न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण शेयर बजार निरन्तर ओह्रालो लागेको छ। एस एण्ड पी ५०० सोमबार एक प्रतिशत गिरावट सहित गत सेप्टेम्बर यताकै सबैभन्दा तल्लो बिन्दूमा झरेको छ।
उता नास्डाक दुई प्रतिशत तल झरेको छ भने डाओ जोन्स शुन्य दशमलव ७ प्रतिशतले ओह्रालो लागेको छ। साथै, साना ठूला बहुसङ्ख्यक कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ। ट्रम्पले आयातमा घोषणा गरेको महशुलका कारण शेयर बजार ओह्रालो लागेको हो।
ट्रम्पले घोषणा गरेको धेरै महशुल बुधबारदेखि कार्यान्वयन हुँदैछ। त्यसमा अमेरिका बाहिर बनेको कारमा २५ प्रतिशत लेभी समेत छ। अमेरिकी उत्पादनमा कर लगाउने देशलाई थप कर लगाउने नीति अन्तर्गत ट्रम्पले थप कर घोषणा गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पले अमेरिका बाहिर बनेको कार माथि घोषणा गरिएको लेभी उनको कार्यकाल भर लागू हुने बताएको छन्। साथै, उनले व्यापार घाटा रहेका १० देखि १५ देश नभएर सबै देशमा उत्पादित सामाग्रीमा कर लगाउने योजना रहेको बताएका छन्। यसले लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ।










प्रतिक्रिया