न्यू योर्क । नेपालकै चर्चित लोक, रक र पप व्याण्ड, नेपथ्य व्याण्डका पहिलो भोकलिष्ट रबिन श्रेष्ठले न्यू योर्कमा प्रस्तुति दिदैछन् । श्रेष्ठले चर्चित गायक हरिश माथेमा र द एन्जेल व्याण्डका राजु लामासँगै नोभेम्बर २० मा न्यू योर्कमा द एन्जेल्स लाइभ इन कन्सर्टमा प्रस्तुति गर्ने भएका हुन् ।
न्यू योर्कको क्वीन्समा अवस्थित द प्यालेसमा हुन लागेको द एन्जेल्स लाइभ इन कन्सर्टको आयोजना रिभिल इभेन्ट्स इंकका राजेश हमाल, मिराकल इभेनन्ट्स इंकका सुर्य सिंखडा र डिजेएलएस एनवाइसीका जाङ्बु शेर्पाले आयोजना गर्न लागेका हुन् ।
नेपथ्यका पहिलो भोकलिष्ट श्रेष्ठले गाएका आँगनै भरी, छेक्यो छेक्यो देउराली डाँडा, आँखैमा झलझली लगायत गीत धेरै नेपालीले रुचाइएका चर्चित गीत हुन् । युएस टुर कन्सर्टका लागि गायक श्रेष्ठ र श्रेष्ठका म्यानेजर मधु गुरुङ लण्डनबाट न्यू योर्क आइसकेका छन् । त्यस्तै चर्चित आधुनिक पप गायक हरिश माथेमाको आँखाको नानी हौ तिमी, मोहनी लायो, आभास आउँछ, हेलम्बुको स्याउ लगायत गीत चर्चित छन् । त्यस्तै द एन्जेल ब्याण्डका राजु लामाका अल्लारे माया, कति छन्, होइनन् मेरी होइनन् गीत चर्चित छन् ।
कार्यक्रममा अतिथि कलाकारको रुपमा शशिकला मोक्तानले आफ्नो प्रस्तुती गर्नेछन् भने कन्सर्टपछि डिजे तेन्जिङले दर्शकहरुलाई डिजेमा नचाउने छन् । आधुनिक पप गीतका चर्चित गायकहरु श्रेष्ठ, माथेमा र लामाको नोभेम्बर २० मा न्यू योर्कबाट शुरु हुने युएस टुर टेक्सासको ड्यालास, भर्जिनिया लगायत अन्य शहरहरुमा पनि हुने आयोजकले जनाएको छ । कन्सर्टबाट आएको केही प्रतिशतरकम नेपालको रसुवा, नुवाकोट, धादिङका बाढीपीडितहरुको लागि सहयोग गरिने आयोजकले जनाएको छ । न्यू योर्क कन्सर्टको इभेन्ट पार्टनरको रुपमा एनआरएनए एनसीसी युएसए, बंगला ट्राभल्सका कन्चन बस्नेत र मन्दिप भुजेल रहेका छन् । टिकटको दर ५० डलर तोकिएको छ । साँझ ६ बजे डोर ओपेन हुने छ भने कार्यक्रम ७ बजे शुरु हुने आयोजक मध्येका एक राजेश हमालले जानकारी दिए । नेपाली गीत संगीतलाई माया गर्ने सम्पूर्ण नेपालीहलाई कार्यक्रममा सहभागी भई सहयोग गरी कार्यक्रम सफल बनाईदिन आयोजकले अनुरोध गरेको छ । 




प्रतिक्रिया