न्यूयोर्क । विश्व राजनीतिको ध्यान आकृष्ट गर्दै अमेरिकाको ४७ औं राष्ट्रपति चयनको लागि आज निर्वाचन हुँदैछ । अधिकाँश राज्यहरुमा विहान ६ बजेबाट मतदान शुरु भएको छ । मतदान रातीसम्म जारी रहने छ । मतदान सकिने समय भने कतिपय राज्यहरुमा फरक फरक रहेको छ । कुनै राज्यमा साँझ ६ बजे सकिने छ भने क्यालिफोर्नियामा राती ११ बजेसम्म र आलस्का, हवाई जस्ता राज्यहरुमा भोली विहान १ बजेसम्म मतदानको समय तय गरिएको छ । न्यूयोर्क राज्यमा राती ९ बजेसम्म मतदान गर्न सकिने छ ।
अमेरिकी मतदाताहरुले आज राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदको प्रतिनिधिसभा सदस्य, सिनेट सदस्य, आफ्नो राज्यका राज्यसभा सदस्य, सिनेटसदस्य, सर्वोच्च अदालतको न्यायाधिश र स्थानीय अदालतका न्यायधीश चयनको लागि मतदान गर्नेछन् । यसैगरी मतपत्रको पछाडि रहेको प्रश्नहरुमा समेत आफ्नो मत प्रकट गर्नुपर्ने हुन्छ । झण्डै आठ करोड मतदाताले अर्ली भोटिङ र हुलाकबाट मतदान गरिसकेका छन् । अर्लि भोटिङका लागि अक्टोबर २६ देखि नोभेम्बर ३ सम्मको समय तोकिएको थियो । यो संख्या कुल मतदाता संख्याको आधा भन्दा कम रहेको निर्वाचन कार्यलयले जनाएको छ ।
यसपालिको निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । अमेरिकी मत सर्वेक्षणहरूले यो निर्वाचनमा अमेरिकी इतिहासकै सबभन्दा कडा टक्कर हुने देखाएका छन् । राष्ट्रव्यापी मत सर्वेक्षणहरूले ह्यारिस ट्रम्प भन्दा एक प्रतिशत मात्र अघि देखाएका छन् । निर्वाचनको अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन् । जसको पक्षमा पनि परिणाम जान सक्छ भन्ने सम्भावनाका कारण पनि अमेरिकामा मात्र होइन, विश्वभरि नै यो निर्वाचनलाई चासोपूर्वक हेरिएको छ ।
अमेरिकी राष्ट्रपति मतदाताले दिएको पुपलर मतका आधारमा चुनिँदैन । अर्थात् अमेरिकाभरि जसले धेरै मत ल्यायो, त्यही व्यक्ति नै राष्ट्रपति चुनिन्छ भन्ने छैन । यहाँ जसले २७० वा त्यो भन्दा धेरै ‘इलेक्टोरल कलेज’ जित्यो, त्यही नै राष्ट्रपति चुनिन्छ । ५० वटै राज्यहरुमा गरी तोकिएको ५३८ इलेक्टोरल कलेज मध्ये २७० ल्याउने विजयी हुनेछन् ।
अमेरिकामा अन्य राज्यहरुलाई ब्लु स्टेट र रेड स्टेटको रुपमा चिनिने गरेपनि सातवटा राज्यहरु पेन्सिभेनिया, नर्थ क्यारालिना, विस्कोन्सिन, मिचिगन, नाभाडा, जर्जिया र एरिजोनालाई भने स्वीङ स्टेटको रुपमा हेरिएको छ । हरेक निर्वाचनमा फरक फरक उम्मेद्धराको पक्षमा उभिदै आउने भएकाले यी राज्यहरुलाई स्वीङ स्टेट भनिएको हो । यस पटकपनि राष्ट्रपतिका उम्मेद्धारहरुले आफ्नो प्रचार अभियानलाई त्यही राज्यहरुमा केन्द्रीत गरेका छन् । २०२० को निर्वाचनमा सात मध्ये ६ वटा राज्यमा डोमोक्र्याट पार्टीले कब्जा जमाएको थियो भने २०१६ को निर्वाचनमा सात मध्ये ५ वटामा रिपब्लिकन पार्टीले कब्जा जमाएको थियो । राष्ट्रपति निर्वाचनमा विश्वका अन्य मुलुकहरुमा भन्दा फरक निर्वाचन प्रणाली हुने भएका कारण हरेक राज्यमा राष्ट्रपतिका उम्मेद्धारले थोरै मत अन्तरले मात्रै विपक्षलाई पछि पारे पनि राज्यका सबै इलेक्टोरल कलेजमा कब्जा जमाउन सक्ने भएकोले यस्ता स्वीङ स्टेटले निर्वाचनमा निर्णायक भुमिका खेल्ने गर्दछ ।
