एनवाईसी नेपालन्युज डटकमका कार्यकारी सम्पादक लोकमणि राईले न्यूयोर्क स्टेट एसेम्ब्ली डिस्ट्रिक्ट ३८ का प्राइमरी उम्मेदवार डेभिड ओर्किनसँग विशेष कुराकानी गरेका छन्। कुराकानीमा ओर्किनले आप्रवासी समुदाय, श्रमिक अधिकार, भाडा, कर, सार्वजनिक सेवा, स्थानीय भाषाका मिडिया र नेपाली समुदायसँगको सम्बन्धबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ। कुराकानीको अनुवादित र सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
एनवाईसीनेपालः डेविड, सुरुमा आफ्नो परिचय दिनुहोस्। हाम्रा दर्शकहरूलाई तपाईं को हो र न्यू योर्क स्टेट एसेम्बली डिस्ट्रिक्ट ३८ बाट किन चुनाव लड्दै हुनुहुन्छ भनेर बताइदिनुहोस्।
डेविडः मेरो नाम डेविड ओर्किन हो। म क्वीन्समा आप्रवासी कामदारहरूको अधिकारका लागि काम गर्ने वकिल हुँ। मैले लामो समयदेखि क्वीन्सका कामदार र आप्रवासीहरूलाई सहयोग गर्दै आएको छु। उनीहरू काममा सुरक्षित हून्, उचित पारिश्रमिक पाऊन्, र यो देशमा सुरक्षित रूपमा उभिन सकून् भन्ने सुनिश्चित गर्न।
अहिले हाम्रो देशमा यस्ता अर्बपतिहरू छन्, जसले तपाईं र मभन्दा कम कर दरमा कम कर तिर्छन्। उनीहरूले क्वीन्सका कामदार वर्गका मानिसहरूभन्दा कम कर तिर्छन्। त्यसैले जब म धनीहरूलाई कर लगाउने कुरा गर्छु। यसको अर्थ सबैले आफ्नो न्यायोचित हिस्सा कर तिर्नुपर्छ भन्ने हो। कर हामी सबैले तिर्नुपर्छ, र त्यसमा अत्यन्तै धनी वर्गका मानिसहरू पनि पर्नुपर्छ भन्ने हो। उनीहरूले पनि कामदार वर्ग सरह कर तिरेर सरकारमा योगदान दिनुपर्छ, ताकि हाम्रो सहरमा सार्वजनिक सेवाहरू उपलब्ध हुन सकून् भन्ने हो।
मैले यो समुदायका धेरै मानिसका ठगिएको लाखौं लडर डलर पारिश्रमिक फिर्ता पाउन सहयोग गरेको छु। त्यसमा रेस्टुरेन्ट, निर्माण, डेलिभरी र ड्राइभिङ क्षेत्रमा काम गर्ने मानिसहरू पर्छन्। अब म यो काम अल्बानी (न्यू योर्क राज्यको राजधानी) मा लैजान र त्यहाँबाट गर्न चहान्छु ताकि, यहाँका मानिसहरू, विशेष गरी आप्रवासीहरू, सुरक्षित रहून्। मेरी आमा मेक्सिकोबाट आएकी आप्रवासी हुनुहुन्छ, र मैले आफ्नो पूरा जीवन आप्रवासीहरूको अधिकार र सुरक्षाका लागि वकालत गर्दै बिताएको छु।

एनवाईसीनेपालः तपाईंको अभियानले एफर्डिबिलिटी (सहज जीविकोपार्जन) बारे धेरै कुरा गर्छ। तपाईं लागि र डिस्ट्रिक्ट ३८ का कामदार वर्गका परिवारहरूका लागि एफर्डिबिलिटी को अर्थ के हो?
