१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

न्यूयोर्क सिटीको मतपत्र पछाडिको ६ प्रश्नहरु के के छन् ?

यस्ता प्रश्नहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो कानून बनाउन सोध्ने भएकोले हरेक राज्य, सिटी, काउन्टीमा फरक फरक हुन सक्दछ ।
न्यूयोर्क सिटीको मतपत्र पछाडिको ६ प्रश्नहरु के के छन् ?

न्यूयोर्क । यही नोभेम्बर ५ मा हुने निर्वाचनमा मतदाताले राष्ट्रपति–उपराष्ट्रपति र अन्य उम्मेद्धारहरुलाई मत दिएपछि मतपत्रको पछाडि रहेका प्रश्नहरुको पनि उत्तर दिनुपर्ने हुन्छ । यस्ता प्रश्नहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो कानून बनाउन सोध्ने भएकोले हरेक राज्य, सिटी, काउन्टीमा फरक फरक हुन सक्दछ । 

न्यूयोर्क सिटीको मतपत्रमा भने ६ वटा प्रश्नहरु रहेका छन् । पहिलो नम्बरको प्रश्न संघीय सरकारको प्रश्न हो भने अन्य ५ वटा सिटी काउन्सिलले आफ्नो चार्टरको लागि सोधिएको प्रश्न हो । यस्ता प्रश्नहरुमा हो वा होइन अर्थात एस वा नो भन्नेमा उत्तर दिनुपर्ने हुन्छ । विषेश गरी पहिलो पटक मतदान गर्न जाने र भाषागत समस्या रहेका आप्रावासी समुदायको लागि मतदानको बेला ती प्रश्नहरुलाई लिएर यतिबेला समस्या देखिएको छ । मतदाताहरुको जानकारीका लागि ती प्रश्नहरुको 
बारेमा यहाँ जानकारी गराउने प्रयास गरिएको छ । 

मतपत्रको पछाडि रहेका पहिलो प्रश्नमा विभेदबाट सुरक्षा प्रदान गर्ने र प्रजनन् स्वास्थ्य सुरक्षा अधिकार सम्बन्धी प्रस्ताव हो । यो प्रस्ताबमा विषेश गरी जातीय, राष्ट्रियता, उमेर, अपांगता, लैंगिकताको समेत आधारमा हुने विभेदको अन्त्यको लागि भनिएको छ । त्यसपछिका ५ वटा प्रश्नहरु भने न्यू योर्क सिटीको हो । ती प्रस्तावहरु न्यूयोर्क सिटीको भन्दा पनि मेयर एरिक आडम्सका हुन् भन्ने चर्चा अहिले चलिरहेको छ । मेयर आडम्सले सिटी काउन्सिललाई समेत पूर्ण जानकारी बिनै यी प्रस्तावहरुमा ल्याएको भनी आलोचना भइरहेको छ । 

के के छन् पाँच वटा प्रस्तावमा ?

प्रस्ताव नम्बर २ मा उल्लेख छ, ‘‘सार्वजनिक सम्पतिको सफाइः यो प्रस्तावले सडक तथा सिटीका अन्य सम्पति सफा गर्ने तथा फोहरलाई कन्टेनरमा व्यवस्थापन गर्ने डिपार्टमेन्ट अफ सेनिटेसनको अधिकारमा बिस्तार तथा प्रष्टता ल्याउन सिटी चार्टरमा संशोधन गर्छ।’’

प्रस्ताव नम्बर ३ मा ‘‘प्रस्तावित कानूनको लागतको थप अनुमान र बजेट म्याद अद्यावधिकः यो प्रस्तावले कानूनको सुनुवाइ र मतदान अघि काउन्सिलबाट वित्तीय विश्लेषण अनिवार्य गर्न, मेयरबाट वित्तीय विश्लेषण स्वीकृत गर्न र बजेटको म्याद अद्यावधिक गर्न सिटी र्चाटरमा संशोधन गर्छ।’’ 

प्रस्ताव नम्बर ४ मा उल्लेख छ, ‘‘सार्वजनिक कानूनमा मतदान गर्नु अघि थप सूचना र समयः यो प्रस्तावले प्रहरी (एनवाइपिडी), करेक्सन (डिपार्टमेन्ट अफ करेक्सन्स) र फायर डिपार्टमेन्टको सार्वजनिक सुरक्षा सञ्चालन सम्बन्धी कानूनमा सिटी काउन्सिलले मतदान गर्नु अघि अतिरिक्त सार्वजनिक सूचना र समयको व्यवस्था गर्छ।’’ 

प्रस्ताव नम्बर ५ मा,  ‘‘पूँजी योजनाः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरी सिटीका सुविधाहरुमा वार्षिक मुल्यांकन गर्नुपर्ने, ती सुविधाहरुले वाध्यकारी रुपमा पूँजी योजनाको जानकारी दिनुपर्ने र पुँजी योजना अद्यावधिक गर्नुपर्ने ब्यबस्था गर्छ,’’ उल्लेख छ।

प्रस्ताव नम्बर ६ मा उल्लेख छ, ‘‘अल्पसंख्यक र महिला स्वामित्वको उद्यम ब्यबसाय, फिल्म परमिट र आर्काइभ रिभ्यू बोर्डः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरि चिफ बिजिनेस डाइभर्सिटी अफिसर (सिबिडिओ नियुक्त गर्नेछ, मेयरलाई फिल्म परमिट अनुमति दिने कार्यालय तोक्ने अधिकार दिनेछ र आर्काइभ बोर्डलाई एकत्रित गर्नेछ।’’

प्रतिक्रिया