न्यूयोर्क । म्यानमारमा मार्च २८ मा आएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । उद्धारकार्य जारी छ । कतिपय स्थानमा जीवितै उद्धारको कार्य समेत भइरहेको छ । भग्नावेशहरुमा उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
विनाशकारी भुकम्पको कारण सडकमार्ग समेत अवरुद्ध हुदा उद्धारकार्यमा कठीनाइ उत्पन्न भएको बताइएको छ । सञ्चारको समेत समस्या भएको र सडक तथा पुलहरू भत्केकाले उद्धारमा बाधा बनेका छन्। भूकम्पले म्यानमारको दोस्रो ठूलो शहर माण्डलेको धेरै क्षेत्र ध्वस्त पारेको छ। १२ तलाको एक अपार्टमेन्ट भवनको मलबामा एक महिलालाई ३० घण्टा पछि जिवित बाहिर निकाल्दा उद्धारकर्मीहरूबाट उत्साहको गर्जना भयो, तर रेड क्रसका अनुसार, त्यहाँ अझै ९० भन्दा बढी मानिस फसिएका हुन सक्नेछन्।
नजिकैको नगर क्षेत्रमा, उद्धारकर्मीहरूले एउटा बालबालिका विद्यालयको मलबामा १२ जना नर्सरी स्कुलका बच्चा र एक शिक्षकको शव भेटेका छन् । संयुक्त राष्ट्र संघको मानवीय एजेन्सी ओसीएचएका अनुसार, याङ्गन, न्या पाई तावा र माण्डले बीचको मुख्य राजमार्गमा चिरा चिरा परेको र पुल भाँचिएको कारण यातायात अवरुद्ध भएको छ। साथै, चिकित्सा आपूर्तिको अभाव पनि छ, जसमा चोटपटकका लागि किट, रक्तको थैली, एनेस्थेसिया, आवश्यक औषधिहरू र स्वास्थ्यकर्मीहरूको लागि टेन्टहरूको समेत अभाव रहेको उद्धारकर्मीहरुको भनाई छ।
यद्यपि उद्धार टोलीहरूले शनिबार बिहानैदेखि उद्धारका काम जारी राखेका छन् । भुकम्प प्रभाविति क्षेत्रमा अहिले मानवीय समस्या गम्भीर रुपमा देखिएको र अन्तर्राष्ट्रिय सहायता टोलीहरु राहातका लागि सक्रिय बन्न थालेको बताइएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अझै सहायता पुगेको छैन, र साधारण नागरिकहरूले नाङ्गा हातले बाँचेकाहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्।
एक स्थानीयले भने, “हामीसँग उपकरण छैन, हामी जति सक्दो गर्दैछौं। हामीले घण्टौंसम्म एक केटि निकाली राख्न कोशिस गरेका छौं जुन निजी विद्यालयको मलबामा अड्की रहेको थियो ।“ संघीय सरकारले माण्डले क्षेत्रमा १५ सय भन्दाबढी भवनहरूमा क्षति पुगेको जनाएको छ । बिजुली आपूर्ति पुनः स्थापना गर्न केही दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।





प्रतिक्रिया