०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

पासाङ शेर्पाको बिहाइन्ड द मास्क अमेरिकाको बेस्ट बुक अवार्डमा अन्तिम छनोट

पासाङ शेर्पाको बिहाइन्ड द मास्क अमेरिकाको बेस्ट बुक अवार्डमा अन्तिम छनोट

 

न्यू योर्क । खुम्बुमा जन्मिएका न्यू योर्क निवासी लेखक पासाङ नुरु शेर्पाको पुस्तक अमेरिकाको बेस्ट बुक अवार्डमा फाइनलिस्टमा छनौट भएको छ । २०१९ को कोभिड (कोरोना) महामारीमा आधारित शेर्पाको संस्मरणात्मक पुस्तक बिहाइन्ड द मास्क अमेरिकाको बेस्ट बुक अवार्डमा अन्तिम छनोटमा पर्न सफल भएको हो । अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा शेर्पाको पुस्तक नन–फिक्सन, क्रियटिभ विधा अन्तर्गत अन्तिम चारमा पर्न सफल भएको अमेरिकन बुक फेस्टले लेखक शेर्पालाई इमेलमार्फत जानकारी गराएको हो।

अमेरिकन बुक फेस्ट मूलधारका लेखक, स्वतन्त्र लेखक र स्वप्रकाशित कृतिहरूका लागि विश्वका सबैभन्दा ठूला अन्तराष्ट्र्रिय पुस्तक पुरस्कार कार्यक्रमहरू मध्ये एक मानिन्छ। प्रतियोगितामा पेन्गुइन र्यान्डम हाउस, साइमन एण्ड शुस्टर, ह्याचेट यूके, विली, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेस, लगायत सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र प्रकाशकहरूले योगदान दिएका थिए। प्रतियोगितामा १०० भन्दा बढी श्रेणीमा ४०० भन्दा बढी विजेता र फाइनलिस्टहरूको घोषणा गरिएको प्रायोजकले जनाएको छ।

अमेरिकन बुक फेस्टका अध्यक्ष तथा सीईओ जेफ्री किनले यस वर्षको प्रतियोगितामा विश्वभरका लेखक तथा प्रकाशकहरूबाट हजारौँ निवेदन प्राप्त भएको र त्यस मध्येबाट छनोट गरेर अन्तिम परिणाम घोषणा गरिएको उल्लेख गरेका छन्। २३ वर्षको इतिहासमा हजारौँ स्वप्रकाशित र स्वतन्त्र लेखकहरूले आफ्नो बेस्ट बुक अवार्डमार्फत लेखकहरुले आफ्नो पहिचान बढाउनुका साथै कृतिको विश्वसनीयता सुधार्न, पुस्तक बजारमा थप ध्यान आकर्षित गर्न सफल भएको सिइओ किनको भनाइ छ ।

एनवाइसी नेपालन्युजसँगको कुराकानीमा लेखक शेर्पाले भने, आफ्नो कृति अन्तराष्ट्र्रियस्तरमा अवार्डको लागि छनौट भएकोमा म वास्तवमा नै सम्मानित महसुस गरेको छु। लेखक शेर्पाले यो संस्मरण मेरो कथा मात्र नभएर समग्र समुदायको सामुहिक संघर्ष र शक्तिको कथा भएको बताए । कोभिड १९ महामारीको बेला सामुदायिक पहिलो उद्धारकर्ताको रूपमा सक्रिय रहेका न्यू योर्कका निवासी पासाङ शेर्पाले कोभिडको बेलामा जे देखेजे भोगे, जे जसरी कोभिड प्रभावितहरुलाई आफु अग्रपंक्तिमा रहेर उद्धारको काम गरे, त्यही अनुभवलाई संस्मरणको रुपमा लेखेको ४४९ पृष्ठको बिहाइन्ड द मास्क गएको अगस्टमा प्रकाशित भएको थियो। बिहाइन्ड द मास्क अमेजन लगायतका प्लेटफर्ममा पेपरब्याक र हार्डकभरमा समेत उपलब्ध रहेको छ। ५५ वटा अनलाइन प्लेटफर्महरुमा समेत बिहाइन्ड द मास्क उपलब्ध रहेको शेर्पाको भनाइ छ ।

२०२२ मा नेपाली संस्करण कोरोना कथा प्रकाशित गरेपछि त्यही संस्मरणलाई शेर्पाले अङ्ग्रेजी संस्करण यो बर्ष प्रकाशन गरेका हुन्।विश्वलाई नै आतंकित बनाएको कोरोना महामारीमा सामान्य नागरिकले भोग्नु परेको दैनिक समस्या र यसले व्यक्तिको दैनिक जीवनमा पारेको असरलाई समेटेर लेखिएको संस्मरणात्मक पुस्तक हो बिहाइन्ड द मास्क।पासाङले जीवनको आरोह अवरोहलाई समेटेका छन् । पासाङको लेखनले जीवन दर्शन र जीवन मुल्यलाई सेवासँग जोडेर हरेक सेवा नै धर्म हो भन्ने कुरालाई उजागर गरेको छ ।निस्वार्थ रुपमा गरेको समाज सेवालाई प्रचार गर्न नरुचाउने लेखक पासाङले समाजमा देखिएको चटके समाजसेवी एउटा विकृतिको रुपमा देखिएको वास्तविकतालाई लेखनमार्फत व्यक्त गरेका छन् ।

शेर्पाले कोरोना महामारीको समयमा विभिन्न संघ संस्थासँग समन्वय गरेर फिल्डमा खटिएर सहयोग गरेको स्मरण गर्दै कोरोना कथा एउटा दस्तावेजको रुपमा लेखेको भएको बताए । कोरोना कथाले भोलीको सन्ततिले कोरोना महामारीको बारेमा जान्ने अवसर पाउने छ। खुम्बुमा जन्मिएका र अमेरिकाको न्युयोर्क निवासी पासाङ पेशाले हेयर स्टायलिष्ट हुन् । शेर्पाले ज्याक्सन हाइट्समा पासाङ स्ट्राइकिङ स्टाइल सञ्चालन गर्दै आएका छन् ।लेखक पासाङले कोरोना महामारीले घरकै चार घेरामा थुनिएर बस्नु पर्दाको पीडा र कथालाई अनेक अनेक कुराहरु मनमा खेलेर आएपछि आफैलाई चिन्ता लागेको बताउँदै मैले जस्तै अन्य धेरैको साझा कथा हुन सक्छ भनेर लेख्दै जाँदा कोरोना कथा पूस्तक तयार गरेका थिए ।

पुस्तकमा कोरोनाको कारण लकडाउनमा घर थन्किनु पर्दाको पीडा, राहत वितरण, सहयोग र लकडाउनपछिको जीवनमा भोगेका विभिन्न विषयलाई शिर्षकगत रुपमा समेटिएको छ ।शेर्पाका सयौं डाँडा काट्दै आएँ, तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ, नरोउ तिमी भन्छौ भने, साँझ ढलेको थाहा पाइन, लगायतका गीतहरु निकै चर्चित छन् । नरोउ तिमी बोलको गीत युट्युबमा मात्र ७.८ मिलियन भन्दा धेरै पटक हेरिएको थियो ।

प्रतिक्रिया