०३ वैशाख २०८३, बिहिबार
Thu, Apr 16, 2026
SUBSCRIPTION

माम्दानी प्रशासनको १०० दिन: सस्तो किराना पसल खोल्ने योजना सार्वजनिक

माम्दानी प्रशासनको १०० दिन: सस्तो किराना पसल खोल्ने योजना सार्वजनिक

न्यु योर्क। मेयर जोहरान माम्दानीले १०० दिन पूरा गरेको अवसरमा न्यु योर्क गरिखाने वर्गका लागि थप ठूला निर्णय सार्वजनिक गरेका छन्। आइतबार (अप्रिल १२) मा क्विन्सको नकडाउन हलमा सिटीको स्वामित्वमा सस्तो किराना पसल खोल्ने, फोहोर व्यवस्थापनलाई पूर्ण रूपमा कन्टेनरमा लैजाने, चाइल्ड केयर फर अल बिस्तार गर्ने र बस सेवालाई छिटो बनाउने योजना अघि सारे। 

प्रशासनका मुख्य उपलब्धिहरूः


    - बाल हेरचाहमा १.२ अर्ब डलरको साझेदारी, २ वर्षका बालबालिकाका लागि “टु के” कार्यक्रम सुरु गर्ने तयारी
    - श्रमिक र उपभोक्ताका लागि ९.३ मिलियन डलरभन्दा बढी क्षतिपूर्ति
    - ६० हजारभन्दा बढी व्यवसायलाई नियम पालना गर्न चेतावनी
    - ४.३ मिलियन कामदारलाई सुरक्षित बिदा विस्तार
    - घरधनीविरुद्ध कारबाहीबाट ३४ मिलियन डलरभन्दा बढी लाभ
    - ६ हजारभन्दा बढी अपार्टमेन्ट सुधार र १ लाख ९५ हजारभन्दा बढी उल्लङ्घन नोटिस
    - “रेन्टल रिपअफ हियरिङ्स” मार्फत भाडावालाका गुनासो संकलन
    - १ लाखभन्दा बढी सडकका खाल्डाखुल्डी मर्मत
    - हिउँ व्यवस्थापनमा हजारौं श्रमिक परिचालन

उनको “काम गर्ने सरकार” देखाउने प्रयास अन्तर्गत १०० दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रममा दिइएको सम्बोधनमा सबैभन्दा पहिले खाद्यान्न क्षेत्रमा हस्तक्षेप गर्ने घोषणा परेको छ। त्यस अनुसार न्यु योर्क सिटीको पाँचै बरोमा एक एक वटा सस्तो “सिटी–ओन्ड ग्रोसरी स्टोर” सञ्चालन गरिनेछ। “पहिलो पसल सन् २०२७ मा ईस्ट हार्लेमको ला मार्केटमा खुल्नेछ,” उनले भने, “यसले खाद्यान्न महँगी नियन्त्रण र सर्वसाधारणलाई सस्तो पहुँच दिलाउनेछ।”

प्रत्यक्ष प्रसारण गर्दै सञ्चारकर्मीहरु। 
फोहोर व्यवस्थापनमा पनि व्यापक परिवर्तनको घोषणा गरिएको छ। अब आवासीय भवनहरूमा अनिवार्य रूपमा कन्टेनर प्रणाली लागू गरिनेछ। प्रत्येक बरोमा २०२७ भित्र कम्तीमा एउटा पूर्ण कन्टेनरयुक्त क्षेत्र तयार गरिनेछ। सन् २०३१ सम्ममा सम्पूर्ण सहरलाई यही प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

यातायाततर्फ माम्दानी प्रशासनले बस सेवालाई केन्द्रमा राखेको छ। ४५ वटा प्राथमिक रुटमा बसको गति २० प्रतिशतसम्म बढाउने योजना सार्वजनिक गरिएको छ। रेल सेवा नपुगेका क्षेत्रमा नयाँ “र्यापिड बस रुट” थपिनेछ। “फास्ट एन्ड फ्री बस” अभियान अन्तर्गत अहिले गति र पहुँच सुधारलाई प्राथमिकता दिइएको मेयरको भनाइ छ। सम्बोधनमा मेयर माम्दानीले भने, “हामीले सरकारले काम गर्न सक्छ भन्ने देखाउनुपर्छ। ठूला सपना मात्रै होइन, दैनिक जीवनका समस्या पनि समाधान गर्न सक्छ।”
यी नयाँ घोषणासँगै प्रशासनले १०० दिनका उपलब्धिहरू पनि सार्वजनिक गरेको छ। प्रारम्भिक अवधिमै श्रमिक, आवास र आधारभूत सेवामा उल्लेख्य प्रगति भएको दाबी गरिएको छ।

मेयर माम्दानीको प्रतिक्षामा सहभागीहरु।

कार्यक्रममा श्रमिक, भाडावाला र आप्रवासी अधिकारसम्बन्धी समूहहरूले पनि प्रशासनको खुलेर समर्थन गरेका छन्। “पिपल्स मेजोरिटी एलायन्स” नामक गठबन्धनले माम्दानीलाई निर्वाचित गराएको र अहिले पनि नीतिगत कार्यान्वयनमा सहकार्य गरिरहेको बताइएको छ। कार्यक्रममा सहभागी सिनेटर बर्नी स्याण्डर्सले ममदानी प्रशासनको समर्थन गर्दै भने, “कामदार वर्गका लागि काम गर्ने सरकार सम्भव छ भन्ने कुरा न्यु योर्कले देखाउन थालेको छ। धनीहरूलाई मात्रै होइन, साधारण जनतालाई केन्द्रमा राखेर नीति बनाउनुपर्छ।”

 

गठबन्धनका नेताहरूले न्यूयोर्कमा बढ्दो महँगी, उच्च भाडा र असमानताबीच माम्दानी प्रशासनले “वर्किङ क्लास गभर्नेन्स” सुरु गरेको दाबी गरेका छन्। उनीहरूले धनीमाथि कर लगाउने, भाडा नियन्त्रण गर्ने र सार्वजनिक सेवामा लगानी बढाउने नीतिलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

१०० दिनको मूल्याङ्कनले केही योजना अझै कार्यान्वयनको चरणमा रहेको देखाएको छ। विशेष गरी निःशुल्क बस सेवा कर सुधारजस्ता विषय राज्य सरकारसँगको सहकार्यमा निर्भर छन्।
तर छोटो अवधिमै देखिएको प्रगति नयाँ घोषणाहरूले ममदानी प्रशासनले घोषणाभन्दा काममा जोड दिएको सन्देश दिएको छ।

 

प्रतिक्रिया