०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

इजरायल र हिजबुल्लाहवीच ६० दिने युद्धविराम, युद्धको स्थायी अन्त्यको डिजाइन भएको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार आएको युद्ध विरामको प्रस्ताबलाई इजरायलको प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले स्वीकार गरेपछि एकवर्षदेखि जारी युद्ध अन्त्यको पहल शुरु भएको हो ।
इजरायल र हिजबुल्लाहवीच ६० दिने युद्धविराम, युद्धको स्थायी अन्त्यको डिजाइन भएको अमेरिकी  राष्ट्रपति बाइडेनको भनाई

 

न्यू योर्क । इजरायल र लेबनानको हिजबुल्लाह समूहवीच ६० दिने युद्ध विराम भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार आएको युद्ध विरामको प्रस्ताबलाई इजरायलको प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले स्वीकार गरेपछि एकवर्षदेखि जारी युद्ध अन्त्यको पहल शुरु भएको हो । 

गत सेम्टेम्बर महिनाबाट यी दुईवीच ठूलो लडाई शुरु भएको थियो । जब इजरायलले बमबारीलाई तीव्र बनायो र भौतिक आक्रमण सुरु गर्यो, लेबनान र इरान समर्थित हिजबुल्लाहले पनि जवाफी आक्रमण गरेको थियो । यो युद्धमा हालसम्म लेबनानमा ३८ सय भन्दा बढीको ज्यान गएको बताइएको छ भने एक लाख भन्दा बढी आफ्ना घर छोडेर भागेका छन् । युद्धविराम शुरु भएसंगै लामो समयदेखि आफ्नो घर छाडेर गएकाहरु फर्किएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । युद्धविराम शुरु भए लगतै लेबननको बेरुतका स्थानीय बासिन्दाहरुमा खुशी देखिएका छन् । 

युद्धविरामका शर्तहरूका अनुसार इजरायली सेनाहरु लेबनानबाट क्रमिक रुपमा फिर्ता हुनेछ भने हिजबुल्लाहका सैनिकहरूलाई दक्षिणी लेबननमा लेबनानी सेनाले प्रतिस्थापन गर्नेछ । हिजबुल्लाहका लडाकूहरूलाई लितानी नदीको उत्तरमा फिर्ती हुने व्यवस्था छ ।

इजरायल र लेबनानको हिजबुल्लाहले गरेको युद्धविराम सहमति अनुसार स्थानीय समय अनुसार बुधवार बिहान ४ बजेबाट लागू भएको छ । युद्ध विरामपछि अमेरिकी र फ्रान्सेली अधिकारीहरूले पछिल्लो केही हप्तामा तीव्र रुपले बढेको द्वन्द्वलाई एक अस्थायी रोक लगाउने बताएका छन्।

युद्धविरामको समयमा, लेबनानी सेनाले र संयुक्त राष्ट्रका शान्ति सैनिकहरूले उक्त क्षेत्रलाई पुनः परिचालन गर्ने र सुरक्षित गर्नेछन् । यी शर्तहरू दुवै पक्षले स्वीकार गरेका छन् । संघर्षको स्थायी अन्त्यको लागि यो घोषणाको डिजाइन गरिएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताए । “हामी दृढ छौं कि यो द्वन्द्व मात्र अर्को हिंसाको चक्र नहोस्।” युद्धविरामका दुवैपक्षले पूर्ण पालना गर्ने विस्वास व्यक्त गर्दै राष्ट्रपति बाइडेनले अब लेबननमा सर्वसाधारणको दैनिकी सामान्य हुने बताए ।  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहसँगको युद्धविरामले इजरायलका चासोहरूको रक्षा गर्ने बताउदै यदि हिजबुल्लाहले धम्की दिने हो भने पुनः आक्रमण गनसक्ने विकल्प रहेको बताएका छन् । 

तस्बीर श्रोतः बिबिसी अनलाईन

प्रतिक्रिया