०४ माघ २०८२, शनिबार
Sat, Jan 17, 2026
SUBSCRIPTION

पूर्व गभर्नर क्युमोद्धारा न्यू योर्क सिटीको मेयरमा उम्मेद्धार बन्ने घोषणा

गभर्नर पदबाट राजीनामापछि करिब तीनवर्ष राजनीतिमा निष्क्रिय जस्तै रहेका क्युमोले न्यू योर्क सिटीका मेयर उम्मेद्धारमा प्रतिस्पर्धाको लागि आगमी जुनमा हुने डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाबमा प्रतिस्पर्धा गर्ने शनिबार घोषणा गरेका हुन् ।
पूर्व गभर्नर क्युमोद्धारा न्यू योर्क सिटीको मेयरमा उम्मेद्धार बन्ने घोषणा


न्यू योर्क । पूर्व गभर्नर एन्ड्रयू क्युमोले न्यू योर्क सिटीको मेयरको लागि उम्मेदवारी दिने घोषणा गरेकाछन् । गभर्नर पदबाट राजीनामापछि करिब तीनवर्ष राजनीतिमा निष्क्रिय जस्तै रहेका क्युमोले न्यू योर्क सिटीका मेयर उम्मेद्धारमा प्रतिस्पर्धाको लागि आगामी जुनमा हुने डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाबमा प्रतिस्पर्धा गर्ने शनिबार घोषणा गरेका हुन् । क्युमोको यो घोषणासंगै मेयर पदको उम्मेद्धारीमा बाजी मार्न हालका मेयर एरिक आडम्ससहित आधा दर्जनबढी मैदानमा देखिने भएका छन् । 

शनिबार झण्डै १७ मिनेट लामो भिडियो जारी गर्दै उनले न्यूयोर्क सिटी यतिबेला विभिन्न समस्याहरुसंग जुधिरहेकोले त्यसबाट पार लगाउन आफुले उम्मेद्धारी घोषणा गरेको जिकीर गरेका छन् । उनले असफल डेमोक्रेटिक नेतृत्वको कारण न्यूयोर्क सिटीमा वर्तमान संकट देखा परेको उल्लेख गर्दै क्युमोले वर्तमान ट्रम्प प्रशासनसंग काम गर्नको लागि आफु सक्षम रहेको बताए । 

“आज हाम्रो न्यू योर्क सिटी संकटमा छ, क्युमोले भने, सडकमा घरबारबिहीनको संख्या बढ्दैछ, अपराधका घटना चिन्ताजनक अवस्थामा छ, रोजगारीको समस्या उस्तैछ । यी समस्याहरुको निदानको लागि आफ्नो उम्मेद्धारी रहने उनको दावी थियो । महिलामाथिको यौन उत्पिडनका झण्डै दर्जन आरोपमा मुद्दा चलेपछि २०२१ अगष्टमा गभर्नरबाट राजीनामा दिन बाध्य भएका क्युमो मेयरमा उम्मेद्धारी दिने चर्चा चलेसंगै विभिन्न संस्थाहरुले गरेको मत सर्वेक्षणमा भने अन्य उम्मेद्धारको तुलनामा अघि देखिदै आएका छन् । पूर्व गभर्नर क्युमो आफ्नो दश वर्षे गभर्नर कार्यकालमा न्यूनतम ज्याला बृद्धि गरेको, बन्दूक हिंसा नियन्त्रण कानून बनाएको, कामदारका पारिवारिक बिदा कायम गर्ने, प्रजनन अधिकारलाई राज्यले कानूनी मान्यता दिएको जस्ता कार्यको लागि प्रसंशा पाएका थिए । 

न्यूयोर्क सिटीलाई बचाउनका लागि आफुसंग “साहसिक कार्य योजना” रहेको उनले दावी गरेका छन् । “मेरो राजनीतिक दर्शन सरल छः म तपाईंका लागि काम गर्छु — राजनीतिज्ञ वा विशेष चासोका लागि होइन,” क्युमोले भने, “म कडा मेहनत गर्छु, मलाई थाहा छ के गर्नुपर्ने हो, र म यसमा अनुभवी पनि छु, उनले भने।”

प्रतिक्रिया