
काठमाडौ । शान्तिपूर्ण भनिएको राजावादी समूहको पहिलो दिनको प्रदर्शन नै हिँसात्मक र अराजक बनेको छ । विरोध प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएकोमा निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि सुरक्षाकर्मीसंग दोहोरो झडप भएको थियो । प्रहरीसंगको दोहोरो झडपपछि अनियन्त्रित बनेका राजावादी समूहले तीनकुने क्षेत्रमा निजीघर तथा सवारी साधान, राजनीतिक दलका कार्यालयहरु, सरकारी कार्यालय र डिपार्टमेन्ट स्टोरहरुमा तोडफोड तथा आगजनी गरेका छन् ।

पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको थिएन ।
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेपछि गणतन्त्रको विरुद्ध नाराबाजी गरिरहेका छन् । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।
व्यवस्था उल्टाउन भन्दै आन्दोलनमा उत्रिएका राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) को शान्तिनगर आलोकनगरस्थित कार्यालयमा आगजनी गरेका छन् । पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले पहिले त्यहाँ भएका कागजपत्र र फर्निचर बाहिर ल्याएर आगजनी गरेका थिए । त्यसपछि कार्यालयमा पनि आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घरहरुमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, उनीहरूले घर–घरमा ढुंगामुडा गरेका थिए । त्यतिमात्रै होइन, अराजक भीडले कोटेश्वरस्थित जडिबुटी कारखानाभित्र छिरेर आगजनी गरेको छ । कोटेश्वरकै भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको छ । प्रदर्शनकारीले भित्र छिरेर फलफूलका कार्टुन, बीयरका बोतललगायत सामान लिएर भागेका थिए ।
सुरक्षा निकायबाट प्राप्त जानकारी अनुसार हालसम्म सुरक्षा निकायतर्फ १५ जना र राजावादीतर्फ ८ जना घाइते भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने उद्देश्यले नै गाडी हाँकेको र उक्त गाडी रोक्न खोज्दा प्रदर्शनकारीहरू प्रहरीमाथि जाइलागेका थिए । प्रदर्शनकारीले सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई ढुंगाले हानेर टाउको फुटाइदिएका थिए । प्रदर्शनस्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको थियो ।
’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमाण्डर’ भनिएका दुर्गा प्रसाईंले प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याएका थिए । उनी तीनकुनेदेखि नै गाडी हुइँक्याउँदै आएका थिए। गाडी प्रसाईंले नै चलाएका थिए भने गाडीको पछाडी प्रदर्शनकारीहरू बसेका थिए।
निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो। गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो। अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो। त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए। प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

मेडिकल व्यवसायी प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि शुक्रबार प्रदर्शन भएको हो । यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’, राप्रपा, समेतको सहभागिता छ ।
तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले तीन वटा निजी घरमा तोडफोड गरेका छन् भने एउटा घरमा तोडफोड र आगजनी गरेका छन्। आगो निभाउन गएको दमकललाई राजावादी प्रदर्शनकारीहरूले ढुंगा हानेका थिए।






प्रतिक्रिया