न्यू योर्क। प्रदिप शाही निर्देशित बैज्ञानिक कल्पनामा आधारित साइ –फाइ थ्रिलर चलचित्र एक्लो– १ को प्रिमियर शो अमेरिकामा सम्पन्न भएको छ । एनवाइसी नेपाली लाइफस्टायलले गएको डिसेम्बर २८ मा न्यू योर्कमा अवस्थित म्युजियम अफ द मुभिङ इमेज क्वीन्समा एक्लो– १ को प्रिमियर शो गरेको हो । प्रिमियर शो को लागि चिसो मौसमको बाबजुद पनि नेपाली चलचित्रपे्रमीहरु हलमा पुगेका थिए ।
प्रिमियर शो का लागि निर्देशक शाही, नायक प्रदिप खड्का तथा बेलायती कलाकार जेमी बेकन अमरिका आएका थिए । हामीले नेपाली चलचित्रलाई फरक कोणबाट प्रस्तुत गर्ने कोशिष गरेकाछन् । उनले नेपाललाई मुभि स्टुडियोको रुपमा स्थापित गर्ने उद्देश्यले एक्लो १ नेपालमा छाँयांकन गरिएको बताए ।
प्रिमियर शो अघि रेड कार्पेट तथा शो पछि निर्देशक, नायक तथा कलाकारहरुसँग क्यूएनए सेसनमा बोल्दै निर्देशक शाहीले चलचित्रमा केही नयाँपन दिने कोशिष गरेको बताउँदै कसै न कसैले नयाँ प्रयास गरे मात्र अरु धेरैको लागि नयाँ बाटो तय हुने बताए । नेपाली चलचित्रमा नयाँ विधाको खोज र प्रयासलाई साथ सहयोग गरी प्रिमियरमा उपस्थित भएकोमा दर्शकहरुलाई निर्देशक शाहीले आभार व्यक्त गरे । तेश्रो चलचित्रका लागि न्यू योर्क आउन पाउँदा आफु एकदमै उत्साहित भएको बताउँदै निर्देशक शाहीले नेपाली डायस्पोराका दर्शकको अपार माया र समर्थनले न्यू योर्क आउँदा आफ्नो घर आए जस्तो अनुभव हुने बताए । बेलायती नायक जेमी बेकनले छायांकनका क्रममा भौगोलिक कारणले नेपालमा केही कठिनाई भएको खलासा गरे। नेपाल बसाइका क्रममा उनले नेपाली मःम एकदमै मिठो लागेको बताए । नायक प्रदिप खड्काले चलचित्रमा नयाँपन दिने भएकोले निर्देशक शाहीसँग काम गर्न पाउँदा खुशी लागेको बताए । सेसनको सहजीकरण सागरिका श्रेष्ठले गरेकी थिइन् ।
एनवाइसी नेपाली लाइफस्टायलका प्रबन्धक सुनिल मगरले नेपाली चलचित्रका क्षेत्रका लागि एक्लो– १ को प्रिमियर शो न्यू योर्कबाट शुरु हुनु ठुलो उपलब्धी भएको बताए । एनवाइसी नेपाली लाइफस्टायलका प्रबन्धक मगरले नेपाली चलचित्रलाई न्यू योर्कबाट प्रिमियर शो गरेर विश्व सामु लैजाने कोशिष गरेको बताउँदै शो मा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । प्रिमियर शो हेर्न नेपाली महावाणिज्यदुतावास न्यू योर्कका महावाणिज्यदुत दधिराम भण्डारी, नेपाली डायस्पोराका विभिन्न संस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु, नेपाली चलचित्रप्रेमीहरु पुगेका थिए।
प्रिमियर शो पछि एक्लो– १ जनवरी १ बाट विश्वभरी प्रदर्शन गर्ने भईरहेको छ । शाई प्रोडक्सनमा निर्मित तथा नेपालमा छायांकन गरिएको चलचित्र एक्लो–१ मा नायक प्रदिप खड्का सहित बिजय लामा, दिया पुन, कविता नेपाली, बेनिशा हमाल, दिनेश डिसी, सुरजसिंह ठकुरी लगायत विभिन्न कलाकारहरुको अभिनय रहेको छ । शाहीको लेखन तथा निर्देशन रहेको चलचित्रको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् । यो चलचित्रमा भिएफएक्स प्रयोग गरिएको छ । शाहीले यसअघि नेपाली वीर गोर्खालीहरुको कथा समेटिएको गोर्खाः विनिथ द बे्रभरी र अन्तिम संस्कार निर्देशन गरेका थिए । निर्देशक शाही तथा नायक खड्काले यस अघि कान्समा फिल्म फेस्टिबल २०२५ मा सहभागी भई चलचित्रको बारेमा प्रचार गरेका थिए ।




प्रतिक्रिया