डेविडः डिस्ट्रिक्ट ३८ मा रिजवुड, ग्लेन्डेल, वुडहेभन, ओजोन पार्क र रिचमन्ड हिल पर्छ। बस्ने मानिसहरू अत्यन्तै मेहनती छन्। यो समुदायमा ५० प्रतिशतभन्दा बढी आप्रवासी छन्। यहाँ संसारभरिबाट आएका मानिसहरू छन्। लाटिनो समुदायका मानिसहरू छन्, धेरै दक्षिण एसियाली समुदायका मानिसहरू छन्। र, उनीहरू अत्यन्तै मेहनत गर्छन्। यो सहरमा बाँच्नका लागि मानिसले दिनमा १६ घण्टा काम गर्नु नपरोस्। हप्तामा सातै दिन काम गर्नुपर्ने अवस्था नहोस्। मेरो विचारमा एफर्डिबिलिटी भनेको तपाईंले काम गर्न, परिवार धान्न, र उन्नति गर्न सक्ने ठाउँमा बाँच्नु हो। तपाईंले आफ्नो परिवारको हेरचाह गर्न काम गर्दा त्यस कामका कारण पीडामा पर्नु पर्ने अवस्था नहुनु हो।
म मेयर जोहरान माम्दानीसँगै रहेको त्यो आन्दोलनको हिस्सा हुँ जसमा डेमोक्र्याटिक सोसलिस्टहरू, ड्रम बिट्स र धेरै सामुदायिक समूहहरू छन् र, जसले अत्यन्तै धनी मानिसहरूलाई न्यायोचित कर लगाएर हाम्रो सहरमा जीवनलाई सहज बनाउने कार्यक्रमहरू ल्याउन चाहन्छन्। मेरो लागि एफर्डिबिलिटी भनेको सिटी (न्यू योर्क सिटी) र यहाँको अर्थ ब्यबस्थाले कामदार वर्गका मानिसहरूका लागि काम गर्नु हो। यसको अर्थ तपाईंले भाडा तिर्न सक्नु हो। राम्रो तलब दिने जागिर पाउनु हो। र, आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सक्नु हो।
एनवाईसीनेपालः यो एसेम्बली चुनाव किन महत्वपूर्ण छ? हामीलाई अल्बानीमा बलियो एसेम्बली मेम्बर किन चाहिन्छ?
डेविडः एसेम्बली सरकारको त्यो निकाय हो जसले सिटी (न्यू योर्क सिटी) र राज्यको बजेट निर्धारण गर्छ। अल्बानी (राजधानी) मा मजस्ता मानिसहरू हुनु अत्यन्तै महत्वपूर्ण छ, जसले सिटी चलाउन धनीहरूलाई कर लगाउनुपर्छ भन्ने साहस राख्छन्। यो देशका अत्यन्तै धनी मानिसहरू तथा अर्बपतिहरूले ट्रम्प र संघीय सरकारका रिपब्लिकनहरूबाट हालसालै ठूलो रकम कर छुट पाएका छन्। अहिले उनीहरूले कर छुटबापत धेरै पैसा फिर्ता पाइरहेका छन्। त्यो पैसा सिटीको हो। हामीलाई हाम्रा बालबालिका हेरचाह गर्न, बस सेवा, विद्यालय र यातायात सञ्चालन गर्न त्यो पैसा चाहिन्छ। अर्थात्, हामीलाई अल्बानीमा अर्बपतिहरुलाई कर लगाउनुपर्छ भन्ने म जस्ता मानिसहरू चाहिन्छ। ती अत्यन्तै धनी मानिसहरूलाई कर लगाएर हाम्रो पैसा समुदायमा फिर्ता ल्याउने साहस राख्ने मानिस चाहिन्छ।
जेनिफर राजकुमार अब अफिसमा रहनु हुँदैन। उहाँ नरहनु हाम्रा लागि धेरै महत्वपूर्ण छ। उहाँ यस्तो व्यक्ति हुनुहुन्छ जो समुदायमा आएर फोटो खिचाउनुहुन्छ तर गरिखाने समुदायका लागि केही गर्नुहुन्न। उहाँलाई समुदायमा आएर फोटो खिचाउनु कामदार समुदायका मानिसहरूका लागि लड्नुभन्दा धेरै बढी महत्वपूर्ण लाग्छ। उहाँले हामीलाई धेरै लामो समयदेखि बेवास्ता गर्नुभएको छ।
एनवाईसीनेपालः भाडा, कर, ट्रान्जिट, चाइल्ड केयर र श्रम कानुनसम्बन्धी धेरै ठूला निर्णयहरू अल्बानीमा हुन्छन्। एसेम्बली मेम्बरका रूपमा तपाईं यी मुद्दाहरूलाई कसरी अगाडि बढाउनुहुन्छ? तपाईंका रणनीतिहरू के हुन्?
डेविडः हाम्रो आन्दोलनको शक्तिशाली पक्ष के हो भने अल्बानीमा हाम्रा मानिसहरू हुनु भनेको हामीले आप्रवासी र कामदारहरूसँग मिलेर हाम्रो एजेन्डा अघि बढाउन प्रतिबद्ध हुनु हो। म अल्बानीमा रहेको त्यस्तो आन्दोलनको हिस्सा हुँ, जसमा मेयर माम्दानी, मेरो प्रेरणादायी व्यक्तित्व मध्ये एक सरहाना श्रेष्ठ, र धेरै डेमोक्र्याटिक सोसलिस्टहरू छन्। हामी न्यू योर्क सिटीका कामदार वर्गका मानिसहरूलाई फाइदा हुने धेरै विधेयकहरू पारित गराउन सँगै काम गर्छौँ।
जेनिफर राजकुमार समुदायमा आउनुहुन्छ, नमस्ते भन्नुहुन्छ, केही खाना पनि खानुहुन्छ, फोटो खिच्नुहुन्छ, अनि जानुहुन्छ, तर समुदायलाई फाइदा हुने काम गर्नुहुन्न भन्ने गुनाशो मैले नेपाली समुदायका धेरै मानिसहरूबाट सुनेको छु। म डिस्ट्रिक्टका मतदातालाई के भन्न चाहन्छु भने, तपाईंलाई यस्तो व्यक्ति चाहिन्छ जसले तपाईंको समुदायका कामदारहरूले बढी अधिकार पाऊन् भनेर तपाईंका लागि काम गर्छ ।
एनवाईसीनेपालः तपाईं सार्वजनिक सेवा प्रवाहका लागि धनीहरूलाई कर लगाउने पक्षमा हुनुहुन्छ। पहिलो, कृपया यो कस्तो विचार हो भनेर हाम्रा दर्शकहरूलाई सरल भाषामा बुझाइदिनुहोस्। दोस्रो, यस्तो नीति पारित गर्न सजिलो हुँदैन। शक्तिशाली स्वार्थ समूहहरूबाट कडा विरोध आउँछ। एसेम्बली मेम्बरका रूपमा यसलाई अल्बानीमा अघि बढाउन तपाईं कस्तो व्यावहारिक रणनीति प्रयोग गर्नुहुन्छ?
डेविडः हामी सबै कर तिर्छौँ। हामी सबै कामदार वर्गका मानिसहरू हौँ, जसले आफूले कमाएको पैसाको एक हिस्सा करका रुपमा सरकारलाई दिन्छौँ, ताकि सहरलाई फाइदा हुने सेवाहरू हामीले पाउन सकौँ। तर कर प्रणाली बनाउने कर कानुनहरू हामीभन्दा धेरै पैसा भएका मानिसहरूबाट धेरै प्रभावित छन्, खासगरि अर्बपतिहरू र ठूला कम्पनी चलाउने मानिसहरूबाट। उनीहरूले कसलाई कति कर लगाउने भन्ने कानुनहरू यस्तो तरिकाले बनाएका छन् कि त्यसले धनी मानिसहरूलाई मात्र फाइदा पुर्याउँछ।
अहिले हाम्रो देशमा यस्ता अर्बपतिहरू छन्, जसले तपाईं र मभन्दा कम कर दरमा कम कर तिर्छन्। उनीहरूले क्वीन्सका कामदार वर्गका मानिसहरूभन्दा कम कर तिर्छन्। त्यसैले जब म धनीहरूलाई कर लगाउने कुरा गर्छु। यसको अर्थ सबैले आफ्नो न्यायोचित हिस्सा कर तिर्नुपर्छ भन्ने हो। कर हामी सबैले तिर्नुपर्छ, र त्यसमा अत्यन्तै धनी वर्गका मानिसहरू पनि पर्नुपर्छ भन्ने हो। उनीहरूले पनि कामदार वर्ग सरह कर तिरेर सरकारमा योगदान दिनुपर्छ, ताकि हाम्रो सहरमा सार्वजनिक सेवाहरू उपलब्ध हुन सकून् भन्ने हो।
एनवाईसीनेपालः धेरै नेपाली, दक्षिण एसियाली र आप्रवासी परिवारहरू भाडा, चाइल्ड केयर, यातायात, स्वास्थ्य सेवा सँगसँगै दैनिक खर्च चलाउन कठिनाइ सामना गरिरहेका छन्। तपाईं बलियो भाडावाल संरक्षण (टेनन्ट प्रोटेक्सन), राम्रो सार्वजनिक यातायात, चाइल्ड केयर र कामदार संरक्षणको पक्षमा हुनुहुन्छ। यी विचारहरूलाई वास्तविक कानुनमा बदल्न तपाईं कस्तो व्यावहारिक कदम चाल्नुहुन्छ?
डेविडः यी विषयमा पहिल्यै बहसमा रहेका धेरै विधेयकहरू छन्। भाडावाल र कामदारलाई धेरै अधिकार दिने विधेयकहरू छन्। तर, ती विधेयकलाई अगाडि बढाउन एसेम्बलीमा विज्ञहरुको, च्याम्पियनहरूको आवश्यकता छ। ती विधेयकहरू पारित गराउन म तिनलाई अगाडि बढाइरहेका मानिसहरूको समूहमा सामेल हुनेछु।
एनवाईसीनेपालः धेरै आप्रवासीहरू ट्याक्सी चालक, डेलिभरी कामदार, रेस्टुरेन्ट कामदार, रिटेल कामदार, घरेलु कामदार, निर्माण कामदार र साना व्यवसायमा काम गर्ने कामदारका रूपमा काम गर्छन्। तपाईं उनीहरूका लागि कस्ता संरक्षणकारी ब्यबस्थाका लागि लड्नुहुन्छ?
डविडः यो मेरो हृदयसँग धेरै नजिक रहेको मुद्दा हो। मैले धेरै वर्षदेखि आप्रवासी कामदारहरूसँग काम गरेको छु। ट्याक्सी चालक, घरेलु कामदार, निर्माण कामदार, रिटेल कामदार र रेस्टुरेन्ट कामदारहरूसँग काम गरेको छु। कामदारलाई संरक्षण गर्ने हाम्रा कानुनहरू ८० वर्षअघि बनेका हुन्। त्यो धेरै लामो समय भयो। ८० वर्षमा प्रविधि कति परिवर्तन भयो भनेर सोच्नुहोस्। ती कानुनहरू बनाउँदा फोन थिएनन्, एप थिएनन्, यस्ता प्रविधि थिएनन्, र पक्कै पनि एआई थिएन।
हामीले कानुनहरू अद्यावधिक गर्नुपर्छ, ताकि एपमा काम गर्ने मानिसहरू र ८० वर्षअघिका श्रम कानुनले संरक्षण नगरेका मानिसहरूले नयाँ संरक्षण पाऊन्। यो विषयमा म अत्यन्तै गम्भीर छु। न्यानी (घरेलु कामदार) का रूपमा, कुकका रूपमा, ट्याक्सी चालकका रूपमा र एपमा आधारित कामदारका रूपमा काम गर्ने मानिसहरूले अरू सबैले पाउने जस्तै संरक्षण पाउनुपर्छ भन्ने सुनिश्चित गर्नुपर्छ।
एनवाईसीनेपालः धेरै आप्रवासी परिवारहरू आईस, डिपोर्टेसन र सरकारी निगरानीका कारण चिन्तित छन्। न्यू योर्क राज्यले आप्रवासी समुदायहरूलाई अझ राम्रोसँग जोगाउन के गर्न सक्छ?
डेविडः यो पनि मेरो लागि अत्यन्तै महत्वपूर्ण विषय हो। मैले धेरै मानिसहरूलाई हिरासतमा लिइएको, परिवारबाट छुट्याइएको र डिपोर्टेसनको प्रक्रियामा पारिएको देखेको छु। मैले मानिसहरूलाई यस देशमै रहन मद्दत पनि गरेको छु। एउटा अत्यन्तै महत्वपूर्ण कुरा के हो भने न्यू योर्क राज्यसँग धेरै मानिसहरूको व्यक्तिगत जानकारी हुन्छ, जसलाई हामी डाटा भन्छौँ। तपाईंले लाभका लागि आवेदन दिँदा, अस्पताल जाँदा, चालक अनुमतिपत्र लिँदा हरेक पटक सरकारलाई आफ्नो जानकारी दिनुहुन्छ। हामीले न्यू योर्क राज्यले ती कुनै पनि जानकारी संघीय सरकारलाई दिन नसक्ने अवस्था सुनिश्चित गर्नुपर्छ। किनभने, अहिले संघीय सरकारले त्यो जानकारी आप्रवासी समुदायलाई आक्रमण गर्न प्रयोग गर्न चाहन्छ। हामीले न्यू योर्क र क्वीन्सका आप्रवासी समुदायलाई त्यसबाट जोगाउने सुनिश्चितता गर्नुपर्छ।
एनवाईसीनेपालः राम्रो विचार मात्र पर्याप्त हुँदैन। रणनीति पनि चाहिन्छ। तपाईं आफ्नो एजेन्डा पारित गर्न अन्य एसेम्बली मेम्बर, युनियन र सामुदायिक संस्थाहरूसँग कसरी समर्थन वा गठबन्धन निर्माण गर्नुहुन्छ?
डेविडः म पहिलेदेखि नै हाम्रो एजेन्डालाई अघि बढाउन धेरै सामुदायिक र राजनीतिक संस्थाहरूसँग काम गरिरहेको छु, जसमा ड्रम बिट्स, मेक द रोड न्यू योर्क आदि पर्छन्। त्यहाँ मैले पहिले काम गरेको थिएँ। मैले मेक द रोड एक्सन, वर्किङ फ्यामिलिज पार्टी र डीएसए (डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका) लगायत धेरै समूहहरूसँग काम गरेको छु। यी सबै समूहहरू सामाजिक र राजनीतिक परिवर्तनका लागि वकालत गरिरहेका छन्। म पदमा पुगेपछि पनि यी समूहहरूसँग काम जारी राख्नेछु, ताकि हामी सँगै एजेन्डा अघि बढाइरहेका सकौं। म एसेम्बलीमा बसेर मेरा सहकर्मी विधायकहरूलाई निश्चित कानुनहरू समर्थन गर्न दबाबकारी भुमिका खेल्नेमात्र छैन, यस्ता संस्थाहरूसँग पनि काम गर्नेछु, जसले प्रतिनिधिहरूलाई फोन गर्ने, पत्र पठाउने, र ती कानुनहरू समर्थन गर्न दबाब दिने काम गर्नेछन्।
एनवाईसीनेपालः शक्तिशाली नेता वा विशेष स्वार्थ समूहहरूले तपाईंको एजेन्डाको विरोध गरे भने तपाईं आफ्ना मतदातामाझ कसरी उभिनुहुन्छ?
डेविडः मेरा मतदाताबीच उभिन मलाई धेरै सजिलो हुनेछ। म विशेष स्वार्थ बोकेका शक्तिशाली व्यक्ति वा कम्पनीहरूबाट पैसा लिँदिनँ। विशेष स्वार्थ समूह र कम्पनीहरूको सरकारमा यति धेरै प्रभाव हुनुको कारण उनीहरूले ठूलो मात्रामा चन्दा दिएर निश्चित उम्मेदवारहरूलाई समर्थन गर्नु हो। त्यसमा म हुने छैन।
एनवाईसीनेपालः निर्वाचित हुनुभयो भने, तपाईं नेपाली सामुदायिक संस्था र आप्रवासी सामुदायिक संस्थाहरूसँग कसरी काम गर्नुहुन्छ?
डेविडः मैले अर्बपतिहरु, कम्पनीहरू वा लबी समूहहरूबाट पैसा नलिने सार्वजनिक घोषणा गरेको छु। त्यसको अर्थ निर्वाचित भएपछि मैले तिनीहरूको कुरा सुन्नु पर्ने छैन। म अहिले मलाई समर्थन गर्ने सामुदायिक संस्थाहरूलाई म समर्थन गर्नेछु। उनीहरुको कुरा सुन्ने र काममा संलग्न हुनेछु। मैले आफ्नो पूरा जीवन आप्रवासी समुदायको पक्षमा काम गरेको छु। मेरो कार्यालय यस्तो ठाउँ बन्नेछ जहाँ मानिसहरूले सहज रूपमा फोन गरेर सहयोग माग्न सकून्। म त्यसको सुनिश्चित गर्न म जे गर्न सक्छु त्यो गर्नेछु।
एनवाईसीनेपालः डिस्ट्रिक्ट ३८ मा धेरै साना आप्रवासी समुदायहरू छन्। नेपाली भाषी बासिन्दा र अन्य साना समुदायहरू बेवास्तामा नपरून् भन्ने सुनिश्चिता कसरी गर्नुहुन्छ?
