न्यू योर्क । समाजसेवी इन्द्र तामाङको आत्मकथा आइतबार लोकार्पण गरिएको छ । ज्याक्सनहाइटमा अवस्थित हिमालयन रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा तामाङको आत्मकथा माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि वाणिज्यदुत विष्णु कुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए। वाणिज्यदुत अधिकारीले तामाङले नेपालीलाई इमान्दार तथा संघर्षशिल रुपमा विश्वमा चिनाएको चर्चा गर्दै पुस्तकले धेरैलाई प्रेरणा दिने तर्क गरे।
कार्यक्रममा लेखक तामाङकी छोरी जिना तामाङले लेखक तामाङबारे परिचय गराएकी थिईन् । छोरी जिनाले बुुबा इन्द्र तामाङको मेहनेत, इमान्दारिता र लगनशिलताका कारण आज आफु र परिवार यो अवस्थामा आई पुगेको बताउँदै आफुलाई तामाङको छोरी हुन पाएकोमा गर्व लागेको बताइन्।
किताबबारे तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले लेखकले काठमाण्डौदेखि अमेरिकासम्म बसाइका क्रममा जीवनमा भोगेका अनुभवहरु सँगालेको बताए। उनले अमेरिकामा तामाङले लेखेको पहिलो किताब भएकोमा आफुलाई गर्व लागेको बताउँदै बधाई तथा शुभकामना दिए। पुस्तकमाथि टिप्पणी गर्दै तामाङले इन्द्र तामाङले विद्यालयमा नेपाली भाषा बोल्नु नसकेका कारण विद्यालय शिक्षालाई निरन्तरता दिन नसकेको तथा तामाङ जातिलाई होच्याएको अनुभव समेटिएको चर्चा गरे।
फोटो कोलाज आर्टिष्ट तथा फोटोग्राफर तामाङ २१ बर्षको उमेरदेखि चाल्र्स हेनरीफोर्डको सहयोगीको रुपमा अमेरिका आएका थिए । चाल्र्स हेनरीफोर्ड चलचित्र निर्माता, साहित्यकार, फोटोग्राफर, कोलाज आर्टिष्ट तथा सुरेलिज्मका प्रणेता थिए। सामाजिक अभियन्ता शशांक लामाले पुस्तकमाथि टिप्पणी गर्दै ३ दशक भन्दा लामो समय लेखक इन्द्रले गरेको त्याग, तपस्या र समर्पणको चर्चा गरे। लेखक इन्द्रले आफ्ना सारा इच्छा र चाहनाहरुलाई दवाएर, आफ्नो जल्दो बल्दो उमेर चाल्र्स हेनरीफोर्ड र चाल्र्सको बहिनी नायिका, मोडल रुथलाई गरेको सेवाबारे कसैले पनि मापन गर्न नसकेको तर्क गरे।
इन्द्रबारे संसारभरका विभिन्न सञ्चारमाध्यममा अफवाह नफैल्याएको भए इन्द्रको अनुभव सायद पुस्तकको रुपमा आउने थिएन होला, लामाले भने। इन्द्रको कथाले रगतको नाता भन्दा सम्बन्धको नाता बलियो हुन्छ भन्ने उदाहरण पेश गरेको बताए। सफलताको छोटकरी बाटो हुँदैन भने जस्तै लेखक इन्द्रको सफलता पनि रातारातको उपज नभएको उनको तर्क छ। रुसबाट साहित्यमा उच्च हासिल गरेका लामाले साहित्य, संगीत र चलचित्रका माध्यमबाट जीवन र जगतलाई हेर्ने अयार्थवादी र अवास्तविकतावादी प्रस्तुत गर्नु सुरेरलिज्मवाद भएको प्रष्ट पारे।
चाल्र्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकार तथा फोटोग्राफर सिके। तामाङले आफ्नो जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन योगदान गर्ने लेखक, गीतकार, सम्पादक रोमी एस्बी, र टर्टल पोइन्ट प्रेसलाई धन्यवाद व्यक्त गरे। लेखक तामाङले भने पुस्तक लोकार्पण आयोजना गरेकोमा तामाङ सासाइटी अफ अमेरिका र उपस्थित सबैलाई हार्दिक धन्यवाद। रोमी एस्बीसँगको सहकार्यमा तामाङले आफ्नो आत्मकथा लेखेका हुन्।
तामाङ सासाइटी अफ अमेरिकाका अध्यक्ष बुद्धिमान तामाङले लेखक तामाङले एकै व्यक्ति र परिवारसँग ३५ बर्ष बिताउँनु चानचुने कुरा नभएको चर्चा गरे। उनले भने, इन्द्र दाइले आफ्नो उर्जाशिल उमेर खर्चेर काम गर्दा उतारचढावहरु आयो होला तर पनि इन्द्र दाईले गरेको समर्पण एक जीवन्त उदाहरण हो, म त्यो समर्पणलाई सम्मान गर्न चाहान्छु।
तामाङ सासाइटी अफ अमेरिकाका महासचिव शम्शेर योञ्जनले सोसाइटीले ईन्द्र तामाङको आत्मकथा लोकार्पण गर्न पाउँदा गर्व लागेको बताए।
विमोचन कार्यक्रममा ६५ वटा पुस्तक बिक्री भएको सोसाइटीका महासचिव योञ्जनले जानकारी दिए। कार्यक्रममा नै यति धेरै पुस्तक बिक्री भएकोमा टर्टल पोइन्ट प्रेसका प्रतिनिधीले खुशी व्यक्त गरे।
लेखक, फोटोग्राफर तथा चलचित्र निर्देशक चाल्र्स हेनरी फोर्डको सहयोगीको रुपमा ५० बर्ष अघि अमेरिका आएका थिए। लेखक तामाङ, तामाङ सासाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा तामाङ साँस्कृतिक तथा बुद्धिष्ट सेन्टरका संयोजक हुन्। ७१ बर्षिय तामाङ गएको ५० बर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका छन्।
२ सय ६४ पेजको पुस्तकको मुल्य २४ डलर रहेको छ। पुस्तक अमाजोनमा सजिलै किन्न सकिन्छ। कार्यक्रममा उपस्थित सबै जना लाइनमा बसेर पुस्तक किनेका थिए। चाल्र्स तथा लेखक तामाङको लामो समयदेखिका साथी एलान फ्रेमले इन्द्रको लगन, समर्पण र सम्बन्धको बारेमा चर्चा गरे। कार्यक्रमममा नेपाली डायस्पोरामा अभियन्ता तथा अमेरिकीहरुको बाक्लो उपस्थिती थियो। नेपालीको बारेमा लेखिएको आत्मकथा लोकार्पण कार्यक्रममा पुस्तक किन्नेको भीड देखेर लेखक उत्साहित देखिन्थे।








प्रतिक्रिया