न्यूयोर्क । न्यूयोर्क राज्यमा नेपाली भाषी समुदायमा कार्यरत संस्था “अधिकार”का पूर्व सह–कार्यकारी निर्देशक नर्वदा क्षेत्रीले संस्थाले आफुलाई बिनाकारण अन्यायपूर्वक निष्कासन गरेको भन्दै न्याय पाउनुपर्ने माग गरेकी छन् । संस्थाको बोर्ड निर्णय भन्दै पूर्वजानकारी बिना नै कार्यालयमा जिम्मेवारी सम्हालिरहेकै अवस्थामा एक्कासी निष्कासनको निर्णय सुनाइनु कर्मचारीको आधारभूत अधिकारकै हनन भएको उल्लेख गर्दै सो निर्णयबाट आफुमा पर्न गएको अपमानको क्षतिपूर्ती समेत पाउनुपर्ने क्षेत्रीले बताएका छन् । “अधिकार” को बोर्डले १८ वर्षदेखि कार्यरत सह–निर्देशक क्षेत्रीलाई गत अगष्ट १४ मा निष्कासन गरेको थियो ।
पूर्व सह–कार्यकारी निर्देशक क्षेत्रीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डले गरेको सो निर्णयबाट लामो समयसम्म मानसिक पीडा भोग्न बाध्य भएको उल्लेख गर्दै संस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरुद्ध कानूनी प्रकृया समेत अघि बढाएको जानकारी दिए । श्रोत साधन बिना नै स्थापना भएको संस्थामा सन् २००७ बाट आवद्ध रहेर सक्रिय रहदै हाल वार्षिक २० लाख डलर बराबरको कार्यक्रम संचालन गर्न सक्ने बनाएको उल्लेख गर्दै संस्थामा दिएको योगदानको मुल्याँकन नगरी अपराधीलाई जस्तै व्यवहार भएको उनको गुनासो छ । निष्कासनको निर्णयले मेरो आत्म सम्मानमा चोट पुगेको छ, यो मेरो मात्र हैन सम्पूर्ण नेपाली भाषी समुदायकै लागि अपमान हो, क्षेत्रीले भने । आफु जागिरबाट निष्कासन भएकोमा दुख लागेको भन्दा पनि संस्थासंग जवाफदेयिता, पारदर्शिता र आत्म सम्मानको लागि जवाफ खोजेको पूर्व सह–कार्यकारी निर्देशक क्षेत्रीले बताए ।
“अधिकार” न्यूयोर्क राज्यमा बसोबास गर्ने नेपाली भाषी समुदायमा श्रमिक अधिकार, आप्रवासी समस्या, घरेलु कामदार अधिकरा, स्वास्थ्य बीमा लगायतमा काम गर्ने एक मात्र संस्था हो । यो संस्थाको स्थापना सन २००५ मा भएको थियो । समुदायले नचिनेको अवस्थामा रहेको संस्थालाई हाल ७ हजार सदस्य रहेको संस्थाको रुपमा बिकास गरेको उल्लेख गर्दै समुदायको तल्लो तहमा पुगेर काम गरेको महिला नेतृत्वलाई निरुत्साहित गर्ने कार्यको सबैले विरोध गर्नुपर्ने क्षेत्रीले बताए ।
आफ्नो १८ वर्षे कार्यकालमा घरेलु कामदार अधिकार, श्रमिक अधिकार, आप्रावासी समस्या, टिपीएस अधिकार, बीमा व्यवस्था, नेपाली भाषिक न्याय जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु भएको र ती उपलब्धिहरुका लागि आफु नेतृत्वको टोलीले भूमिका खेलेको क्षेत्रीले स्मरण गराए । पत्रकार सम्मेलनका क्रममा समुदायका अगुवाहरुले नर्वदा क्षेत्रीकै सक्रियताले अधिकारमार्फत नेपाली भाषी समुदायले विभिन्न सेवा सुविधा र अधिकार बहालीका उपलब्धिहरु हासिल भएकोले सह–कार्यकारी निर्देशक क्षेत्रीले न्याय पाउनुपर्ने बताएका थिए ।




प्रतिक्रिया