२६ चैत २०८२, बिहिबार
Thu, Apr 9, 2026
SUBSCRIPTION

“हत्या”मा संलग्न एनवाइपिडी अफिसरलाई तुरुन्त बर्खास्त गर रोजारियो परिवारको माग

“हत्या”मा संलग्न एनवाइपिडी अफिसरलाई तुरुन्त बर्खास्त गर रोजारियो परिवारको माग

न्यू योर्क। परिवारले विन रोजारियोको “हत्या” भएको दोस्रो वर्ष पनि एनवाइपिडीका अफिसर साल्भाटोर अलोंगी र म्याथ्यु सियानफ्रोक्कोलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ।

परिवारले मेयर र एनवाइपिडीसमक्ष मानसिक स्वास्थ्य आपत्कालीन सेवाबाट प्रहरीलाई हटाउन पुनः माग गरेको छ। उनीहरूका अनुसार मानसिक स्वास्थ्य संकटमा रहेका युवाले उपचार खोज्दा पुलिसको हातबाट मारिने डर हुनु हुँदैन। परिवारले मेयर माम्दानीको चुनावी अभियानमा यो विषय एउटा प्रमुख प्रतिबद्धता रहेको पनि स्मरण गराएको छ।

अप्रिल १ (बुधबार) साँझ ६ बजे ज्याक्सन हाइट्स, क्विन्सको डाइभर्सिटी प्लाजामा उक्त माग दोहोर्‍याएको हो। परिवारका साथै समर्थकहरूले एनवाइपिडी कमिस्नर जेसिका टिस र मेयर जोहरान माम्दानीसँग प्रहरी अधिकारी अलोंगी र सियानफ्रोक्कोलाई तत्काल कारबाही गर्न माग गरे।

कार्यक्रममा क्विन्सको बंगलादेशी क्रिश्चियन समुदायका सदस्य, जाबेज चक्रवर्तीको परिवार, ड्रम (देसिस राइजिङ अप एन्ड मुभिङ) र एनवाइसी पब्लिक एड्भोकेट जुमानी विलियम्स सहभागी थिए। रोजारियो परिवारले दुई वर्षदेखि न्याय र जवाफदेहिताका लागि लड्दै आएको पीडा सार्वजनिक रूपमा राखेको थियो।

परिवारका अनुसार मार्च २०२४ मा प्रहरी अधिकारी अलोंगी र सियानफ्रोक्कोले १९ वर्षीय बंगलादेशी किशोर विन रोजारियोलाई उनकी आमा र कान्छो भाइको अगाडि टेजर प्रहार गरेपछि कम्तीमा पाँच पटक गोली हानेका थिए। यो घटना अलोंगी र सियानफ्रोक्को  घरभित्र प्रवेश गरेको दुई मिनेटभित्रै भएको बताइएको छ। परिवारले ती दुवै अधिकारी अझै पनि औपचारिक रूपमा एनवाइपिडीमा कार्यरत रहेको र गत वर्ष उनीहरूले संयुक्त रूपमा २ लाख ५० हजार डलरभन्दा बढी तलब लिएको दाबी गरेको छ।

रोजारियो परिवारले मेयर र एनवाइपिडीसमक्ष मानसिक स्वास्थ्य आपत्कालीन सेवाबाट प्रहरीलाई हटाउन पुनः माग गरेको छ। उनीहरूका अनुसार मानसिक स्वास्थ्य संकटमा रहेका युवाले उपचार खोज्दा पुलिसको हातबाट मारिने डर हुनु हुँदैन। परिवारले मेयर माम्दानीको चुनावी अभियानमा यो विषय एउटा प्रमुख प्रतिबद्धता रहेको पनि स्मरण गराएको छ।

प्रहरी अधिकारी अलोंगी र सियानफ्रोक्कोले १९ वर्षीय बंगलादेशी किशोर विन रोजारियोलाई उनकी आमा र कान्छो भाइको अगाडि टेजर प्रहार गरेपछि कम्तीमा पाँच पटक गोली हानेका थिए। यो घटना अलोंगी र सियानफ्रोक्को  घरभित्र प्रवेश गरेको दुई मिनेटभित्रै भएको बताइएको छ।