डेविडः म सामुदायिक संस्थाहरूसँग निरन्तर काम गर्न प्रतिबद्ध छु। त्यस्ता धेरै संस्था यही डिस्ट्रिक्टभित्र छन्,। त्यसबाट डिस्ट्रिक्टमा बस्ने मानिसहरूसँग मेरो खुला संवाद सुनिश्चित हुन्छ। म सबै आप्रवासी समुदायका मानिसहरू, विशेष गरी नेपाली समुदायको मेरो कार्यालयमा सहज पहुँच होस भन्ने सुनिश्चित गर्न चहान्छु। त्यसका लागि दोभाषे सेवामार्फत होस् वा मैले साझेदारी गर्ने सामुदायिक संस्थाहरूमार्फत, काम गर्छु। उदाहरणका लागि, म रिजवुडको नेपाली कम्युनिटी सेन्टर र ओजोन पार्कका सामुदायिक संस्थाहरूमा नियमित सम्पर्कमा हुन्छु ताकि म उनीहरूका लागि उपस्थित छु भन्ने उनीहरूलाई थाहा होस्।
एनवाईसीनेपालः तपाईंले कर्पोरेट, प्याक (पलिटिकल एक्सन कमिटी), एलएलसी, रियल इस्टेट, ल इन्फोर्समेन्ट तथा फसिल फ्युलबाट पैसा स्वीकार नगर्ने भन्नुभएको छ। तपाईंको अभियानका लागि यो किन महत्वपूर्ण छ?
डेविडः यो मेरो अभियानका लागि धेरै महत्वपूर्ण छ। यसको अर्थ म केवल समुदायप्रति जवाफदेही छु भन्ने हो। म केवल डिस्ट्रिक्ट ३८ का मानिसहरूप्रति जवाफदेही छु। म फसिल फ्युलको स्वार्थमा, ठूला कम्पनीहरू तथा अन्य राजनीतिक उम्मेदवारहरूलाई चन्दा दिने अर्बपतिहरूप्रति जवाफदेही छैन भन्ने हो।
एनवाईसीनेपालः आप्रवासी र अल्पसंख्यक समुदायहरूमा स्थानीय भाषाका मिडिया संस्थाहरू सामुदायिक स्तरमा सञ्चालन भइरहेका छन्, तर उनीहरूले दिगोपनाका चुनौतीहरू सामना गरिरहेका छन्। यस विषयमा राज्य स्तरमा कुनै कानून बनाउनेबारे विचार भएको छ कि? वा यसबारे तपाईंको धारणा के छ?
डेविडः स्थानीय समुदायमा आधारित समाचार संस्थाहरू पहिला धेरै थिए। तर, अहिले तपाईंले गरिरहनुभएको अविश्वसनीय कामबाहेक लगभग उनीहरु हराइसकेका छन्। मलाई लाग्छ स्वतन्त्र र निष्पक्ष सूचनामा पहुँच लोकतन्त्रको आधार हो। त्यसैले हामी यसलाई कसरी समर्थन गर्न सक्छौँ भन्नेबारे सोच्न म साँच्चै खुला छु। त्यसका लागि सार्वजनिक प्रसारणमार्फत होस् वा सामुदायिक पत्रकारहरूले आफ्नो सन्देश बाहिर पुर्याउन सहयोग गर्ने अन्य स्रोतहरूमार्फत, काम गर्न तयार छु।
एनवाईसीनेपालः तपाईं एसेम्बली सदस्य जेनिफर राजकुमारविरुद्ध चुनाव लड्दै हुनुहुन्छ, जो परिचित दक्षिण एसियाली निर्वाचित प्रतिनिधि हुनुहुन्छ। कुन उम्मेदवारहरू सहि भन्ने तुलना गरिरहेका दक्षिण एसियाली र नेपाली मतदाताहरूलाई तपाईं के सन्देश दिन चहानुहुन्छ?
