०६ असोज २०८३, मङ्गलबार
Tue, Sep 22, 2026
SUBSCRIPTION

राष्ट्रपति ट्रम्प र मेयर माम्दानीवीच भेटवार्ताः संघीय सरकारको सहयोगमा सन्नीसाइडमा १२ हजार सहुलियत घर निर्माण गर्ने सहमति

मेयर माम्दानीको सरकारी निबास ग्रेसी म्यान्सनमा भएको भेटवार्तामा क्विन्सको सन्नीसाइड यार्डमाथि करिब १२ हजार घर निर्माण गर्ने प्रस्तावलाई अघि बढाउन सहमति भएको छ । यो सहमतिसंगै प्राविधिक तहको छलफल सुरु गर्ने भएको छ।
राष्ट्रपति ट्रम्प र मेयर माम्दानीवीच भेटवार्ताः संघीय सरकारको सहयोगमा सन्नीसाइडमा १२ हजार सहुलियत घर निर्माण गर्ने सहमति


न्यूयोर्क । न्यूयोर्क सिटिका मेयर जोहरान माम्दानी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ । मेयर माम्दानीको सरकारी निबास ग्रेसी म्यान्सनमा भएको भेटवार्तामा क्विन्सको सन्नीसाइड यार्डमाथि करिब १२ हजार घर निर्माण गर्ने प्रस्तावलाई अघि बढाउन सहमति भएको छ । यो सहमतिसंगै प्राविधिक तहको छलफल सुरु गर्ने भएको छ।
माम्दानीले प्रस्ताव गरेको यस परियोजनाको अनुमानित लागत करिब २१ अर्ब अमेरिकी डलर रहेको न्यूयोर्कका स्थानीय संचार माध्यमहरुले जनाएका छन् । 
सनीसाइडमा रहेको रेल यार्डमाथि प्लेटफर्म निर्माण गरेर त्यसको माथि आवासीय क्षेत्र विकास गर्ने योजनाबाट करिब १२ हजार घर निर्माण गरिन लागेको हो । यस आयोजनाबाट करिब ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। परियोजना अघि बढाउन ठूलो आर्थिक स्रोतसँगै सङ्घीय सरकारका विभिन्न स्वीकृति आवश्यक पर्ने बताइएको छ।
ग्रेसी म्यान्सनमा ट्रम्पसँग करिब एक घण्टा भएको निजी भेटपछि म्याम्डानीले सिटी हलको आवास तथा सञ्चालनसम्बन्धी टोली र ह्वाइट हाउसका सम्बन्धित टोलीबीच अब प्राविधिक छलफल हुने बताए।
“अब यो वार्तालाई नयाँ तहमा लैजाने सहमति भएको छ। हाम्रो आवास तथा सञ्चालन टोली र ह्वाइट हाउसबीच प्राविधिक छलफल हुनेछ,” माम्दानीले पत्रकार सम्मेलनका क्रममा भने।
उनका अनुसार छलफलमा परियोजनाका लागि आवश्यक आर्थिक स्रोत, प्राविधिक विषय तथा रेल यार्डमाथि निर्माण गर्नुपर्ने ठूलो प्लेटफर्मका लागि आवश्यक कानुनी र सङ्घीय स्वीकृतिका विषय समेटिनेछन्।
राष्ट्रपति ट्रम्पले सन्नीसाइड यार्ड विकासको प्रस्ताव लामो समयदेखि चर्चामा रहेको बताए। उनका अनुसार परियोजना सङ्घीय सरकारसँग प्रत्यक्ष सम्बन्धित भएकाले धेरै सङ्घीय स्वीकृति आवश्यक पर्नेछ।
“यसका लागि धेरै सङ्घीय स्वीकृति र सम्भवतः केही सङ्घीय पैसा पनि आवश्यक पर्नेछ,” ट्रम्पले भने। उनले सन्नीसाइड यार्डलाई लामो समयदेखि विकास गर्ने प्रयास भइरहेको स्थानका रूपमा उल्लेख गर्दै परियोजना अघि बढ्ने सम्भावना रहेको बताए।
तर ट्रम्पले परियोजनाका लागि २१ अर्ब डलर सङ्घीय रकम उपलब्ध गराउने प्रतिबद्धता भने गरेनन्। पत्रकारहरूले परियोजनालाई समर्थन गर्ने हो कि होइन भनेर सोध्दा उनले सन्नीसाइड यार्डमा निर्माण हुने आवासमा पर्याप्त किफायती तथा कम र मध्यम आय भएका परिवारका लागि आवास समावेश हुनुपर्ने बताए।
माम्दानीले गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्पसमक्ष यो परियोजनाका लागि २१ अर्ब डलर सङ्घीय अनुदानको प्रस्ताव राखेका थिए। 
सन्नीसाइड यार्ड पश्चिमी क्विन्समा रहेको ठूलो रेल यार्ड हो। माम्दानीको प्रस्तावअनुसार रेल सञ्चालनलाई निरन्तरता दिँदै त्यसको माथि ठूलो प्लेटफर्म निर्माण गरेर नयाँ आवासीय क्षेत्र विकास गर्ने योजना छ।
सोमबारको भेटवार्तामा आवाससँगै आप्रवासी समस्याको विषय पनि छलफल भएको बताइएको छ । मेय माम्दानीले न्यूयोर्कमा रहेका हाइटीका आप्रवासीलाई प्राप्त अस्थायी संरक्षित हैसियतका विषयमा ट्रम्पसमक्ष आफ्नो धारणा राखेका थिए। उनले हाइटीका न्यूयोर्कवासीको सुरक्षा आफ्नो प्राथमिकताको विषय भएको बताए। उनले हाइटी समुदायले न्यूयोर्कको अर्थतन्त्र र विभिन्न उद्योगमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरे। ट्रम्पले माम्दानीले यो विषय आफूहरूसँग उठाएको पुष्टि गरे पनि अस्थायी संरक्षित हैसियत पुनःस्थापना वा विस्तार गर्ने कुनै नयाँ प्रतिबद्धता घोषणा गरेनन्। राष्ट्रपति ट्रम्प संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार नै न्यूयोर्क आएका बेला ग्रेसी म्यान्सन पुगेका हुन् । 

 

प्रतिक्रिया