न्यू योर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले १६औँ बार्षिकोत्सव मनाएको छ । फिवनाले आफ्नो वार्षिकोत्सव हेरचाह र स्याहारको क्षेत्रमा कार्यरत दिदीबहिनीहरूको अनुभव ओपन आइक फर केयरगिभर कार्यक्रम मार्फत साझा गर्दै फरक ढंगले मनाएको हो । अगष्ट १५ मा एल्म्हष्ट अस्पतालको अडिटरियम हलमा हेरचाह र स्याहारको क्षेत्रमा कार्यरत तथा अन्य क्षेत्रमा कार्यरत महिला दिदीबहिनीहरूले आफ्नो कला, प्रतिभा, रचना, कविता र गीत मार्फत अनुभव साझा गर्दै ३२ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस र १६ औं बार्षिकोत्सव विशेष तरिकाले मनाएको हो । यो कार्यक्रम उपस्थित महिला दिदीबहिनीहरुका लागि प्रेरणादायी बनेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा फिवनाका आजीवन सदस्य, तथा प्रमुख अतिथि सिनियर सुकु रुम्दाली र फिवनाका अध्यक्ष इन्दिरा चोङबाङले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेपछि उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । त्यसपछि अध्यक्ष चोङबाङले फिवनाले गरिरहेको कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् । फिवनाले अमेरिकाको न्यूयोर्कमा रहेका आदिवासी जनजाति महिलाहरुलाई एकवद्ध गर्दै महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको छ । अहिले संस्थामा ३५ जनाले आजीवन सदस्यता लिएका छन् भने ५५ जना सदस्य रहेका र फिवनाले मेरिल्याण्ड राज्यमा फिवनाको च्याप्टर समेत गठन गरेको जानकारी दिइन्। फिवनाले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि अमेरिकामै रहेर पनि आदिवासी जनजाति र र आदिवासी महिलासँग सम्बन्धित बिषयहरुमा बिषय विज्ञसँग पाक्षिक रुपमा भच्र्युल छलफल आयोजना गर्दै आएको र अहिले २७ औं सिरिज आयोजना गर्नु फिवानाको लागि ठुलो उपलब्धी रहेको बताइन् । अध्यक्ष चोङबाङले अधिकारको बारेमा वकालत गर्ने, शशक्तिकरण र साँस्कृति संरक्षणका साथै महिला नेतृत्व विकासको लागि क्षमता अभिबृद्धि जस्ता विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन्। स्थानिय कम्युनिटी बोर्ड र विषय विज्ञहरुसँग समन्वय र सहकार्य गर्दै आएको जानकारी दिदै फिप्नाले आयोजना गरी विश्व आदिवासी दिवस मनाउँदा अर्थपूर्ण सहभागीता जनाएका बताइन् । भोइस अफ वुमन जर्नल पनि प्रकाशित गरेको जानकारी दिदै अध्यक्ष चोङबाङले पूर्व पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरु र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरिन् । भाषा, धर्म संस्कार र संस्कृति बचाउने कामलाई प्राथमिकतासाथ फिवनाले कार्य गरेको जानकारी दिइन् ।प्रमुख अतिथी सुकु रुम्दालीले फिवनाको १६औं बार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै फिवना आज सम्म शशक्त रुपमा स्थापित गर्न सफल अध्यक्ष इन्दिरा तथा सम्पूर्ण टिमलाई धन्यवाद तथा बधाइ ब्यक्त गरिन् । उनले भनिन, एक हातले ताली बज्दैन त्यसैले हातमा हात दिएर हातेमालो गरेर मद्धत गर्दै अगाडि बढ्नु आवश्यक छ । रुम्दालीले महिलाले घरमा सबैको स्याहार र हेरचाह गरिरहेकोले हरेक महिला केयर गिभरको रुपमा काम गरिरहेको बताइन् । आमाको योगदानलाई सम्मान गर्दै आफ्नो भाषासँगै चाडपर्व र संस्कार सिकाउनु पर्नेमा रुम्दालीको जोड थियो। आमा बुबाले आफ्नो कर्तव्य पालना गरेपनि बदलामा केही आशा नगर्न सुकु रुम्दालीको सुझाव छ ।
कार्यक्रमको उद्देश्य हेरचाहको जिम्मेवारीसँगै दिदीबहिनीहरूभित्र लुकेको प्रतिभा, कला, गला, रचना, सिर्जनालाई गीत, कविता मार्फत मञ्चमा प्रस्तुत गर्न अवसर प्रदान गर्नु रहेको थियो। अधिकारकर्मी नर्वदा क्षेत्रीले कार्यक्रम सञ्चालनको लागि साथ र सहयोग गरेको भन्दै अध्यक्ष चोङबाङले धन्यवाद व्यक्त गरिन् ।
