०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

पर्वत समाजद्धारा लङ आईल्याण्डमा वृहत रक्तदान

रक्तदान कार्यक्रममा सहभागी हुन १६० भन्दाबढी नेपाली समुदायको सहभागिता रहेको पर्वत समाजका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागी मध्येबाट स्वास्थ्य परीक्षणपछि ६२ जनाले रक्तदान गरेका थिए
पर्वत समाजद्धारा लङ आईल्याण्डमा वृहत रक्तदान

न्यूयोर्क । न्यूयोर्कको लङ आईल्याण्डस्थित हिक्सभिलमा पर्वत सेवा समाज न्यूयोर्कले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । हिक्सभिलस्थित ब्रडवे मलमा भएको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको समाजले जनाएको छ । 

रक्तदान कार्यक्रममा सहभागी हुन १६० भन्दाबढी नेपाली समुदायको सहभागिता रहेको पर्वत समाजका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागी मध्येबाट स्वास्थ्य परीक्षणपछि ६२ जनाले रक्तदान गरेका थिए । अध्यक्ष सूर्य पौडेलले कार्यक्रम सफल बनाउन भएको सहभागिता र सहयोगले आफूलाई अत्यन्त उत्साहित बनाएको बताए । यस प्रकारका सेवामूलक कार्यहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि ईश्वर गिरिले विदेशमा रहेर पनि नेपाली समुदायले रक्तदानजस्तो पुण्यकार्यमा सहभागिता जनाइरहेकोमा प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा एकता र सहयोगको भावना थप प्रगाढ बनाउने बताए । कार्यक्रम संयोजक विशाल रेग्मीका अनुसार यो कार्यक्रम केवल रक्तदानमा सीमित नभई, समाजसेवा र समुदायलाई एकजुट बनाउने विशेष अभियानको रूपमा प्रस्तुत भएको बताए । यसले नेपाली समुदायलाई सेवा र सहयोगमा एकजुट गराउने प्रेरणा दिएको रेग्मीको भनाई छ ।


रक्तदानमा सहभागी दाताहरुलाई न्यूयोर्क राज्यका १५ डिस्ट्रिकका एसेम्ब्लीम्यान ज्याक ब्लुमेन्क्रेन्जको तर्फबाट पठाएको प्रशंसा पत्र नेपाली समुदायका अगुवा विश्वराज वास्तोलाले हस्तान्तरण गरेका थिए । एसेम्ब्लीम्यान ज्याकले पर्वत सेवा समाजको परोपकारी कार्यप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेको वास्तोलाले जानकारी गराए । 

रक्तदान कार्यक्रममा पर्वत समाजका संरक्षण  सल्लाहकार  बाबुराम शर्मा,  पूर्व अध्यक्षहरू टिका ढकाल, वसन्त चापागाईं, महेश खड्का, मोहन क्षेत्री, र शंकर भण्डारीका साथै शंकरनारायण प्रजापति, पिपलमणि सिग्देल, र विमल डाँगी लगायतका अगुवाहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया