न्यू योर्क। जेनिथ रिसर्च र पब्लिक प्रोग्रेस सोलुसन्सले हालै सार्वजनिक गरेको सर्वेक्षणले समाजवादी एसेम्ब्ली मेम्बर जोह्रान मम्डानी न्यू योर्क सिटीको मेयर बन्न्ने पक्का भएको देखाएको छ।
सर्वेक्षणले मम्डानीले मतदाताबाट समग्रमा ५० प्रतिशत भन्दा बढी समर्थन पाएको देखाएको छ जुन उनका प्रतिद्वन्दीहरूको भन्दा बढी हो। यो समर्थनले न्यू योर्क सिटीको मेयरमा उनको जित पक्का भएको देखाउँछ। कूल एक हजार चार सय २३ जना सहभागी यो सर्वेक्षण सार्वजनिक गरिएको हालसम्मकै सबैभन्दा ठूलो हो भने अन्य स्वतन्त्र सर्वेक्षणको तुलनामा दोस्रो ठूलो हो।

सर्वेक्षणमा सहभागी ‘रजिस्टर्ड’ र सम्भावित मतदाता समावेश थिए। ‘रजिस्टर्ड’ मतदाताहरूले आगामी नोभेम्बरमा हुने मेयर पदको निर्वाचनमा पाँच उम्मेद्वार जोह्रान मम्डानीले ४२ प्रतिशत, एन्ड्रयु कुमोले २६ प्रतिशत, कर्टिस स्लिवा (रिपब्लिकन पार्टी) ले १२ प्रतिशत, एरिक आडम्स (वर्तमान मेयर) ले ७ प्रतिशत र जिम वाल्डेनले १ प्रतिशत मत पाउने देखाएको छ। बाँकी ११ प्रतिशतले अन्य उम्मेद्वारको नाम लिएका वा थाह छैन भन्ने जवाफ दिएका छन्।

निर्वाचनमा एन्ड्रयु कुमोबाहेक चार उममेदवार भए मम्डानीले ४८ प्रतिशत मत, स्लिवाले १५ प्रतिशत, आडम्सले १६ प्रतिशत र वाल्डेनले चार प्रतिशत मत पाउने देखाएको छ। चार प्रतिशतले ‘अन्य/थाह छैन’ जवाफ दिएका छन्। त्यस्तै निर्वाचनमा आडम्स बाहेक चार उम्मेदवार भए मम्डानीले ४४ प्रतिशत, कुमोले २६ प्रतिशत, स्लिवाले १५ प्रतिशत, वाल्डेनले ३ प्रतिशत र अन्य/थाह छैनले १३ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ।

मम्डानी र आडम्सबीच निर्वाचन भए मम्डानीले ५५ प्रतिशत, आडम्सले ३२ प्रतिशत र अन्य/थाह छैनले १४ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ। त्यस्तै मम्डानी र कुमोबीच प्रतिस्पर्धा भए मम्डानीले ४६ प्रतिशत, कुमोले ४३ प्रतिशत र अन्य/थाह छैनले ११ प्रतिशत मत पाउने देखाएको छ।
निर्वाचनमा पाँच उम्मेद्वार भए सम्भावित मतदाता मध्ये मम्डानीले ५० प्रतिशत, कुमोले २२ प्रतिशत, स्लिवा (रिपब्लिकन पार्टी) ले १३ प्रतिशत, आडम्स (वर्तमान मेयर) ले ७ प्रतिशत, वाल्डेनले १ प्रतिशत र अन्य/थाह छैनले ११ प्रतिशत मत पाउने सर्वेक्षणको प्रक्षेपण छ।

निर्वाचनमा कुमोबाहेक चार उम्मेद्वार भए मम्डानीले ५५ प्रतिशत मत, स्लिवाले १६ प्रतिशत, आडम्सले १४ प्रतिशत, वाल्डेनले चार प्रतिशत र अन्य/थाह छैन ले ११ प्रतिशत मत पाउने देखाएको छ। त्यस्तै निर्वाचनमा आडम्स बाहेकका चार उम्मेद्वार भए मम्डानीले ५१ प्रतिशत, कुमोले २५ प्रतिशत, स्लिवाले १५ प्रतिशत, स्लिवाले २ प्रतिशत र अन्य/थाह छैनले ६ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ।

मम्डानी र आडम्सबीच निर्वाचन भए मम्डानीले ५९ प्रतिशत, आडम्सले ३२ प्रतिशत र अन्य/थाह छैनले ९ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ। त्यस्तै मम्डानी र कुमोबीच प्रतिस्पर्धा भए मम्डानीले ५२ प्रतिशत, कुमोले ४० प्रतिशत र अन्य/थाह छैनले ८ प्रतिशत मत पाउने देखाएको छ।
सर्वेक्षणले मम्डानीले पूर्वी एशियाली रजिस्टर्ड भोटर्सको ५० प्रतिशत र दक्षिण एशियाली रजिस्टर्ड भोटर्सको ८२ प्रतिशत भोट पाउने देखाएको छ। त्यस्तै सर्वेक्षणले जुइश समुदायमा पनि मम्डानी ४३ प्रतिशत मतसहित सबैभन्दा अगाडि देखाएको छ।

सर्वेक्षण जुलाई १६–२५ मा न्यू योर्क सिटीको ब्रोङ्क्स, किङ्स, न्यू योर्क, क्वीन्स र रिचमण्ड काउन्टीमा गरिएको हो। यो दक्षिण एशियाली, पूर्व एशियाली, प्युर्तो रिको/डोमिनिकन, जुइश र मुस्लिम समेत समेटिएको यो हालसम्मकै एउटामात्रै सर्वेक्षण हो। साथै, यो २०२५ मा चार भाषामा सर्वेक्षण गरि सार्वजनिक गरिएको एउटामात्रै सर्वेक्षण हो।

यो सर्वेक्षणमा उमेर, लिङ्ग, नश्ल लगायतका १५० भन्दा बढी समुह विभाजन गरि नमूना सङ्कलन गरिएको छ। हरेक समुहमा कम्तिमा एक सय नमूना समावेश छ। जिविकोपार्जनको लागतलाई आवास, दैनिक/मासिक खर्च र चाइल्ड केयरमा विभाजन गरि सर्वेक्षण गरिएको छ। सर्वेक्षणमा ल्याटिनो, एशियन, जुइश, लैङ्गिक अभिभुखिकरण, भाडाको आवास, घर, यातायात, जन्मस्थल लगायतका यसअघि नसमेटिएका नमूना समेटिएका छन्। त्यस्तै सर्वेक्षणमा शिक्षाको स्तर, पार्टीगत आवद्धता, सम्भावित मतदाता लगायतका आधारमा नमूना सङ्कलन गरिएको छ। साथै, सर्वेक्षणमा १८ वर्षदेखि ६५ वर्ष माथिका छ उमेर समुह समेटिएको छ।

यो सर्वेक्षणका केही अद्वितीय विशेषताहरू छन्। जस्तो राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयर एरिक आडम्सलाई समर्थन गरे चुनावी नतिजा कस्तो आउँछ? फेडेरल बजेट पाउन ट्रम्पसँग सहकार्य गर्ने मेयर आवश्यक छ कि ट्रम्पसँग सहकार्य नगर्ने मेयर चाहिन्छ भन्ने सोधिएको छ।








प्रतिक्रिया