०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘दशैं तिहार विविध साँस्कृतिक साँझ’ मा छायो दशैंको माहोल

नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाढ बडा दशैं र तिहार पर्वको अवसरमा आयोजना गरिएको ‘दशैं तिहार विविध साँस्कृतिक साँझ’ मा नेपाली गीत संगीतका ख्यातीप्राप्त कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
‘दशैं तिहार विविध साँस्कृतिक साँझ’ मा छायो दशैंको माहोल

न्यूयोर्क । नेपाली गीत संगीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न न्यूयोर्कमा क्रियाशील हिमालय कल्चर एकेडेमिले शनिबार साँझ न्यूयोर्कमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 
नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाढ बडा दशैं र तिहार पर्वको अवसरमा आयोजना गरिएको ‘दशैं तिहार विविध साँस्कृतिक साँझ’ मा नेपाली गीत संगीतका ख्यातीप्राप्त कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । क्वीन्सको धर्महाउस हलमा आयोजना गरिएको साँस्कृतिक साँझमा नजिकै आइरहेको दशैं चाढको रौनकता नेपाली समुदायमा ल्याइदिएको थियो । 

नृत्य निर्देशक शिव बिकको समूहले प्रस्तुत गरेको ‘हे... दशैं आयो..’ बोलको गीतमा प्रस्तुत गरेको आकार्षक नृत्यले हलमा सहभागीहरुलाई दशैंको माहोलमा डुबाइदिएको थियो । साँस्कृतिक साँझमा लोकप्रिय कलाकारहरु सपना श्री, जगदीश समाल, विमल डाँगी, संगीता मुखिया, अभय ढुंगेल, नीशा सुनार, राजेन्द्र राई, सानु शेर्पा, सुभाष दाहाल, हजुरी शाह कँडेल, सलिना श्रेष्ठ लगायतले नेपाली गीतसंंगीतका कालजयी गीतहरुकासाथै आ आफ्नो कर्णप्रिय गीतहरु प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा ओहायोबाट आएका बाद्यवादन टोलीका न्हुच्छे नारायण डंगोल, शिशिर श्रेष्ठ, हेमराज राई, डेभिड सौरभी ढकाल लगायतले उत्कृष्ट साँगीतिक माहोल सिर्जना गरेका थिए । 


पत्रकार एवं समाजसेवी प्रदिप थापामगरको रमाइलो र खँदिलो प्रस्तुतीमा संचालन भएको कार्यक्रममा हिमालय कल्चर एकेडेमीका संस्थापक अभय ढुंगेलले संस्थाले गर्दै आएको गतिविधिको बारेमा चर्चा गर्दै नेपाली गीत संगीतको जगेर्ना र संवद्र्धनको आफ्नो संस्थाले यसप्रकारको कार्यक्रमहरु गर्दै आएको जानकारी गराएका थिए । कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका पदाधिकारीहरु, न्यूजर्सी राज्यका गभर्नरको एसियन अमेरिकन कमिस्नार डा. विष्णुमाया परियार तथा ठूलो संख्यामा नेपाली समुदायको उपस्थित रहेको थियो ।

प्रतिक्रिया