डेविडः मेरी प्रतिस्पर्धी जेनिफर राजकुमार समुदायमा आउनुहुन्छ, नमस्ते भन्नुहुन्छ, केही खाना पनि खानुहुन्छ, फोटो खिच्नुहुन्छ, अनि जानुहुन्छ, तर समुदायलाई फाइदा हुने काम गर्नुहुन्न भन्ने गुनाशो मैले नेपाली समुदायका धेरै मानिसहरूबाट सुनेको छु। म डिस्ट्रिक्टका मतदातालाई के भन्न चाहन्छु भने, तपाईंलाई यस्तो व्यक्ति चाहिन्छ जसले तपाईंको समुदायका कामदारहरूले बढी अधिकार पाऊन् भनेर तपाईंका लागि काम गर्छ भन्न चहान्छु। तपाईंले बढी अधिकार पाउनुभयो भने तपाईंको जीवनस्तर सुध्रिन्छ। तपाईंका बिलहरू घट्यो भने तपाईंको जीवनस्तर सहज बन्छ। तपाईं र तपाईंको परिवार सुरक्षित हुनुभयो भने तपाईंको जीवन राम्रो हुन्छ। तपाईंलाई तपाईंसँगै काम गर्ने व्यक्ति चाहिन्छ, केवल समुदायको कार्यक्रममा आउने र ‘हाई’ भनेर फर्किने जेनिफर राजकुमार जस्तो व्यक्ति होइन भन्न चहान्छु।
एनवाईसीनेपालः त्यसो भए, तपाईं दक्षिण एसियाली र नेपाली समुदायको मत पाउन उनीहरुसँग आफ्नो संलग्नता कसरी बढाउनुहुन्छ? जेनिफर राजकुमार लगभग हरेक सामुदायिक संस्थामा उपस्थित भएको जस्तो देखिन्छ। तपाईँ के गर्नुहुन्छ?
डेविडः म विभिन्न सामुदायिक संस्थाहरूसँग काम गरिरहेको छु। म समुदायमा उपस्थित छु। समुदायको कुरा सुनिरहेको छु। म दक्षिण एसियाली होइन। तर मलाई दक्षिण एशियाली समुदायले धेरै न्यानो स्वागत गर्नुभएको छ, किनभने हाम्रा मुद्धाहरु, हाम्रा विचार र चुनौतिहरु समान छन्। हामी कामदार समुदायहरू फस्टाऊन् भन्ने चाहन्छौँ। हामी आप्रवासी कामदारहरूले बढी अधिकार पाऊन् भन्ने चाहन्छौँ। र, हामी हाम्रो समुदाय सुरक्षित रहोस् भन्ने चाहन्छौँ। हाम्रो वर्तमान एसेम्बली मेम्बर जेनिफर राजकुमार वास्तवमै यी मुद्धा र लडाइँहरूबाट टाढा हुनुहुन्छ। उहाँ समुदायका लागि लडिरहनुभएको छैन। समुदायमा यो कुरा धेरै स्पष्ट छ। म चारैतिर अभियान चलाइरहेको छु। त्यहि भएर समुदायबाट मैले अत्यन्तै न्यानो स्वागत पाएको छु। यो मेरो लागि धेरै अर्थपूर्ण छ।
एनवाईसीनेपालः अन्त्यमा, डिस्ट्रिक्ट ३८ का नेपाली भाषी मतदाता, आप्रवासी परिवार र कामदार वर्गका मानिसहरूलाई तपाईंको प्रत्यक्ष सन्देश के छ?
डेविडः यो समुदायले हाम्रो नयाँ मेयर (जोहरान माम्दानी) लाई निर्वाचित गरेर इतिहास बनाएको छ। अब त्यो यात्रालाई जारी राख्ने समय आएको छ। त्यसका लागि म जस्तो व्यक्ति, जो मेयरको साझेदार हो, जो धनीहरूलाई कर लगाउन काम गर्नेछ, जसले हाम्रो सिटीको र अर्थतन्त्र कामदार वर्गका मानिसहरूका लागि काम गर्छ भन्ने सुनिश्चित गर्नेछ, र आप्रवासी समुदायहरू, विशेष गरी नेपाली समुदाय, आगामी दिनमा सुरक्षित रहून् भन्ने सुनिश्चित गर्नेछ, लाई निर्वाचित गरेर त्यो यात्रालाई जारी राख्ने समय आएको छ।




प्रतिक्रिया