क्यालिफोर्निया । क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर सुरु भएको छ। नेपाली राजदूतावास वासिङटन डीसीको आयोजना तथा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा ८ दिने शिविर सञ्चालन भएको हो।
८ दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दूतावासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिए। उद्घाटनका क्रममा आरणले भने, ‘दूतावासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठीक गरियो भन्ने लागेको छ। आरणका अनुसार घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको हो।
स्थानीय आयोजकको सहयोग र प्रयासबाट दूतावासले सेवा दिन सम्भव भएको कार्यबाहक राजदूतको भनाइ छ।
कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन आरणले सयौं सेवाग्राही भएको हुनाले र स्थानीयको अनुरोधलाई ध्यान दिंदै शिविरको समय थपेर भए पनि सेवा दिने जानकारी दिए। आरणले भने, ‘सबैलाई सेवा पुर्याउन परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन छ, निर्देशन अनुसार सेवा पुरयाउन दूतावासको टिम प्रतिबद्ध छ ।
क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास रहेकोले नै दूतावासले शिविर सञ्चालन गरेको बताए। यसअघि लस एञ्जलसमा भएको शिविरमा पनि सान् फ्रान्सिस्कोबाट राहदानीका लागि मानिस पुगेको उल्लेख गर्दै शिविरबाट धेरैलाई लाभ पुगेको जानकारी दिए।

स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरे। अध्यक्ष कार्कीले सन् २०२२ को नोभेम्बरमा भएको शिविरमा ७ सय ४६ जनाले सेवा पाएको जानकारी दिंदै दूतावास र सरकारलाई धन्यवाद व्यक्त गरे।
अर्का स्थानिय आयोजक संस्था एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले दूतावास र स्थानीय स्वयंसेवकको प्रयासका लागि आभार व्यक्त गरे। शिविरमा राहदानीका साथै वारेसनामा लगायतको सेवा पनि उपलब्ध भइरहेको छ। शिविरको पहिलो दिन २ सय जनाले सेवा लिएका छन् ।
सान् फ्रान्सिस्कोमा जनवरी १४ मा राहदानी नवीकरणको लागि आवेदन खुला गरिएकोमा २ घन्टा मै आवेदन फारामको कोटा भरिएको थियो। २२ तारिखमा शुरु भएको शिविर २९ सम्म चल्ने भएको छ। शुरुमा ५ दिन मात्र सञ्चालन गर्ने भनिए पनि स्थानियको अनुरोधपछि शिविरको समय थप गरिएको हो।







प्रतिक्रिया