न्यू योर्क। अमेरिकाद्ले रुसियाको झण्डा भएको तेल ट्याङ्कर म्यारिनेरा जफत गरेको छ। अमेरिकाले बुधबार (जनवरी ७, २०२६) मा नर्थ एटलान्टिक (आइसल्यान्ड नजिक) क्षेत्रबाट उक्त तेल ट्याङ्कर जफत गरेको हो।
सञ्चारमाध्यमहरूका अनुसार यो जहाज पहिले ‘बेला–१ नामले परिचित थियो। यो अमेरिकाले भेनेजुएलामाथि लगाएको सामुन्द्री नाकाबन्दीबाट उम्किएको दाबी गरिएको छ। जफत प्रक्रिया अमेरिकी फेडेरल कोर्टको वारेन्टका आधारमा भएको जनाइएको छ। वाशिङ्टन पोस्टका अनुसार, जहाजमाथि प्रतिबन्ध उल्लङ्घनसम्बन्धी आरोप रहेको बताइएको छ।
यूएस कोस्ट गार्डको नेतृत्वमा गएको र सैन्य सहायतासहित जहाजले उक्त तेल जहाज नियन्त्रणमा लिएको रिपोर्टमा उल्लेख छ। यो घटनासँगै अमेरिकाले भेनेजुएलासँग जोडिएका तेल ढुवानी सञ्जाल नेटवर्कहरू विरुद्ध कारबाही बढाएको रिपोर्टहरूमा उल्लेख छ। रिपोर्टअनुसार ट्रम्प प्रशासनले डिसेम्बरदेखि भेनेजुएलाबाट तेल ओसार्ने ट्याङ्करहरू रोक्न थप कडाइ गर्ने रणनीति अघि सारेको थियो। पछिल्लो जफत त्यसकै निरन्तरतामा बताइएको छ।
रुसले भने यो कदमको तीव्र आलोचना गरेको छ। रुसियन ट्रान्सपोर्ट मिनिस्ट्रीले अन्तर्राष्ट्रिय सामुन्द्री कानुन उल्लङ्घन भएको दाबी गर्दै यसलाई अवैध भनेको छ। एकजना रुसियन सांसदले घटनालाई “पाइरेसी” भनेर टिप्पणी गरेको रुसियन पक्षको भनाइ रोयटर्सले उल्लेख गरेको छ। रसियाले युएन कन्भेन्सन अन द ल अफ द सी (यूएनसीएलओएस) उद्धृत गर्दै अन्तर्राष्ट्रिय पानीमा कानुनतः दर्ता भएको जहाजमाथि बल प्रयोग गर्न नहुने तर्क राखेको छ। साथै, जहाज चालकदलको मानवीय व्यवहार र स्वदेश फिर्तीको माग पनि गरेको छ।
सोही दिन अमेरिकाले अर्को भेनेजुएला–जोडिएको ट्याङ्कर ‘सोफिया’ लाई पनि क्यारिबियन क्षेत्रबाट जफत गरेको एपीलगायतका सञ्चारमाध्यमहरूले जनाएका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) सेक्रेटरी क्रिस्टी नोएमले पनि सोफियासम्बन्धी कारबाही भएको दाबी सार्वजनिक रूपमा गरेकी छन्।




प्रतिक्रिया