न्यू योर्क। नेपाली महिलाले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट नेपाली भान्छा घर न्यू योर्क टाइम्सको सन् २०२६ को उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा पर्न सफल भएको छ । बिमला हमाल (यमुना) श्रेष्ठले सञ्चालन गर्दै आएको न्यू योर्कको क्वीन्सको ज्याक्सन हाइट्समा सञ्चालित नेपाली भान्छा घर न्यू योर्क टाइम्सको सन् २०२६ को उत्कृष्ट १०० रेस्टुरेन्टमा पर्न सफल भएको हो। एनवाइसीनेपालन्युजसँगको संक्षिप्त कुराकानीमा व्यवसायी बिमला हमालले भनिन्, यो नसोचेको उपलब्धी हात लाग्यो, म एकदमै खुशी छु, आज मलाई आफैमाथिए एकदमै गर्व लागेको छ। बिमलाका अनुसार आफुलाई रेष्टुरेन्टमा आउने ग्राहकहरुले फोन गरेर बधाई दिएपछि र उनीहरुले समाचारको लिंक पठाएपछि मात्रै यो उपलब्धिबारे जानकारी पाएका थिए।
उनको रेष्टुरेन्ट भान्छा घर बारेमा समाचार प्रकाशित भएपछि न्यू योर्क स्टेटका सिनेटर जेशिका रामोसले आप्रवासीले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदानको कदर स्वरुप उनलाई विशेष प्रोक्लेमेशन प्रदान गरी बधाई दिएका थिए । भान्छा घरमा नै नेपाली समुदायले आयोजना गरेको नेपाली परम्परागत बधाई दिने सगुन कार्यक्रममा आएर हमाललाई सिनेटर रामोसले प्रोक्लेमेशन प्रदान गरेकी हुन् । सिनेटर रामोस आएर बधाई दिंदा आफु एकदमै आश्चर्यचकित भएको सञ्चालक हमालको भनाई छ । उनले भनिन्, इमान्दारपूर्वक काम गर्यो भने परिश्रम र मेहनेतको कामलाई कसै न कसैले हेर्ने रहेछ, मुल्यांकन गर्ने रहेछ, सफलता हात लाग्ने रहेछ । आत्मविश्वास र कडा मेहनेतले यो उपलब्धी प्राप्त भएको हो, हमालले थपिन् । त्यसो त बिमला बिहानको ७ बजेदेखि रातको ११ बजेसम्म रेष्टुरेन्टमा नै भेटिन्छन्, उनी रात दिन नभनी ग्राहकको सेवामा नै व्यस्त हुन्छिन् ।
स्याङ्जा स्थायी घर भएका हमाल २००८ देखि क्वीन्समा बसोबास गर्दै आएका छन् । उनले सन् २०१५ देखि ज्याक्सन हाइट्सको रुजभेल्ट एभेन्युमा नेपाली भान्छा घर सञ्चालन गदै आएका हुन् । नेपाली परिकारहरु नेपाली खाना सेट थाली, ढिडो, मःमः, चाउमिन लगायतका नेपाली स्वादका नेपाली खाना पाइन्छ। न्यू योर्क सिटीको वार्षिक मःमः क्रलमा नेपाली भान्छा घरले ५ पटक उपाधी जितिसकेको छ। उनले व्यवसाय मात्रै गरेका छैनन्, विश्वकै आर्थिक केन्द्र न्यू योर्कमा नेपाली परिकारलाई विश्वस्तरमा नै प्रवद्र्धन पनि गर्दै आएका छन् । नेपाली भान्छा घर बारेमा यसअघि न्यू योर्क टाइम्सले नै समाचार प्रकाशित गरेको थियो । न्यू योर्क टाइम्समा समाचार प्रकाशित भएपछि उनको रेष्टुरेन्टमा अमेरिकन मात्र नभएर युरोपबाट समेत ग्राहकहरु आउने गरेको हमालको भनाइ छ । उनको रेष्टुरेन्टमा अहिले हमालसहित १५ जना काम गर्छन् ।
उनको मेहनेतलाई न्यू योर्कको प्रख्यात पत्रिकाले उत्कृष्ट १०० रेष्टुरेन्टको लिस्टमा उल्लेख गरे पछि नेपाली डायस्पोरामा खुशी छाएको छ । नेपाली महावाणिज्य दुतावास न्यू योर्कले सामाजिक सञ्जाल फेसबुक (मेटा) को आफ्नो पेजमा नेपाली महिलाले सञ्चालन गरेको रेष्टुरेन्टलाई न्यू योर्क टाइम्सको उत्कृष्ट १०० रेष्टुरेन्टको लिष्टमा पर्नसफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । महावाणिज्यदुतावासले सञ्चालक हमालसहित टिमलाई बधाई दिंदै नेपाली खानाकोे प्रवद्र्धनमा थप सफलताको लागि शुभकामना व्यक्त गरेको छ । त्यस्तै एनवाई नेपाली काम पोष्टका एड्मिन, ठमेल रेष्टुरेन्टका सञ्चालक मध्येका एक, युवा व्यवसायी लेलिन कँडेलले पनि नेपाली रेष्टुरेन्ट उत्कृष्ट सुचिमा पर्नु खुशीको कुरा भएको भन्दै बधाई व्यक्त गरेको छ । त्यस्तै दर्शन ठकुरी समाजले पनि हमालको सफलताको लागि बधाई व्यक्त गरेको छ । चर्चित लोक गायक बिमल डाँगीले पनि बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।
यसअघि हमालले स्याङ्जाको वालिङमा काठको फर्निचर उद्योग सञ्चालन गरेकी थिइन् । सन् २००८ को अप्रिल ४ मा अमेरिकामा पाइला टेक्दै गर्दा बिमलालाई आफु यसरी व्यवसाय नै गर्छु भन्ने लागेको थिएन । तर समय र परिस्थितिसँग जुध्दै संघर्ष गर्दै जाँदा उनी अहिले सफल महिला व्यसायी बनेकी छन् । अमेरिका आएपछि उनले ७ वर्ष लिभ इन को काम गरिन्, तर २०१५ पछि भने आफैले भान्छा घर रेष्टुरेन्ट सञ्चालन गरेकी हुन् । 




प्रतिक्रिया