चुनाबी प्रचारका कार्यक्रमहरु समेत दुवै उम्मेद्धारले हिजो राती अबेरसम्म गरी त्यही राज्यहरुबाट अन्त्य गरेका थिए । ह्वाइट हाउस दौडको अन्तिम दिनको रुपमा सामेबार पनि दुवै उम्मेद्धारहरु चुनाबी युद्ध मैदानको रुपमा रहेको ती राज्यहरुमध्येको महत्वपूर्ण शहरहरुका मतदातामाझ पुगेका थिए ।
यो निर्वाचनमा डोमोक्र्याटिक उम्मेद्धार ह्यारिस र रिपब्लिकन उम्मेद्धार ट्रम्पले आ आफ्नो चुनाबी मुद्दालाई सशक्त रुपमा उठाएका छन् । निकै आरोप प्रत्यारोप चलिरहेको चुनाबी प्रतिस्पर्धामा ह्यारिसले ट्रम्पको आगमन अमेरिकी प्रजातन्त्रको लागि खतरा भएको दावी मतदाताहरुमाझ गर्दै ट्रम्पले अमेरिकनहरुवीच विभाजन ल्याएको, घ्रिणा फैलाएको, महिला अधिकारलाई सम्मान नगरेको, सीमा कानूनलाई पारित गर्न नदिएर आप्राबासी समस्यालाई समाधान गर्न नदिएको दावी गर्दै आएका छन् । यस्तै ट्रम्ले जिते अमेरिकी धनीहरुको पक्षमा कानून बनाउने, अमेरिकाको कामकाजी वर्ग र मध्यम वर्गको पक्षमा आर्थिक न्याय नगर्ने भन्दै ट्रम्पको आलोचना गरिरहेका छन् । ह्यारिसले ट्रम्पले महिलाहरुको गर्वपतनको अधिकारलाई हनन गरेको भन्दै महिलाले आफ्नो शरिरमाथि आफ्नै हक हुनुपर्ने चुनाबी नारा जोडतोडकासाथ उठाउदै आएका छन् ।
यता, २०२० को निर्वाचनमा पराजीत भएर पनि आफ्नो पराजयलाई अस्वीकार गर्दै आएका ट्रम्पले “मेक अमेरिका ग्रेट अगेन” को नारा अघि सार्दै बाइडेन ह्यारिसको सरकारले अमेरिकामा विश्वभरको आप्रावासी भित्र्याएर अमेरिकालाई “गार्भेज” को देश बनाएको भन्दै आफु निर्वाचित भएपछि अमेरिकाबाट गैरकानूनी रुपमा बसिरहेका झण्डै २ करोड आप्रावासीहरुलाई देश निकाला गर्ने उद्घोष गरेका छन् । ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रहरुबाट अपराधी, लागुऔषध प्रयोग कर्ता र मानसिक रोगीहरुलाई बेरोकतोक अमेरिकाको दक्षिणी सीमाबाट छिराउन दिएको र अहिले अमेरिकामा अपराधका घटनाहरुमा बृद्धि भएको समेत दावी गर्दै चुनाबी भाषणहरु गरिरहेका छन् । ट्रम्पले आफ्ना भाषणहरुमा अमेरिकाका गोरा मतदाताहरुलाई रिझाउने प्रयास गरिरहेका छन् ।
राष्ट्रपतिका उम्मेद्धारद्धय ह्यारिस र ट्रम्पवीच भएको बहसका बेला ट्रम्पले हैंटीबाट आएका आप्रावासीहरुले ओहायो राज्यमा कुकुर, विरालो लगायतका घर पालुवा जनावरहरु खाइदिएको भन्ने दावी गरेपछि उनको त्यो भनाई निकै विवादित समेत बनेको थियो । ट्रम्पको धेरै जसो चुनाबी भाषणहरु आधारहीन र आरोपमा आधारित हुँदै आएको भनी आलोचना हुने गरेको छ । पूर्व राष्ट्रपति ट्रम्पले बाइडेन ह्यारिसको सरकारले महंगी अत्याधीक रुपमा वृद्धि गराएको, मध्येपूर्वी र रुस–युक्रेन युद्ध अन्त्यको लागि निर्णायक भूमिका खेल्न नसकेको जस्ता आरोप पनि लगाउदै आएका छन् ।
राष्ट्रपति निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन केही समय लाग्ने भएपनि प्रारम्भिक नतिजा भने मतदान सकेर केही घण्टाभित्रै आउन सक्छ । मतदाताहरुले बुथमा गएर मतदान गरेपछि मतपत्र बक्समा छिराउने क्रममा नै स्क्यानर मेसिनबाट मत स्क्यान भई मत गननाको रेकर्ड समेत हुने भएकोले अमेरिकामा मतगननाको लागि खासै समय लाग्दैन । तर मतगननामा विवाद भयो भने मतपत्र फेरि स्क्यान गर्नुपर्ने भएमा भने समय लाग्न सक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया