न्यूयोर्क । समुदायको मौलिक संस्कार, संस्कृति र परम्परा झल्किने गीत–संगीत तथा नाट्य प्रस्तुतीकावीच न्यूयोर्कका मगर समुदायले महान पर्व माघे संक्रान्ति मनाएको छ । माघे संक्रान्तिको अवसर पारेर आयोजना गरेको साँस्कृतिक कार्यक्रममा सोरठी, कौडा, हुर्रा र सालैजो लगायतका मगर संस्कृतिका अभिन्न संस्कृति झल्किने प्रस्तुतीले प्रबासमा पनि मगर समुदायले आफ्नो मौलिकतालाई निरन्तर पछ्याएको प्रष्ट झल्किन्थ्यो । अझ, माघे संक्रान्तिको अवसरमा दिदी विहीनीले आफ्नो माइतीलाई कसरी पुज्ने गरिन्छ भन्ने साँस्कृतिक संदेश समेटिएको नाट्य सामाग्री “श्यामु” को प्रस्तुतीले कार्यक्रमका सहभागीलाई पश्चिम नेपालको मगर गाउँबस्तीमै पुर्याएको भान भएको थियो ।
मगर संघ अमेरिको न्युयोर्क च्याप्टरले न्युयोर्कको उडसाईडमा आयोजना गरेको माघे संक्रान्ति सांस्कृतिक कार्यक्रमको माहोलले न्यूयोर्कको चीसो मौसममा पनि सहभागीहरुलाई राती अबेरसम्म झुम्न बाध्य बनाएको थियो । मगर कलाकारहरुको समूहले प्रस्तुत गरेको सोराठीको भाका र शब्दहरुले आदिवासी मगरको सांस्कृतिक बैभब्तालाई सजिलै आकलन गर्न सकिन्थ्यो । विषेश गरी नयाँ पुस्ताका मगर बालबालिकाहरुले प्रस्तुत गरेको “देशै रमाइलो” बोलको कौडा नृत्यले समुदायको बालबालिकामा पनि आफ्नो संस्कृतिप्रतिको लगाब झल्काएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक जगजीश समालको कर्णप्रिय गीतहरुले माघे संक्रान्तिको माहोलमा मोहकता थपेको थियो । समालले चर्चित गजलसहीतका प्रस्तुतीहरु दिएका थिए । यसैगरी गायिकाहरु संगीता थापामगर र बिना छन्त्यालका प्रस्तुतीहरुले सहभागीहरुलाई छमछम नाच्न बाध्य बनाएको थियो । अझ दोहोरी कलाकारहरु दिलिप श्रीष र संगिता थापाको लाइभ दोहोरीले त मनोरञ्जनात्मक माहोलमा थप साँगीतिक रौनकता नै ल्याएको थियो ।
सांस्कृतिक प्रस्तुती अघि कार्यक्रममा सहभागी अतिथिहरुले महान पर्व माघे संक्रान्तको अवसरमा शुभकामना दिदै यस्ता कार्यक्रमहरुले समुदायको संस्कृति जोगाउदै नयाँ पुस्तामा हस्तान्तरणको लागि महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि मगर संघ अमेरिकाका अध्यक्ष दिपसागर बुढामगरले माघे संक्रान्ति पर्व मगर समुदायको महत्वपूर्ण साँस्कृति पर्व भएको उल्लेख गर्दै यस्ता संस्कृतिको संरक्षण र प्रवद्र्धन परदेशी भूमिमा पनि गर्न आवस्श्यक रहेको बताए । संस्कारलाई जोगाउदै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सबैको दायित्व रहेको उनले बताए । यसैगरी आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरूङले परापूर्वदेखि चलि आएको यसप्रकारका चाढ पर्वलाई संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।


कार्यक्रमका सभापति मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्नसिङ गर्वुजा मगरले मगर समुदायको परम्परा र संस्कारको संरक्षण गर्ने उदेश्यले यस्ता कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्दै आएको जानकारी गिराउदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूताबासका वाणिज्यदूत प्रेम बहादुर बुढप्य, न्यूयोर्कस्थि विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिकासाथै न्यूयोर्क सिटीका निर्वाचित प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । न्यूयोर्कका संघीय साँसद ग्रेस मेङ, एसेम्ब्ली मेम्बर स्टेफन रागा, स्टेट सिनेटर जोन लि, क्विन्स काउन्टी सिभिल कोर्टका न्यायाधीश सेरिडान सी. चु, ईभे चो, सिटी काउन्सिल सदस्यहरु शेखर कृष्ण, जुली वन लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा भविन्द्र सेरपुन्जा मगरले मगर सांस्कृतिक केन्द्रको लागि भवन खरिद गर्न सम्पूर्ण ब्यक्तिहरूलाई सहयोग गर्न अपिल गरेका थिए ।









प्रतिक्रिया