न्यू योर्क। न्युयोर्क सिटीको सिभिलियन कम्लेन्ट रिभ्यू बोर्ड गुनासा समीक्षा बोर्ड (सीसीआरबी) ले १९ वर्षका विन रोजारियोको ‘हत्या’ मा संलग्न एनवाईपीडी अधिकारी साल्भाटोर अलोंगी र म्याथ्यु सियानफ्रोकोविरुद्ध कूल आठवटा आरोप पुष्टि गरेको छ। सीसीआरबीको बिहीबार बसेको बैठकले प्रत्येक अधिकारीमाथि चार–चार गरि आठ आरोप पुष्टि गरेको हो।
यी आरोपमा आवश्यकता भन्दा बढी बल प्रयोग र अधिकार दुरुपयोगसमेत छन्। आरोप पुष्टि भएपछि ‘डिपार्टमेन्टल चार्जेस एण्ड स्पेसिफिकेशन्स’ प्रक्रिया अघि बढ्नेछ, जसले अधिकतम बर्खास्तीसम्मको सजाय दिन सक्छ। अन्तिम निर्णय एनवाईपीडी कमिश्नरले गर्छन्।
अभियन्ताहरूका अनुसार, ती एनवाईपीडी अधिकारीहरूले घरमा प्रवेश गरेको दुई मिनेटभित्रै रोजारियोलाई धेरै पल्ट ‘टेजर’ गरे र पाँच राउन्ड गोली हाने। उनलाई आमा र १७ वर्षे भा कै सामुन्ने मारियो। सीसीआरबीले आफ्नो अधिकार–क्षेत्रबाहिर पर्न सक्ने अन्य सम्भावित दुराचारबारे थप छानबिनका लागि एनवाईपीडीलाई सिफारिस गरेको छ।
विन रोजारियोकी आमा नोतन् एभा कोस्टाले भनिन्, ‘सीसीआरबीको निर्णयले कम्तीमा विनको ज्यानको मूल्य थियो र अलोंगी र सियानफ्रोको खतरनाक छन् भन्ने बुझाइ दियो। तर मेयर एरिक एडम्स र कमिश्नर जेसिका टिशले हाम्रो पत्रसमेत बेवास्ता गरेका छन्, र अटर्नी जनरल लेटिसिया जेम्सले अझै अभियोग लगाएका छैनन। हामी दुवै अधिकारी तुरुन्त बर्खास्त होऊन् भन्ने माग जारी राख्छौं ताकि अरू कुनै न्युयोर्कवासीलाई हानी नहोस।’
जस्टिस कमिटीका कार्यकारी निर्देशक लोयडा कोलोनले सीसीआरबी को निर्णय सही र अनिवार्य भएको बताइन। उनले भनिन, ‘एनवाईपीडीले ढिलाइ नगरी तुरुन्त अनुशासनिक मुद्दा दायर गर्नुपर्छ। अलोंगी र सियानफ्रोकोलाई अब ढिलो नगरी बर्खास्त र अभियोजन गर्नुपर्छ।’
ड्रम (देसिज राइजिङ अप एण्ड मुभिङ) की सिमरन थिन्डले सीसीआरबीले प्रहरी अधिकारीहरूले ख़तरनाक र नियमविपरीत काम गरेको ठहर गरेको बताइन। ‘कमिश्नर टिशले यी अधिकारीलाई बर्खास्त गर्ने साहसिक निर्णय अब लिनै पर्छ,’ उनले भनिन्।
बेल्डक लेभिन एण्ड हफमनकी कानुन व्यवसायी लुना द्रोबीले सीसीआरबीले आरोप पुष्टि गर्नु न्यायतर्फको एउटा कदम भएको उल्लेख गरिन। ‘यसले विन फर्काउँदैन, तर परिवर्तनका लागि आवश्यक जवाफदेहितातिर अगाडि बढाउँछ, उनले भनिन्, ‘मानसिक स्वास्थ्य सम्बन्धी प्रतिक्रियामा सीटीबाट प्रहरी पठाउने काम रोकिनुपर्छ।”
घटना २७ मार्च २०२४ मा ओजोन पार्क, क्विन्सस्थित रोजारियोको घरमा भएको थियो। घटनापछि परिवारका सदस्यलाई वकिल बिना नै लामो सोधपुछका लागि लगिएको थियो। उनीहरूलाई दुई दिनभन्दा बढी घरभित्र प्रवेश गर्न रोकेको परिवारको आरोप छ। घटनापछि एक महिनाभन्दा बढी एनवाईपीडीले संलग्न प्रहरी अधिकारीहरूको नाम सार्वजनिक गरेन। ३ मे २०२४ मा स्टेट अटर्नी जनरलको कार्यालयले बडीक्याम भिडियो जारी गर्दा नाम सार्वजनिक भएको थियो। परिवार, जस्टिस कमिटी र ड्रमले एनवाईपीडीलाई दुवै अधिकारी बर्खास्त गर्न र स्टेट अटर्नी जनरललाई अभियोग दर्ता गर्न निरन्तर आग्रह गरिरहेका छन्।





प्रतिक्रिया