१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

आडम्सको कार्यकालमा चौथो पटक कोठा भाडा वृद्धि, कम्प्ट्रोलरद्वारा विरोध

आडम्सको कार्यकालमा चौथो पटक कोठा भाडा वृद्धि, कम्प्ट्रोलरद्वारा विरोध

न्यू योर्क। रेन्ट गाइडलाइन बोर्ड (आरजीबी) ले मुल्य नियमित गरिएका न्यू योर्क सिटीका करिब १० लाख अपार्टमेन्टहरूको भाडा पुनः वृद्धि गरेको छ।

सोमबार बसेको आरजीबीको बैठकले एक वर्षका लागि नयाँ भाडा सम्झौता गर्नेहरूका लागि तीन प्रतिशत र दुई वर्ष नयाँ भाडा सम्झौता गर्नेहरूका लागि चार दशमलव पाँच प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो। यो निर्णय आगामी अक्टोबरदेखि लागू हुनेछ।

भाडावालको विरोधका बाबजुद आरजीबीले हरेक वर्ष मूल्य नियन्त्रित अपार्टमेन्टहरूको भाडा वृद्धि गरिरहेको छ। मेयर एरिक आडम्सको कार्यकालमा भएको यो चौथो भाडा वृद्धि हो। आरजीबीले एक वर्षका लागि नयाँ भाडा सम्झौता गर्नेहरूका लागि २०२२, २०२३ र २०२४ का लागि क्रमशः तीन दशमलव २५ प्रतिशत, तीन प्रतिशत र दुई दशमलव ७५ प्रतिशत भाडा वृद्धि गरेको थियो। त्यस्तै, दुई वर्ष नयाँ भाडा सम्झौता गर्नेहरूका लागि क्रमशः पाँच प्रतिशत, चार दशलमव चार प्रतिशत र पाँच दशलमलव ७५ प्रतिशत भाडा वृद्धि गरेको थियो।

पछिल्ला तीन वर्षमा भाडा झण्डै ९ प्रतिशतले ले बढेको छ। अर्थशास्त्रीहरू, भाडावालहरूको पक्षमा लाग्ने समूह, र सिटीको आफ्नै प्रतिवेदनले समेत भाडा वृद्धिले धेरै विस्थापन र असमानता निम्त्याउने देखाएको छ भने गत सातामात्र करिब पाँच लाख मतदाताले भाडा वृद्धि रोक्न मतदान गरेका छन्।

चेयरपर्सन सहित कूल नौ सदस्य रहने आरजीबीका हरेक सदस्य मेयरले नियुक्त गर्छन्। पूर्व मेयर बिल दि ब्लाजियोले खासगरि २०१५, २०१६ र २०२० मा मुल्य नियमित अपार्टमेन्टहरूको भाडा वृद्धि रोकेका थिए। त्यसलगत्तै मेयर बनेका आडम्सको कार्यकालमा आरजीबीले हरेक वर्ष भाडा वृद्धि गर्दै आएको छ। 

घर भाडा धान्न नसकिने भन्दै भाडावालहरुले वृद्धिको विरोध गर्दै आएका छन्। भाडा वृद्धि रोक्ने एजेण्डा सहित जोह्रान मम्डानीले न्यू योर्क सिटी मेयरको प्राथमिक निर्वाचन जितलगत्तै भाडा वृद्धि सम्बन्धी पछिल्लो निर्णय भएको हो।

आरजीबीले गरेको भाडा वृद्धिसम्बन्धी निर्णयको न्यू योर्क सिटी कम्प्ट्रोलर कार्यालयले विरोध गरेको छ। कम्प्ट्रोलर ब्राड ल्याण्डरले विज्ञप्ति जारी गरि घर धनीहरूको नाफा अकासिएको र ऐतिहासिक रुपमा अपार्टमेन्टहरू खाली रहनु परेको अवस्थामा मेयर आडम्सले नियुक्त गरेका आरजीबका सदस्यहरूले भाडावालहरुले तिर्न नसक्ने गरी लगातार चौथो वर्ष भाडा वृद्धि गरिदिएको छ जनाएका छन्। 

“आरजीबीले तयार पारेको भाडा वृद्धि प्रतिवेदन ध्यानपूर्वक समीक्षा गरेपछि मैले आगामी वर्षका लागि भाडा स्थिर राख्नुपर्ने निष्कर्ष निकालेँ,” विज्ञप्तिमा उल्लेख छ, “पछिल्ला तीन वर्षमा भाडा झण्डै ९ प्रतिशतले ले बढेको छ। अर्थशास्त्रीहरू, भाडावालहरूको पक्षमा लाग्ने समूह, र सिटीको आफ्नै प्रतिवेदनले समेत भाडा वृद्धिले धेरै विस्थापन र असमानता निम्त्याउने देखाएको छ भने गत सातामात्र करिब पाँच लाख मतदाताले भाडा वृद्धि रोक्न मतदान गरेका छन्।” कम्प्ट्रोलरको कार्यालय न्यू योर्क सिटीको आर्थिक मामिला हेर्ने प्रमुख निकाय हो।

प्रतिक्रिया