न्यू योर्क। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्र्म्म दोस्रो पटक हत्या प्रयास अभियोगमा रायन रुथ नामक एक ५८ वर्षिय अमेरिकीलाई पक्राउ गरेको छ। फ्लोरिडाको ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्प भने सुरक्षित छन्।
एके ४७ जस्तै देखिने बन्दुक लिएर ट्रम्पको हत्या गर्न गल्फ क्लबको झाडिमा लुकिरहेको अबस्थामा सिक्रेट सर्भिसका सुरक्षाकर्मीले रुथमाथि गोली हानेका थिए। रुथमाथि माथि आइतबार न्यू योर्कको समय अनुसार १ः३० मा गोली प्रहार भएको थियो। त्यसपछि उनी भागेका थिए।
घटनाबारे फेडेरल ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको छ। आफूसँग भएको बन्दुक नचलाएकाले रुथ माथि ट्रम्पको हत्या प्रयास गरेको अभियोग नलगाइने संभावना रहेको पाम बीच स्टेट अटर्नी डेभ एरनबर्गले एमएसएनबिसीलाई बताएका छन्।
तर, यो मुद्धा राज्य सरकारबाट संघ सरकारले लिएको छ। त्यसको अर्थ रायनमाथि कडा कारवाही हुन्छ। उनलाई २० वर्षसम्म काराबासको सजाय हुन सक्छ। उनीमाथि सम्भवतः सोमबार अभियोजन दायर हुनेछ। घटनास्थलबाट बन्दुक सहित हत्याको फोटो खिच्न गो प्रो क्यामेरा र सेरामिक टायल भएको दुईवटा झोला फेला पारिएको छ।
यसअघि चुनावी अभियानका क्रममा रहेका ट्रम्पमाथि ठमस माथ्यु क्रुक्स नामक २० वर्षे युवाले गोली प्रहार गरेका थिए। गत जुलाई १३ मा पेन्सिलभेनियाको बट्लरस्थित र्यालीमा क्रुक्सले हानेको आठ राउण्ड गोली मध्ये एउटाले ट्रम्पको कान छोएर गएको थियो। पेन्सिलभेनियाको बेथेल पार्क निवासी क्रुक्सलाई सिक्रेट सर्भिसको काउन्टर स्नाइपर टिमले गोली हानी मारिदिएका थिए।
क्रुक्स र रुथ दुवै अमेरिकी गोरा हुन्। रुथ नर्थ क्यारोलिना निवासी भएको ठानिएको छ। उनले युक्रेनको समर्थन र रसियाको विरोध गर्दै आएका थिए। रुथले यसअघि पनि अपराध गरेको लामो रेकर्ड रहेको एनबिसी न्युजले जनाएको छ। उनको पुरानो ट्वीट हेर्दा उनले २०१६ मा ट्रम्पलाई समर्थन गरेको तर पछि रुष्ट भएको जस्तो देखिन्छ।
प्रतिक्रिया