न्यू योर्क। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । न्यू योर्कको ज्याक्सन हाइटमा अवस्थित सत्य नारायण मन्दिरमा एक कार्यक्रम आयोजना गरी नारी दिवस मनाएको हो ।
कार्यक्रमका प्रमूख अतिथि नेपाली महावाणिज्यदुतावास न्यू योर्कका महावाणिज्यदुत दधिराम भण्डारीले महिला दिवसको शुभकामना व्यक्त गर्दै महिला शशक्तिकरण भए मात्र समग्र समाज शशक्त बन्ने उदाहरण नेपालको वर्तमान परिस्थिति रहेको बताए । घरेलु हिंसा, र महिला शशक्तिकरणको बारेमा छलफल र जनचेतना जगाउने काममा नेपाली डायस्पोराका संघसंस्थाहरुको मिलेर काम गर्नु आवश्यक्ता रहेको महावाणिज्यदुत भण्डारीको भनाइ छ । वरिष्ठ कानून व्यवसायी खगेन्द्र जिसीले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरुले गरेका योगदानलाई भुल्न नहुने बताऐँदै नेपालमा प्रधानमन्त्री महिला बन्न सक्नु ठुलो उपलब्धी रहेको बताए । महिला र र पुरुष बराबरी भनिए पनि अमेरिकामा रहेर पनि नेपाली महिलाहरुले अझै पनि पुरुष सरह अवसर नपाएको कानुन व्यवसायी जिसीको भनाई छ । बर्तमान सरकारले सामान्य घरायसी विवादलाई समेत संवेदनशिल रुपमा हेरिरहेको बताउँदै उहाँले केही समस्या भएमा संवेदनशिल भएर मात्र उजुरी गर्न सुझाव दिए ।
त्यस्तै महिला अधिकारकर्मी तथा एड्वान नेपालका संस्थापक अध्यक्ष डा. विष्णुमाया परियारले डायस्पोरामा नेपाली महिलाहरु अझै पनि घरेलु हिंसामा परेको घट्नाहरु ठुलो मात्रामा रहेको बताए । नेपाली समुदायमा सामाजिक संरचनात्मक विभेदका कारण पिडितलाई अझै पीडा दिने गरेकाले महिलाहरु अझै हिंसाको बारेमा बोल्न नसकेको र हिंसा सहेर बाँच्न बाध्य रहेको बताए । अधिकारकर्मी परियारले पीडित महिलाहरुसँग हिंसाको प्रमाण भएमा मात्र उजुरी दिन सुझाव दिए ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका महासचिव दिपक चौधरीले नेपाली समुदायमा मेन्टल हेल्थ सम्बन्धी समस्या बढीरहेको बताउँदै मेन्टल हेल्थको बारेमा खुलेर कुरा सेयर गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्र र संघसंस्थामा रहेर समाजलाई योगदान पुर्याएको भन्दै विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाह, उपाध्यक्ष आङ छिरिङ शेर्पा, एनआरएनए न्यू योर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, जिपिके फाउन्डेसनका सोमनाथ घिमिरे, नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनका अध्यक्ष सोनाम घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एनआएरएनए एनसीसी अमेरिकाका सचिव तथा कार्यक्रम संयोजक लक्ष्मी थापाले कार्यक्रम संयाजन तथा कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यहरुको प्रस्तुत गरिएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए ।





प्रतिक्रिया