न्यू योर्क। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको वातावरण भएको उल्लेख गर्दै गैरआवासीय नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह गरेका छन्।
ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्स (जिएनवाइएनसिसी) ले अक्टोबर २७ मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। ‘नेपालमा अवस्था खराब छ भन्ने बुझाइ गलत हो,’ उनले भने, ‘केही कमजोरी होला, तर लगानीको अवसर जहाँ हेर्यो त्यहीँ छ।’
उनले नेपालमा भएको लगानी सम्मेलनको स्मरण गर्दै लगानीको वातावरण बनाउन पुराना कानूनहरू भनेजस्तै गरि परिवर्तन गर्न नसकेपनि पर्यटन, जलविद्युत, सूचना प्रविधि केबुलकार लगायतका धेरै क्षेत्रमा लगानीको अवसर भएको बताए। त्यसका लागि नेपालले विभिन्न देशसँग दुईपक्षीय सम्झौता गर्नुपर्ने बताए। ‘हामी आफैँ नेपालमा लगानीको सम्भावना छ भनेर एडभोकेसी गर्दै हिँडिरहेका छौँ,’ उनले भने।
उनले गैरआवासीय नेपालीहरूलाई आफ्नो कमाइ र सीपको सानो हिस्सा भएपनि स्वदेशमा लगानी गर्न आग्रह गरे। महासङ्घ अन्तर्गत १० अर्ब रुपैयाँको पब्लिक कम्पनी सञ्चालनमा ल्याएको उल्लेख गर्दै उनले भने, ‘तपाईँहरूले कमाउनु भएको सानो हिस्सा मात्र यो कम्पनीमा लगानी गर्न सक्नुहुन्छ। यसबाट ठूला पूर्वाधारदेखि साना स्टार्ट अपमा समेत लगानी गर्न सकिन्छ।’
ढकालले देश विकास गर्न प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नै चाहिने भन्ने बुझाई पनि गलत रहेको बताए। उनले स्वदेशमै प्रशस्त लगानी उठाउन सकिने सम्भावना रहेको बताए। ‘नेपालको प्रदेश प्रदेश र क्षेत्र क्षेत्रबाट लगानी उठाउन सकिन्छ,’ उनले भने, ‘कुनै कम्पनीको आइपिओ इनिसियल पब्लिक अफरिङ) खुल्दा शेयर सङ्ख्याको २० गुणा बढी आवेदन पर्छ। पैसा छ। एफडिआई नै चाहिन्छ भन्ने होइन।’
त्यस्तै कार्यक्रममा ग्लोबल आइएमई ब्याङ्कका डेपुटी चिफ एक्ज्याकेटिभ अफिसर सुमन पोखरेलले उक्त ब्याङ्कबारे जानकारी दिए। उनले ग्लोबल आइएमईको बजार हिस्सा १० प्रतिशत रहेको र पाँच खर्ब रुपैयाँको भन्दा बढीको पूँजी सहित नेपालको सबैभन्दा ठूलो ब्याङ्क भएको बताए। ‘हामीले युरोमनी अवार्डस फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपाल्स बेस्ट ब्यांक २०२४ र बेस्ट ब्यांक फर इएसजी (इन्भाइरोमेन्टल, सोसल एण्ड गभर्नेन्स) अवार्ड समेत प्राप्त गर्न सफल भएका छौं।’ ब्याङ्कका
कार्यक्रममा जिएनवाइएनसिसीका अध्यक्ष प्रदिप श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए। उनले जिएनवाइएनसिसीको भुमिका बारे प्रकाश पारेका थिए।
प्रतिक्रिया