काठमाडौ । राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा भिडियो खिच्न पुगेका एभिन्युज टिभीका फोटोपत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको प्रहरीले पुष्ट गरेको छ । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
पत्रकार सुरेश रजक
आगलागी नियनत्रणको लागि गएको दमलकमा समेत प्रदर्शकारीहरुले तोडफोड गर्दै क्षेति पुर्याएपछि सो घरमा लागेको आगो नियन्त्रणमा लिन सकेको थिएन । एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन नसकेपछि हेदाृ हेर्दै आफ्नो पत्रकार ओगोमा जलेको भन्दै उनले दुखेसो गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।
यसैवीच तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल मै मृत्यु भएको हो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको भएको गृह मन्त्रालयले जानकारी दिएको छ । प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।





प्रतिक्रिया