२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इजरायल र हमासवीच युद्धविराम सम्झौता, नेपालका विपिन जोशीको रिहाईको संभावना बढ्यो

युद्धविराम सम्झौता अनुसार पहिलो चरणको ४२ दिनको युद्धविराममा हमासले ३३ बन्धकहरूको मुक्तिको गरिनेछ भने इजरायलले हमासका कैदीहरुलाई रिहाई गर्नेछ ।
इजरायल र हमासवीच युद्धविराम सम्झौता, नेपालका विपिन जोशीको रिहाईको संभावना बढ्यो

न्यूयोर्क । इजरायल र हमासबीच १५ महिनासम्मको रक्तपात र हिंसापूर्ण युद्धमा पूर्णविराम लाग्ने भएको छ । अमेरिकी सरकारको महलमा कतार र इजिप्टको अग्रसरतामा इजरायल र हमाससंग भएको लगतारको वार्ता पछि बुधबार वार्ताकारहरु यो सुखद परिणाम लिन सफल भएका हुन् । युद्धविराम सम्झौता अनुसार पहिलो चरणको ४२ दिनको युद्धविराममा हमासले ३३ बन्धकहरूको मुक्तिको गरिनेछ भने इजरायलले हमासका कैदीहरुलाई रिहाई गर्नेछ । पूर्ण युद्धविरामका लागि वार्ता जारी राखिने र दोस्रो र तेस्रो चरणसम्मको युद्धविराम घोषणा गरी मध्येपूर्वमा पूर्ण शान्ति कायम गरिने उदेश्य रहेको अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् । 

दशौं हजार सर्वसाधारणको ज्यान गएको र लाखौं घाइते र विस्थापित हुनेगरी भएको राक्तपातपूर्ण युद्धको अन्त्य गर्न सफल भएकोमा विश्वभरका नेताहरुले खुशी व्यक्त गरेका छन् । युद्धविरामको सहमति लगतै अमेरिकी राष्ट्रपति जो बाइडनले वासिङटन डिसीमा पत्रकार सम्मेलन गर्दै युद्धविराम भएको घोषणा गरेका थिए । राष्ट्रपति बाइडनको घोषणा लगतै अमेरिकी विदेशमन्त्रालय र ह्वाइटहाउसको प्रेस सेक्रेटरीले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी युद्धविराम सम्म पुग्नका लागि अमेरिकाले गरेको प्रयास बारे विस्तृतमा जानकारी गराएका थिए । 

राष्ट्रपति बाइडनले युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा आफ्नो प्रशासनको भूमिका र योगदानलाई प्रमुख बनाउँदै यसको स्वागत गरेका छन् । “यो सम्झौताले इजरायली र अमेरिकी बन्धकहरू र गाजा यथार्थमा ’नर्क’ भोगेका प्यालिस्तीनीहरूलाई राहत पुर्याउनेछ,“ बाइडनले भने । उनले पहिलो चरणको युद्धविरामका क्रममा नै बन्धकहरु रिहाई हुने र दोस्रो र तेस्रो चरणसम्मको युद्धविराम गरी मध्यपूर्वमा पूर्ण शान्ति कायम गरिने समेत बताए । 


युद्धविराम सम्झौता बारेमा कतारका अमीर शेख तामिल बिन हमद अल थानी र इजरायली राष्ट्रपति इजाक हर्जोगले पनि आ आफ्नो देशमा पत्रकार सम्मेलन गरी युद्धविराम बारेमा जानकारी गराएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युद्धविराम सम्झौताको मुख्य मध्यस्तकर्ताको रुपमा रहेका कतरका अमीर थानीले गाजा युद्धविराम सम्झौता गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । उनले यो उपलब्धिलाई राजनीतिकभन्दा मानवतावादी कर्तव्य भनेर ब्याख्या गरेको बिबिसीले जनाएको छ । उनले युद्धविरामको घोषणा बन्धक रिहाई गर्न र रक्तपातपूर्ण युद्ध अन्त्यको लागि महत्वपूर्ण हुने बताए । 

