मिनेसोटा, मिनियापोलिस। सेन्ट पउल (ट्विन सिटिज) क्षेत्रमा फेडरल इमिग्रेशन निकाय इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले चलाएको “अपरेशन मेट्रो सर्ज” ले जनवरी २०२६ मा ठूलो विवाद सिर्जना गरेको छ। छापा, सडक रोकतोक र गिरफ्तारी बढेपछि स्थानीय नेतृत्वले यसलाई “अत्यधिक आक्रामक र त्रास फैलाउने शैली” भन्दै आलोचना गरिरहेका छन्। डीएचएस ले भने यो अपरेशनबाट ६ हप्तामै करिब ३,००० गिरफ्तारी भएको दाबी गरेको छ, जसले अपरेशनको आकार झनै ठूलो देखाएको छ।
पाँच वर्षको बच्चासहित परिवार गिरफ्तार
विवादलाई झनै चर्काउने घटना कोलम्बिया हाइट्स क्षेत्रमा भएको छ। रिपोर्टअनुसार ५ वर्षका लियाम कोनेजो रामोस र उनका बुवा एड्रियन कोनेजो एरियासलाई स्कुलबाट फर्कँदै गर्दा घरकै “ड्राइभ वे” मा रोकेर गिरफ्तार गरियो। स्कुल अधिकारी र प्रत्यक्षदर्शीहरूले बच्चालाई जुवाको “दाऊ” जस्तो प्रयोग गरिएको आरोप लगाएका छन्। डीएचएस/आइसले भने “हामी बच्चालाई टार्गेट गर्दैनौं” भन्दै आफ्नो बचाउ गरेको छ। परिवारका वकिलले उनीहरू “एसाइलम” प्रक्रियामै रहेको बताएका छन्।
रिनी गुडको मृत्यु: अपरेशनको सबैभन्दा ठूलो टर्निङ पोइन्ट
यो अभियानसँग जोडिएको सबैभन्दा गम्भीर घटना जनवरी ७, २०२६ मा मिनियापोलिसमा भयो। रिनी गुड (३७) को गोली लागेर मृत्यु भयो, र यो घटनाले “अपरेशन” को बारेमा राष्ट्रिय स्तरमै बहस सुरु गरायो। फेडरल पक्षले “सेल्फ डिफेन्स” मा गोली चलेको दाबी गरे पनि परिवार पक्ष र अधिकारकर्मीहरूले अत्यधिक बल प्रयोग भएको भन्दै स्वतन्त्र छानबिन मागिरहेका छन्। पोस्टमार्टम सम्बन्धी विवरण बाहिरिएपछि यो विवाद अझ चर्किएको छ।
राज्य र सिटी अदालतमा: ‘मिलिटराइज्ड रेड’ रोक्न मुद्दा
घटना चर्किँदै गएपछि मिनेसोटा एटर्नी जनरल किथ एलिसन, मिनियापोलिस र सेन्ट पउल सहरले डीएचएस/आइस विरुद्ध फेडरल कोर्टमा मुद्दा दायर गरेका छन्। सिटीको भनाइमा “हजारौं हतियारधारी र मास्क लगाएका एजेन्टहरू” ट्विन सिटिजमा परिचालन गरिनु, नियमित रोकतोक र पक्राउ बढाइनु, र समुदायमा त्रास फैलिनु गम्भीर समस्या भएको छ। स्थानीय पक्षले यो शैलीले सिटीका सेवा, स्कूल र सार्वजनिक जीवनमा पनि असर परेको दाबी गरेको छ।
बल प्रयोग: फेडरल जजको आदेश र अपिल कोर्टको नयाँ निर्णय
इमिग्रेशन रेडविरुद्ध प्रदर्शन बढेपछि फेडरल अधिकारीले अपनाएको रणनीतिमाथि पनि प्रश्न उठ्यो। सुरुमा एक फेडरल जजले “शान्तिपूर्ण प्रदर्शनकारी वा केवल हेरेर/रेकर्ड गरेर बसेकालाई पक्राउ नगर्न” र भीडमाथि “टियर ग्यास” वा “पेपर स्प्रे” प्रयोग नगर्न आदेश दिएको रिपोर्ट आएको थियो। तर पछि अमेरिकी “अपिल कोर्ट” ले त्यो आदेशलाई अस्थायी रूपमा हटाइदिएको खबर बाहिरियो। यसपछि स्थानीय समूहहरूले “अब थप कडा कारबाही हुन सक्छ” भन्दै चिन्ता व्यक्त गरेका छन्।
व्यवसाय र दैनिक जीवनमा असर: डरले बजार सुनसान
अपरेशन बढेसँगै आप्रवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूमा दैनिक जीवन प्रभावित भएको रिपोर्टहरू आएका छन्। कतिपय व्यवसायमा ग्राहक घटेको, कामदार डराएर नआएको, र पसलहरू सुनसान भएको भनाइ छ। स्थानीय व्यापारीहरूले “डरकै कारण व्यापार घटेको” भन्दै चिन्ता जनाएका छन्। धेरै ठाउँमा “नो आइस” जस्ता सन्देशहरू देखिन थालेको पनि रिपोर्ट गरिएको छ।
चर्च प्रकरण: विरोधपछि ३ अभियन्ता पक्राउ
विवादको अर्को पाटो सेन्ट पउलको चर्च प्रकरण हो। रिपोर्टअनुसार त्यहाँ भएको “एण्टि–आइस” प्रदर्शनसँग जोडेर फेडरल एजेन्टहरूले तीन नागरिक अधिकार अभियन्ता नेकीमा लेभी आर्मस्ट्रङ, चाउन्टिल लुईसा एलन, र विलियम केलीलाई पक्राउ गरेका छन्। जस्टिस डिपार्टमेन्टले पूजा आराधना जस्ता धार्मिक सेवा अवरुद्ध नभएको भन्दै कारबाही उचित भएको जनाएको छ। तर अभियन्न पक्षधरले यसलाई “आवाज उठाउनेलाई दबाउने प्रयास” भनेर आलोचना गरेका छन्।





प्रतिक्रिया