
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवसीय नेपाली संघ एनआरएनलाई एकतावद्ध हुन आग्रह गर्दै राजनीतिक टगआफ वार नगर्न आग्रह गरेका छन् । गैह्रआवासीय नेपाल सङ्घ एआरएन दिवश तथा वार्षिक साधारणसभाको अवसरमा आइतबार काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
चरम राजनीतिकरणका कारण विवादको भुमरीमा रुमल्लिरहेको एनआरएनमा गतवर्ष नेतृत्वको लागि भएको निर्वाचनपछि झन विवाद बढ्दै गएको छ । एनआरएनमा देखिएको त्यही विवादलाई इन्गित गर्दै प्रधानमन्त्री ओलीले तत्काल एकताबद्ध हुन आग्रह गरेका छन् । ओलीले संस्थामा टग अफ वार नगर्न अर्थात संस्थामा एकअर्का समूहमा तानातान नगर्न पनि आग्रह गरेका छन् ।
गत वर्षको निर्वाचनमा डा. बद्री केसी समूह विजयी भएपछि प्रतिद्धन्दी समूहले निर्वाचनमा अनियमितता भएको भन्दै परिणाम अस्वीकार गर्दै आएका छन् । त्यसपछि चरणबद्ध रुपमा अदालतमा मुद्दा र फैसला भइरहेपनि विवाद समाधानको दिशामा गएको छैन । विश्वभरका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एनआरएनमा चरम राजनीतिकण भएपछि यतिबेला संस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ । विवादकै परिणामले होला विश्वभरका नेपालीहरुको साझा संस्था एनआरएन दिवशको अवसरमा आइताबार काठमाडौमा भएको कार्यक्रममा थोरै मात्र सहभागीहरु कार्यक्रम हलमा देखिएका थिए ।
गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने उनले बताए । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” उनले भने । प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए ।
प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न अग्रह गर्दै सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने स्पष्ट पारे । संघलाई स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।” प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपालीको आर्थिक साँस्कृतिक र सामाजिक अधिकार सम्बोधन गर्न सरकारले कानून संशोधनको तयारीमा रहेको जानकारी दिए । तपाईहरु पनि तयारी गरेर आउनुहोस्, कानून संशोधनको लागि हामीले गृहकार्य गरिरहेका छौं, गृहमन्त्री लेखकले भने । उनले गैर आवसीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नती भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेकोले नेपालमा पनि त्यस्तै काम गर्नुपर्ने बताए ।
संघका अध्यक्ष डा. बद्री केसीले आफुहरु संघको एकतामा बाधा नरहेको भन्दै मिलेर अघि बढ्न अन्य समुहलाई आह्वान गरे । हामी एकता विरोधी हैन, एनआरएनको उद्देश्य पुरा गर्न एकजुट हुनुको विकल्प छैन, अध्यक्ष केसीले भने ।
तस्वीरः दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय
प्रतिक्रिया