“हामी आशा गर्छौं कि गाजा युद्धविराम सम्झौताको घोषणा युद्ध, विनाश र हत्याको अन्त्य गर्न मद्दत पुर्याउनेछ,” शेख तामिमले भने। कतर गाजा युद्धविराम सम्झौतामा पुग्न मध्यस्थको रूपमा प्रमुख भूमिकामा रहेको छ, जहाँ यो सम्झौतामा अमेरिका र इजिप्टसँग मिलेर काम गरेको थियो। कतरका अधिकारीहरूका अनुसार, तिनीहरूको मुख्य प्राथमिकता भनेको थप नागरिक मारिन रोक्नु र गाजामा आवश्यक मानवीय सहायता पुर्याउन सुनिश्चित गर्नु हो ।

कतरका विदेश मामिला राज्य मन्त्री मोहम्मद अल–खुलैफीले सम्झौताका कार्यान्वयन चरणको दौरान कतरको निरन्तर सहयोगमा प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी सम्झौताका लागू हुने चरणको दौरान हाम्रो सहकार्य जारी राख्न प्रतिबद्ध छौं, र दुवै पक्षलाई सहमति गरेका प्रतिबद्धतामा पूर्ण रूपमा पालना गर्न आग्रह गर्दैछौं।” विविसीले उल्लेख गरेको छ । 

इजरायली राष्ट्रपति इजाक हर्जोगले बुधबार नै एक पत्रकार सम्मेलन गर्दै युद्धविराम र बन्धक मुक्तिको सम्झौताबारे स्वागत गर्दै यो सम्झौतालाई सावधानीपूर्वक कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको वार्ता टोलीलाई सम्झौता पूरा गर्न गरेको प्रयासमा समर्थन व्यक्त गर्दै, मन्त्रीमण्डल र सरकारलाई सम्झौतामा अनुमोदन दिन आह्वान समेत गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

सम्झौताका पहिलो चरणमा ३३ बन्धकहरू रिहा गरिनेछन्, जसमा तीन अमेरिकी नागरिकहरूको रिहाई ४८ देखि ७२ घण्टाभित्र हुने योजना बनाइएको छ । हालसम्म गाजामा ७ अमेरिकी बन्धक थिए, जसमा तीन जना जीवित रहेको र चार जना मृत घोषित भएका छन्।

यो सम्झौताको अन्तर्राष्ट्रिय समुदायबाट पनि स्वागत गरेको छ । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले यस संघर्षले निम्त्याएको “प्रचण्ड दुःख“ कम गर्ने प्राथमिकता भएको बताएका छन । राष्ट्रसंघका राहत र कार्य एजेन्सीका प्रमुख फिलिप लाजारिनीले युद्धविरामको स्वागत गर्दै यसलाई “सहायताको लागि अत्यन्त आवश्यक विश्राम“ भनेका छन्। उनले भने, “यस युद्धका कारण उत्पन्न भएको हाहाकारलाई समाधान गर्न तत्काल र अवरोधविहीन मानवीय सहायता र आपूर्ति आवश्यक छ।“


जर्मनीका चान्सलर ओलाफ शोल्जले गाजामा जर्मनसहितका बन्धकहरूको मुक्तिको समाचारको स्वागत गर्दै, सम्झौतामा “पढाइअनुसार कार्यान्वयन“ हुनुपर्ने बताएका छन्। स्पेनका प्रधानमन्त्री पेरेडो सान्चेजले यो सम्झौतासँग सम्बन्धित क्षेत्रीय स्थिरताको महत्वलाई जोड दिएका छन्, र यसलाई दुई–राज्य समाधानको दिशामा “महत्त्वपूर्ण कदम“को रूपमा लिएका छन्।

नेपालका विपीन जोशी पनि रिहाइको आशा  

इजरायल र हमासवीच भएको युद्धविराम सम्झौतासंगै नेपालका विपीन जोशीको पनि रिहाइ हुने सम्भावना बढेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन इजरायलमा हमासले गरेको आक्रमणका क्रममा अपहरणमा परेका थिए । उनको रिहाईका लागि नेपालले धेरै कुटनीतिक मेहनत गरेपनि सफल भएको थिएन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीहरु मारिएका थिए ।

प्रतिक्रिया