०३ माघ २०८२, शुक्रबार
Fri, Jan 16, 2026
SUBSCRIPTION

“जङ्क फी” र “सब्स्क्रिप्सन ट्र्याप” विरुद्ध मेयर माम्दानीका दुई एक्जेक्युटिभ अर्डर

“जङ्क फी” र “सब्स्क्रिप्सन ट्र्याप” विरुद्ध मेयर माम्दानीका दुई एक्जेक्युटिभ अर्डर

न्यू योर्क। न्यू योर्क सिटीका मेयर जोहरान माम्दानीले “जङ्क फी” र “सब्स्क्रिप्सन ट्रिक्स एन्ड ट्र्याप्स” हटाउन सोमबार दुई वटा एक्जेक्युटिभ अर्डरमा हस्ताक्षर गरेका छन्।

“जङ्क फी” र “सब्स्क्रिप्सन ट्रिक्स एन्ड ट्र्याप्स” भनेको धोकापूर्ण तरिकाले सब्स्क्रिप्सनमा फसाउने वा क्यान्सल गर्न बाधा सिर्जना गर्ने अभ्यास हो। उनले यसविरुद्ध सिटीस्तरमा कडाइ बढाउने घोषणा गरेका हुन्। यो घोषणा क्विन्सको लङ आइल्याण्ड सिटीस्थित “हन्टर्स पोइन्ट साउथ पार्क आउटडोर जिम” मा गरिएको हो।

मेयर कार्यालयका अनुसार “जङ्क फी” भनेको सेवामा खास योगदान नदिने तर ग्राहकले खरिद निर्णय भइसकेपछि, अर्थात् अन्तिम चरणमा गएर मात्रै थपिने/देखिने किसिमका शुल्क हुन्। सिटी हलले यस्ता शुल्कहरू जिम मेम्बरशिप, कन्सर्ट टिकट, एयरलाइन्स बुकिङ, हेल्थकेयर सेवा लगायतका क्षेत्रहरूमा व्यापक रूपमा देखिँदै आएको जनाएको छ।

कार्यक्रममा न्यू योर्क स्टेट अटर्नी जनरल लेटिशिया जेम्स र सिटी काउन्सिल मेम्बर जुली मेनिन पनि सहभागी थिए। जेम्सले कम्पनीहरूले “लुकेका जङ्क फी” र “प्रेडेटरी सब्स्क्रिप्सन ट्र्याप” मार्फत न्यू योर्कवासीहरूको दैनिक खर्च बढाइरहेको भन्दै, मेयर माम्दानीका नयाँ आदेशहरूले उपभोक्ता संरक्षण थप बलियो बनाउने बताइन्।

पहिलो आदेश एक्जेक्युटिभ अर्डर नम्बर ९ हो, जसले “हिडन जङ्क फी” नियन्त्रणका लागि “सिटीवाइड जङ्क फी टास्क फोर्स” स्थापना गर्छ। यो टास्क फोर्सको चेयरमा डिप्युटी मेयर अफ इकनोमिक जस्टिस जुली सु र डिपार्टमेन्ट अफ कन्जुमर एन्ड वर्कर प्रोटेक्शन (डीसीडब्ल्युपी) कमिस्नर स्याम लेभिन रहनेछन्। उक्त आदेशले डीसीडब्ल्युपीलाई लुकेका/छलपूर्ण शुल्कहरूविरुद्ध आवश्यक कदम चाल्न, आवश्यक परे रुल मेकिङ गर्न समेत, निर्देशन दिन्छ। साथै, सिटीको विद्यमान कानूनहरूको पालना सुनिश्चित गर्न अनुगमन, अनुसन्धान र कार्वान्वयनलाई प्रभावकारी बनाउने उल्लेख छ।

दोस्रो आदेश एक्जेक्युटिभ अर्डर नम्बर १० हो, जसले उपभोक्तालाई नचाहिँदै धोकापूर्ण रूपमा सब्स्क्रिप्सनमा पार्ने र क्यान्सल गर्न कठिन बनाइने अभ्यासविरुद्ध डीसीडब्ल्युपीलाई कडा इन्फोर्समेन्टमा उतार्ने लक्ष्य राख्छ। मेयर कार्यालयले “सब्स्क्रिप्सन ट्र्याप” का उदाहरणहरू पनि दिएको छ। जस्तै, “फ्री ट्रायल” स्वतः पेड प्लानमा रूपान्तरण हुनु, तर महत्वपूर्ण जानकारी फाइन प्रिन्ट वा हाइपरलिङ्कभित्र लुकाइनु; पेमेंट जानकारी लिइसकेपछि मासिक/एड-अन चार्ज थपिनु; एकपटकको खरिद जस्तो देखाएर सब्स्क्रिप्सन बेचिनु; अन्य सेवासँग बन्डल गरेर उपभोक्ताले नथाहा पाउने गरी चार्ज गरिनु; र क्यान्सल प्रक्रिया जानाजानी कठिन बनाइनु, सीमित समयमा फोन गर्न बाध्य पार्ने, धेरै स्क्रिन पार गर्न लगाउने, वा बारम्बार पासवर्ड रिसेट जस्ता झन्झट थप्ने अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो।

अर्डर नम्बर १० अनुसार डीसीडब्ल्युपीले यस्ता गतिविधिहरू अनुगमन, अनुसन्धान र नियमन गर्नेछ। आवश्यक परे नियम बनाउनेछ, र सिटी काउन्सिललाई थप कानुनी सुधारका लागि सुझाव पनि दिनेछ। साथै, अधिकतम प्रभावका लागि न्यू योर्क सिटी ल’ डिपार्टमेन्ट र न्यू योर्क स्टेट अटर्नी जनरलको कार्यालयसँग समन्वय गरेर अघि बढ्ने भनिएको छ।

डीसीडब्ल्युपी कमिस्नर स्याम लेभिनले यी आदेशलाई “इन्डस्ट्री-न्यूट्रल” भन्दै कुनै पनि इन्डस्ट्री कानूनभन्दा माथि नरहने स्पष्ट पारे। उनले नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई अदालतसम्म लैजाने, उपभोक्तालाई क्षतिपूर्ति/रिफन्ड दिलाउने, सिटीका तर्फबाट पेनाल्टी तिराउने, र यस्ता अभ्यास दोहोरिन नदिने नीति लिने बताए। उनको भनाइमा, शुल्क लुकाउनु र सब्स्क्रिप्सनमा फसाउनु आफैंमा उपभोक्तामाथिको छल हो।

यसैबीच, सिटीले उपभोक्तालाई आफ्नो अधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ। “जङ्क फी” वा “सब्स्क्रिप्सन ट्र्याप” को शंका लागेमा न्यू योर्कवासीहरूले डीसीडब्ल्युपीमा अनलाइन कन्जुमर कम्प्लेन्ट दर्ता गर्न सक्छन्। उजुरी दिन खाता हुनु अनिवार्य नहुने उल्लेख छ। साथै, न्यू योर्क सिटीको ३११ सेवामार्फत पनि आवश्यक सहयोग/मार्गदर्शन लिन सकिन्छ।

प्रतिक्रिया