एजेन्सी। दक्षिण कोरियाका राष्ट्रपति युन शक यलले आपतकाल घोषणा गर्दै मार्सल ल जारी गरेका छन्। स्थानीय समय अनुसार डिसेम्बर ३, २०२४ राति ११ बजे देखि लागू हुने गरी उनले मार्सल ल जारी गरेका हुन्। दक्षिण कोरियाको समय न्यू योर्कको भन्दा १४ घण्टा छिटो छ।
कडा विरोध भएपछि युनले मार्सल ल हटाउने भनेका छन्। विभिन्न सञ्चार माध्यमहरूका अनुसार उनले मन्त्रिपरिषद्को बैठक पछि मार्सल ल हटाउने बताएका हुन्।
मार्सल ल जारी हुनासाथ दक्षिण कोरियाली सेनाले त्यहाँको नेशनल एसेम्बली (संसद) भवन घेराउ गरेका थिए। त्यहाँ सेनाका हतियार सुसज्जित ट्रक र आकाशबाट हेलिकोप्टरले पहरा दिएका थिए। मार्सल ल लगाउनुको उद्देश्य त्यहाँको नेशनल एसेम्बली (संसदीय) को कारवाही रोक्नु थियो।
नेशनल एसेम्ब्ली भवनभित्र सेनाले प्रवेश गर्ने कोशिश गरेको थियो। त्यसक्रममा सेनाले भवनको झ्यालमा क्षति पुर्याएका थिए। तर, स्थानीय समय अनुसार बिहान १ बजेसम्म ३०० मध्य १९० एसेम्ब्ली मेम्बर भवनभित्र प्रवेश गर्न सफल भएका थिए। उनीहरूले मार्सल ल लागू गर्ने दक्षिण कोरियाली राष्ट्रपति युनको निर्णय विरुद्ध भिटो प्रयोग गरेका थिए। दक्षिण कोरियाको संविधान अनुसार नेशनल एसेम्ब्लीको बहुमत सदस्यले मतदान गरी राष्ट्रपतिको भिटो उल्ट्याउन सक्छ। भिटो विरुद्ध उपस्थित सबै सदस्यले मतदान गरेका थिए।
राष्ट्रपति युन विरुद्ध निर्वाचनमा हस्तक्षेप गरेको आरोप छ। घुसखोरी र शेयर बजारमा गैरकानूनी प्रभाव पारेको अभियोगको छानबिनबाट दक्षिण कोरियाकी प्रथम महिलालाई जोगाउन युनले भिटो प्रयोग गरि स्पेसल इन्भेस्टिगेसन गराउने निर्णय गरेका थिए। युनको उक्त भिटो पनि डेमोक्रेटिक पार्टीले एसेम्ब्लीबाट उल्ट्याउन खोजेको थियो। साथै, डेमोक्रेटिक पार्टीले युनलाई निस्प्रभावी बनाउने गरि बजेटमा कटौती गर्ने योजना बनाएको थियो। त्यही परिप्रेक्ष्यमा उनले मार्सल ल लागू गरेका हुन्।
मार्सल ल लागू भएपछि त्यसको विरोधमा एक लाखभन्दा बढी दक्षिण कोरियाली विरोधमा उत्रेको सञ्चार माध्यमहरूले जनाएका छन्। युनले मार्सल ल फिर्ता गर्ने अभिव्यक्ति दिएसँगै सेना फिर्ता हुन सुरु भएको उनीहरूको रिपोर्ट छ।





प्रतिक्रिया