एजेन्सी। मध्यस्थकर्ता कतार र इजिप्टले अघि सारेको गाझा युद्धविराम र बन्दी-साटासाट प्रस्तावबारे हामासले सहमति जनाइसकेको छ। अब इजरायलको औपचारिक प्रतिक्रिया छिट्टै दिनुपर्ने दबाब बढेको छ। क्याबिनेटले यसै हप्ताभित्र गाझा सिटी कब्जा योजना पारित गर्ने तयारीसँगै यो प्रश्न समय-संवेदनशील बनेको छ।
प्रस्तावले ६० दिनको युद्धविराम माग्छ। यस अवधिमा गाझामा रहेका करिब ५० बन्दीमध्ये झण्डै आधा फिर्ता गर्नु पर्छ। ती बन्दीमध्ये २० जना जीवित भएको विश्वास गरिन्छ। सम्झौता लागु भएको पहिलो दिनदेखि नै स्थायी युद्धविराम र बाँकी बन्दी फिर्ताबारे वार्ता सुरु हुने प्रस्तावको व्यवस्था छ।
हामासका सञ्चार सहलाकर ताहेर अल-नुनुले प्रस्ताव कुनै संशोधन बिना स्वीकार गरिएको बताए। उनले यसलाई “समग्र सम्झौतामा पुग्ने आंशिक कदम” भने। उनको भनाइमा ६० दिन नै अन्तिम सहमतिमा पुग्न पर्याप्त हुन सक्छ।
इजरायली सरकारले भने आंशिक सम्झौता अस्वीकार्य भएको दोहोर्र्याउँदै आएको छ। इजरायली सरकारको आधिकारिक अडान सबै बन्दी एकैपटक मुक्त गरिनुपर्छ भन्ने छ। यद्यपि इजरायली सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आंशिक सम्झौताको ढोका पूरै बन्द गरेका छैनन्। नेतन्याहुले युद्ध अन्त्यका सर्तहरू भनेर हामासको निशस्त्रीकरण, गाझाको असैनिकरण, गाझा परिधिमाथि इजरायली नियन्त्रण, र हामास वा पालेस्टिनी प्राधिकरणबाहेकको प्रशासनिक संरचना स्थापना गर्नु पर्ने माग दोहोर्याएका छन्।
युद्धविराम सम्बन्धी विट्कफ मूल योजनामा दुई चरणमा १० जना जीवित बन्दी र १८ जनाका शवहरू फिर्ता गर्ने प्रावधान थियो। बदलामा इजरायलले सयौँ पालेस्टिनी कैदी र बन्दी रिहा गर्ने थियो। अन्तिम सम्झौताका वार्ता पहिलो दिनदेखि नै सुरु हुने उल्लेख थियो। इजरायलले उक्त योजना स्वीकृत गरेको थियो। तर हामासले स्थायी युद्धविरामको ग्यारेन्टी नहुँदा अस्वीकार गरेको थियो।
यसबीच इजरायलले गाझा सिटीमा आक्रमण तीव्र पारेको छ। सरकार यसै हप्ताको क्याबिनेट बैठकबाट “पूर्ण कब्जा” योजना पारित गर्ने तयारीमा रहेको बताइन्छ। बन्दी परिवारहरूले यस्तो कारबाहीले कैदीहरूको ज्यान जोखिममा पर्ने डर व्यक्त गरेका छन्। तेल अभिभमा सयौँ हजार प्रदर्शनकारीले सरकारलाई तुरुन्त सम्झौतामा अघि बढ्न र सबै बन्दी घर फर्काउन माग गरेका छन्। नेतन्याहुले यस्ता प्रदर्शनले हामासको अडान कडा बनाएको आरोप लगाएका छन्।
गत अक्टोबर २०२३ को हामास-आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र दुई सय ५१ जना अपहृत भए। त्यसयता गाझामा कम्तीमा ६२ हजार चार जनाको मृत्यु भएको गाझाको हामास-सम्बद्ध स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ। अधिकांश बासिन्दा पटक-पटक विस्थापित भएका छन्। ९० प्रतिशतभन्दा बढी घरधुरी क्षतिग्रस्त वा ध्वस्त भएका छन्। स्वास्थ्य, खानेपानी र सरसफाइ प्रणाली ढलेका छन्। संयुक्त राष्ट्र-समर्थित विज्ञहरूले खाद्य अभावका कारण भोकमरीको “सबैभन्दा खराब अवस्था” आउने चेतावनी दिएका छन्।
अहिले मध्यस्थहरूको मुख्य चासो इजरायलको छिटो र स्पष्ट जवाफ हो। जवाफ ढिलो भए नयाँ सैन्य कारबाहीले वार्तालाई झन् जटिल बनाउन सक्छ।






प्रतिक्रिया