न्यू योर्क। न्यू योर्क सिटीमा यो सप्ताहान्त ठूलो हिमआँधी आउने सम्भावना बढेको छ। नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) ले न्यू योर्क सिटीका लागि “विन्टर स्टोर्म वाच” जारी गर्दै आइतबार बिहान ३:०० (जनवरी २५) देखि सोमबार साँझ ६:०० (जनवरी २६) सम्म भारी हिमपात र यात्रा जोखिम बढ्न सक्ने चेतावनी दिएको छ।
एनडब्ल्यूएसको पछिल्लो अपडेटअनुसार सिटीभित्र ६–१० इन्च सम्म नयाँ हिउँ जम्न सक्ने सम्भावना छ भने ट्राइ–स्टेट क्षेत्रमा स्थानअनुसार ६–१२ इन्च सम्म हिउँ पर्न सक्छ। मौसमविद्हरूका अनुसार हिउँको प्रभाव आइतबार बिहानदेखि रातिसम्म सबैभन्दा तीव्र हुने अनुमान गरिएको छ। केही समयमा “स्लिट” वा “फ्रिजिङ रेन” मिसिन सक्ने भएकाले सडकमा हिउँमाथि पातलो बरफ जमेर अझ चिप्लो अवस्था बन्न सक्ने जोखिम पनि छ।
हिमआँधीभन्दा पहिले नै सिटीले अत्यधिक चिसो सामना गरिरहेको छ। एनडब्ल्यूएसको ७-दिने पूर्वानुमानअनुसार शुक्रबार राति तापक्रम करिब १२° फरेनहाइटसम्म झर्ने र शनिबार दिनभर चिसो हुने देखिएको छ, जसका कारण “विण्ड चिल” झन् तल जान सक्छ। स्थानीय रिपोर्टअनुसार शनिबारको अधिकतम तापक्रम करिब १८° फरेनहाइट र आइतबार करिब २०° फरेनहाइट वरिपरि रहने सम्भावना छ। सोमबार पनि तापक्रम “फ्रिजिङ टेम्परेचर” भन्दा तल रहने अनुमान छ।
यो हिमआँधीको असर न्यू योर्कवासीको दैनिक जीवनमा सीधै पर्न सक्ने भएकाले सिटीका आपत् ब्याबस्थान निकायहरू तयारीमा अवस्थामा छन्। मेयर जोहरान माम्दानीको कार्यालयले सिटीका सडकहरू सुरक्षित राख्न डीएसएनवाई (डिपार्टमेण्ट अफ सेनिटेशन) ले फोहोर ट्रकहरूलाई नुन छर्कने तयारी अवस्थामा राखेको जनाएको छ। रिपोर्टअनुसार करिब २,००० स्यानिटेशन वर्कर शनिबार बिहानदेखि १२–घण्टे सिफ्ट मा खटाइनेछन्। आवश्यक परे सडक सफा गर्न २४ घण्टा काम चल्नेछ।
यात्रा र उडान योजना बनाएका न्युयोर्कवासीले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ। रोयटर्सका अनुसार यो आँधीका कारण अमेरिकी एयरलाइन्सहरूले “ट्राभल वेभर रिबुकिङ” तालिका बनाइरहेका छन्। शनिबारदेखि सोमबारसम्म फ्लाइट ढिलाइ र फ्लाइट क्यान्सलेसन बढ्न सक्ने चेतावनी दिइएको छ। जेएफके, लगार्डिया, नेवार्क लगायतका विमानस्थल प्रयोग गर्ने यात्रुहरूले एयरलाइन्स र एयरपोर्टको आधिकारिक अपडेट निरन्तर हेर्न सुझाइएको छ।
अधिकारीहरूले भनेका छन्, “अनावश्यक यात्रा कम गर्नु, ड्राइभ गर्नै परे हिउँ/बरफ हटाएर मात्र निस्कनु, र चिसोका कारण हुने स्वास्थ्य जोखिमबाट जोगिन न्यानो लुगा, सुरक्षित हीटर प्रयोग, र वृद्ध/बालबालिकामा विशेष ध्यान दिनु।”






प्रतिक्रिया