न्यूयोर्क । अमेरिकी सरकारले अध्यागमन नीतिमा झन झन कडाई गर्दै लगेकोले आप्रावासी समुदाय थप सचेत र सुरक्षित रहन अध्यागमन कानूनका विज्ञहरुले सचेत गराएका छन् । पछिल्ला दिनमा वैधानिक रुपमा बसोबास गरिरहेका आप्रावासीलाई समेत स–साना गल्तीका घटनाहरुमा पनि देश निकाला सम्मका कारबाही गर्ने घटना बढ्दै गएकोले थप सचेत र सुरक्षित हुनुपर्ने उनीहरुको सुझाब छ । कतिपय अवस्थामा त चिनजानका व्यक्तिहरुबाट समेत कमजोरीको बारेमा इमिग्रेसन कार्यालयमा कम्प्लेन पत्र(पोइजन लेटर) पठाउने गरेको र त्यस्ता पत्रले बैधानिक रुपमा बसोबास गरीरहेकाहरुलाई भविश्यमा समस्यामा पार्न सक्ने भएकोले व्यक्तिगत सूचनाहरु कसैलाई पनि नचुहाउन पनि कानूनविद्हरुको सल्लाह छ ।
गैर आवसीय नेपाली संघ न्यूयोर्क च्याप्टरले हालै ज्याकसन हाइटमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा अध्यागनम कानूनका विज्ञ खगेन्द्र जिसीले यो बेला कागजपत्र हुनेहरुले समेत सचेत र सुरक्षित हुनुपर्ने बताए । “अमेरिकी अध्यागमन नीतिमा थप कडाईको अवस्था देखिदै गएको छ, अदालतमा अध्यागनम मुद्धामा उदार देखिने न्यायधीशहरु हटाउदै लगेको छ, हामी अध्यागन कानूनको क्षेत्रमा काम गर्ने वकिललाई समेत तारो बनाइएको छ,” अध्यागमन कानूनविद् जीसीले भने, “ यो बेला कागजपत्र भएका व्यक्तिहरुले समेत आफ्नो र आफ्ना आफन्तहरुको “स्टाटस” जोगाउने बारेमा सचेत हुन जरुरी छ ।”
“व्यक्तिगत सूचनाहरु नजिकका चिनिएकाहरुलाई पनि चुहाउन हुन्न, रिस उठेको बेला आफ्नै मान्छेले, आफन्तले र रुममेटले समेत कम्प्लेन गर्न सक्ने र त्यो कम्प्लेन पत्र इमिग्रेसन कार्यालयमा गएर बस्ने भएकोले कसैलाई पनि एलियन नम्बरकासाथै कुनैपनि सूचना नचुहान मेरो सुझाब छ,” अध्यागमन कानूनका विज्ञ जिसीले भने । चिनजानको व्यक्तिबाट कम्प्लेन हुने यस्ता प्वाइजन लेटरका कारण भिवश्यमा समस्या पर्न सक्ने जीसिको भनाई छ । यो बेला आप्रावासिहरुको लागि निकै संकटको बेला भएकोले ग्रीनकार्ड होल्डरहरुले पनि निकै सचेतता अपनाउनु पर्ने उनले बताए । कानून विद् जिसीको विस्तृत भनाई तलको भिडियोमा सुन्न सक्नु हुनेछ ।
कार्यक्रममा अध्यागमनका अर्को कानूनविद् दुर्गा भुर्तेलले अहिलेको अवस्थामा मदिरा सेवन गरेर सवारी चलाएको गल्ती भेटेमा समेत आप्रावासीहरु ठूलो कारबाहीको भागीदार बन्नु पर्ने भएकोले हरेक कुरामा सचेत हुनुपर्ने बताए । “अझ मात्तिएको बेला गाडि चलाएर अमरिकी नागरिकलाई ठक्कर दियो भने त यहाँको सरकारलाई डिपोर्ट गर्नका लागि मसला नै हुन्छ,” कानूनविद् भुर्तेलले भने ।
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष सतेन्द्र साह, उपाध्यक्ष आङछिरिङ शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने लगायतले वर्तमान ट्रम्प प्रशासनले अध्यागमन नीतिमा गरेको कडाईका कारण आप्रावासी समुदायमा चिन्तामा रहेको र उनीहरुलाई आवश्यक कानूनी जानकारी गराउन संघसंस्थाले पहल गर्नुपर्ने बताए ।





प्रतिक्रिया