उपस्थित सहभागीहरुलाई वरिष्ठ उपाध्यक्ष इन्दु गुरुङ लामिछानेले स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन् । आदिवासी भनेको केवल जाति मात्र नभएर हाम्रो इतिहास, भाषा, कला, संस्कृति र परम्पराको पहिचान भएको बताउँदै जहाँ गए पनि हाम्रो भाषा , संस्कार र संस्कृति, पहिचान र हाम्रो जरासँग युवा पुस्तालाई जोडेर राख्नुपर्नेमा इन्दु गुरुङको जोड छ । अधिकारकर्मी नर्वदा क्षेत्रीले यो कार्यक्रमले महिलाहरुलाई स्वतन्त्र भएर आफ्नो अनुभव साझा गर्न र आत्मविश्वास बढाउँदै सामाजिक रुपमा घुलमिल गराउनको लागि महत्वपूर्ण रहेको बताइन् । अधिकारकर्मी क्षेत्रीले सहभागी महिला दिदीहरुलाई प्रोत्साहन गर्दै यो कर्मभूमीको आँगन बोलको गीत प्रस्तुत गरिन् ।कार्यक्रमको पहिलो सत्रमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका महासचिव सुमन थाम्सुहाङले शुभकामना व्यक्त गर्दै आदिवासी महिलाको बारेमा शशक्त कविता वाचन गरेका थिए । फिप्नाका वरिष्ठ उपाध्यक्ष तथा किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष शम्भु राईले आदिवासी चेतना नखुलेको सन्दर्भमा व्यंग्यात्मक कविता वाचन गरेका थिए । त्यस्तै अधिकारकर्मी पुर्ण लिम्बुले विद्यालयमा नेपाली भाषा सिकेपछि लिम्बु भाषा र संस्कृति बिर्सेको तितो अनुभव सँगालेको म को हुँ भन्ने शिर्षकमा कविता वाचन गरेका थिए । तामाङ सोसाइटी अमेरिकाका प्रतिनिधी तथा समाजसेवी इन्द्र बहादुर तामाङले शुभकामना व्यक्त गर्दै फिवनाले गरेको कामको प्रशंसा गरे । नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष बसन्ती राइले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै बोल्ड एक्सन फर सोसल एजुकेशन (बेस) इन्टरनेश्नलको संस्थापक अध्यक्ष तथा फिप्नाका निवर्तमान महासचिव दिपक चौधरीले नेपाली महिलालाई श्रोतको उपयोग गर्दै महिलाको शशक्तिकरणका लागि शिक्षामुलक कार्यक्रम गरेकोमा प्रशंसा गरे । पुरुषको सफलतामा महिलाको ठुलो हात रहेको चर्चा गरे । ओपन माइक फर केयरगिभर सेसनमा फिवनाका आजीवन सदस्य तथा द गुरुङ (तमु) सोसाईटीका महासचिव मच्छेदेवी गुरुङले आदिवासीको पहिचान जोगाउनका लागि आफ्नो मात्रृ भाषा जोगाउनु पर्नेमा जोड दिइन् । नयाँ पुस्तालाई आफ्नो मातृभाषा सिकाए मात्र पहिचान र आदिवासी संस्कार, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न सकिने गुरुङको भनाइ छ । फिवनाका आजीवन सदस्य आभा श्रेष्ठले कविता वाचन गरेका थिए । ओपन माइक फर केयरगिभर सेसनमा महिला दिदीबहिनीहरुको आफ्नो अनुभव साझा गरे । घरको चौघेरा र काममा मात्र सीमित महिला दिदीबहिनीहरुले कसैले गीत गाए, कसैले कविता वाचन गरे, कसैले अनुभव साझा गरे, कसैले ध्यानको बारेमा बोले, उनीहरुले महिलाको आवाज र अनुभवलाई साझा मात्रै गरेनन्, अरुलाई पनि बोल्न प्रोत्साहन दिए, आफ्नो दुख, संघर्ष र अनुभवले पाएको संघर्षको कथा, सिकाई र भोगाईले पाएको शिक्षाले अरुलाइ पनि बोल्न प्रेरित गरयो । महिलाले घर, काम सम्हाल्दै बटुलेको शिक्षा वास्तवैमै पे्ररणादयी थियो । कार्यक्रमको ओपन माइक भएकोले चिट्ठामार्फत वक्ताहरुलाई छनौट गरिएको थियो । ओपन माइक सेसनमा सभासद तथा ब्लड डोनर्स एशोशिएसन न्यू योर्कका उपाध्यक्ष शान्ति जिरेलले मुर्चुङ्गा बाजा बजाएर आफ्नो प्रतिभा साझा गरिन् । समाजसेवी विन्दा राई, फाइनासिन्सयल एड्भाइजर श्रद्धा मल्ल ठकुरी, राधिका श्रेष्ठ लगायतले फिवनाको १६ औं बार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै महिला अधिकार र महिला शशक्तिकरणमा जोड दिए । कार्यक्रमको सञ्चालन फिवनाका सचिव इन्दिरा राईले गरेकी थिइन्। सचिव राईले आदिवासी महिलाको शक्तिको बारेमा शशक्त कविता समेत वाचन गरेकी थिइन् ।
कार्यक्रमलाई भव्य, अर्थपूर्ण र स्मरणीय बनाउन सहयोग पुर्याउने सम्पूर्ण समुदायका अग्रज तथा नेतृत्वकर्ताहरू, फिवनाका कार्यसमिति सदस्यहरू, प्रस्तुतकर्ताहरू, सहभागीहरू, अतिथिहरू, स्वयंसेवकहरू, शुभचिन्तकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति अध्यक्ष चोङबाङले आभार व्यक्त गरिन् । भान्छा घरकी बिमला हमाललाई पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।








प्रतिक्रिया