संस्कार, संस्कृतिको प्रदर्शन गरिएको थियो । नेपाली आधुनिक गीत संगीतका चर्चित गायक जगदिश समाल मगर र गायिका संगिता थापा मगरको सांगितिक प्रस्तुतिमा सहभागीहरु झुमेका थिए। कार्यक्रममा न्युयोर्क राज्य सम्बद्व सांसदहरु र सामाजिक संघ संस्थाका प्रतिनिधीहरु सहभागी थिए । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) र फिप्ना सम्बद्व जातिय संस्था तथा मगर संघ अमेरिका न्युयोर्क च्याप्टर संग भाईचारा राख्ने बिभिन्न संघ संस्थाको प्रतिनिधीहरुको उपस्थितिमा माघे संक्रान्ति २०२६ भब्यताका साथ समपन्न भएको हो । कार्यक्रममा करिब ८ सय हाराहारीको मगर तथा नेपाली समुदायका सदस्यहरु सहभागी थिए ।
मगर संघ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा जनवरी १७, मा ड्यालास, टेक्सासमा पनि भब्य रुपमा सम्पन्न भयो । कौरा, सालैज्यु, सोरठी, मारुनी, र्हुरा लगायत बिभिन्न मगर संस्कृति झल्कने गीतमा मगर र गैर मगर समुदाय झुमेका थिए । मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिप सागर बुढा मगरको आतिथ्य र टेक्सासमा स्थापित बिभिन्न संघ संस्थाको उपस्थितिमा माघे संक्रान्ति सम्पन्न भएको हो । कार्यक्रममा चर्चित गायक मिलन लामा, गायिका संगिता थापा मगर, बसन्त बिश्वकर्मा लगायत कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले डलासमा नेपाली समुदायले गरेको अहिले सम्मकै उत्कृष्ट र धेरै संख्यात्मक सहभागिता रहेको कार्यक्रम भनेर मगर एकताको खुलेर तारिफ गरेका थिए, त्यसो त मगर संघले गर्ने हरेका कार्यक्रममा मगर लगायत नेपाली समुदायका सदस्यहरुको उल्लेख्य सहभागीता देखिन्छ।मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा जनवरी १७, कै दिन बिबिध मगर संस्कृति भल्काउने कार्यक्रम गर्दै “माघे संक्रान्ति २०२६” मनाएका छन् । वेस्टमिनिस्टर सिटी स्थित नेपाली सांस्कृतिक केन्द्रमा नेपाल आदिवासी आयोगका सदस्य माननीय डा. मिन श्रीष मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मगर मौलिक सांस्कृतिक प्रस्तुति सँगै मगर मौलिक परिकारमा मगर तथा गैर मगर समुदाय मनोरञ्जन गरेका थिए । मगर संघ अमेरिकामा बिभिन्न पदमा रही जिम्मेवारी सम्हालेका र निरन्तर संस्थामा योगदान दिएका मगर संघ अमेरिका केन्द्रीय समितिका निवर्तमान सल्लाहकार तथा मगर संस्कृतिक केन्द्रका सदस्य सचिब लछुमन राना मगर, मगर संघ अमेरिका केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण थापा मगर र निवर्तमान केन्द्रीय उपाध्यक्ष टेक बहादुर थापा मगरलाई सम्मान गरिएको थियो ।
मगर संघ अमेरिका डि.एम.भी च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ मा मेरिल्याण्डको बाल्टिमोर शहरमा भब्य रुपमा सम्पन्न भयो । मगर बाल कला प्रदर्शनी संगै सुरु भएको “माघे संक्रान्ति २०२६” बिबिध मगर संस्कृति झल्काउने प्रस्तुतिसँगै मगर जातिको मौलिक परिकारको स्वादमा उपस्थित सहभागीहरुका खुशी देखिन्थे । मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको आयोजनामा जनवरी १८, २०२६ को दिन बोस्टन शहरमा “माघे संक्रान्ति २०२६” हर्षोल्लासका साथ मनाए । कार्यक्रममा बिशेष प्रस्तुति स्वरुप नेपाल र नेपालीको मौलिकपन तथा पहिचान बोकेको पन्चेबाजा र मयुर नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक सहयोग गर्नु हुने सबैलाई मगरको पहिचान खुर्पेटो अंकित मायाको चिनो प्रदान गरिएको थियो । मगर संघ अमेरिका न्युजर्शी च्याप्टरको आयोजनामा जनवरी १८, मा न्युजर्सीका मगरहरुले भब्य रुपमा “माघे संक्रान्ति २०२६” मनाए । संस्कार संस्कृतिको पुस्तान्तरणको सवालको रुपमा कार्यक्रममा उपस्थित बाल बालिकाहरुलाई माघे संक्रान्ति बारेमा जानकारी गरिएको थियो ।
त्यस्तै मगर संघ अमेरिका पेन्सिलभेनिया च्याप्टरको आयोजनामा जनवरी १८ मा फिलाडेल्फिया शहरमा चेलीबेटी पुजेर बिभिन्न मगर संस्कृति प्रस्तुतिका साथ मनाए । यसैगरी मगर संघ अमेरिका क्यालिफोर्निया च्याप्टरले सोही दिन मगर संस्कार संस्कृतिको प्रस्तुति संगै भलिबल प्रतियोगिता गरेर “माघे संक्रान्ति २०२६” मनाए ।
माघे संक्रान्ति आदिमकालदेखि मगर समुदायले आ आफ्नो थातथालोमा बिभिन्न तवरले मान्दै आएका थिए । मगर संघ अमेरिका मातहत अमेरिकाको बिभिन्न राज्यमा रहेका मगरहरुले नेपाल सरकारले माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरेको सालदेखि विधिवत रुपमा मनाउदै आइरहेको छ ।
मगर समुदायले माघे संक्रान्ति चेलीबेटी पुज्ने, तारा हानेर ग्रहदशा जाँच्ने, पितृहरुलाई सम्झने, दिबंगत चेलीबेटीहरुको सम्झनामा पुतली बनाएर सेलाउन जाने, आफन्त इस्टमित्र भेट गरी आपसी भाइचारा सम्बन्ध कायम राख्ने, मिठो मसिनो परिकार खाएर खुसियालीसाथ मनाउने पर्व हो । प्राचीनकालमा मगरहरुको कृषि र सिकारमा आधारित जीवनशैली थियो । वर्षायाममा खेतीपाती लगाएर हिउँद याममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय माघे संक्रान्ति पर्छ। माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न जमिन मुनि फलेको कन्दमुल, सखरखण्ड, तरुल खाने चलन मगर समुदायमा छ ।




प्रतिक्रिया