सेप्टेम्बर २०२५ मा एनवाइसी सिभिलियन कम्प्लेन्ट रिभ्यु बोर्ड (सिसिआरबी)ले विन रोजारियोको हत्यामा संलग्न ती दुई प्रहरी अधिकारीविरुद्ध दुराचरणसम्बन्धी आरोपलाई पुष्टि गरेको थियो। सिसिआरबीको निर्णय एनवाइपिडीले अलोंगी र सियानफ्रोक्कोलाई औपचारिक रूपमा बुझाइसकेको भए पनि अझै अनुशासनसम्बन्धी प्रक्रिया सुरु भएको छैन। परिवारले उक्त प्रक्रिया कहिले सुरु हुन्छ भन्नेबारे पनि कुनै जानकारी नपाएको जनाएको छ।

“दुई वर्ष बितिसक्यो भन्ने मलाई विश्वास लाग्दैन। अझै पनि प्रहरीले सजाय पाएका छैनन्। उनीहरूले अझै तलब पाइरहेका छन्। तर विनलाई गुमाएपछि हामीले भोगिरहेको गहिरो पीडा र दुःख म शब्दमा भन्न सक्दिनँ,” रोजारियोकी आमा नोटन इभा कोस्टाले भनिन्, “आज म यत्ति भन्न चाहन्छु, बिरामी अवस्था वा मानसिक स्वास्थ्य संकटका घटनामा प्रहरी पठाइनु हुँदैन। यी प्रणालीहरू बदलिनुपर्छ। नत्र मेरो जस्तै धेरै परिवारले यही शून्यता र शोक बोकेर बाँच्नुपर्छ।”

उनले थप भनिन्, “मानिसहरू ९११ मा सहयोग माग्न फोन गर्छन्। तर यही खराब प्रणालीका कारण अहिले धेरै ९११ मा फोन गर्न डराउँछन्। म सम्बन्धित अधिकारीहरूलाई यो प्रणाली सुधार्न र जनतासँगको विश्वास पुनः जित्न गर्न आग्रह गर्छु।”

कोस्टाले जाबेज चक्रवर्तीको परिवारको घटनालाई पनि जोडिन्। उनले भनिन्, “जाबेज चक्रवर्तीको परिवारले सहयोगका लागि ९११ मा फोन गर्दा सहयोग पाएनन्। उनीहरूको छोराका लागि विशेष खालको सहयोग उपलब्ध हुनुपर्थ्यो। तर यो प्रणालीले त्यस्तो अवसर दिँदैन। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी प्रतिक्रियाबाट प्रहरीलाई अलग गर्न जरुरी छ।”

जाबेज चक्रवर्तीका बुवा हेक्टर चक्रवर्तीले पनि कार्यक्रममा बोल्दै आफ्नो परिवारले भोगिरहेको पीडा सुनाए। २२ वर्षीय जाबेजलाई परिवारले मेडिकल ट्रान्सपोर्टका लागि सहयोग मागेपछि घरभित्रै एनवाइपिडी अफिसरहरूले चार पटक गोली हानेका थिए। हेक्टर चक्रवर्तीले भने, “प्रहरी हाम्रो घरभित्र आएको र मेरो छोरामाथि गोली चलाएको दुई महिना भयो। जाबेज उपचारको हकदार छ। उसले सम्मानयुक्त व्यवहार पाउनुपर्छ। उसले सुरक्षित वातावरणमा निको हुने अवसर पाउनुपर्छ।”

उनले थपे, “संसारकै सबैभन्दा धनी देशमा बसेर पनि मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका मानिसहरूका लागि अझ राम्रो समाधान किन छैन?” उनका अनुसार मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका मानिसका लागि प्रहरी, बन्दुक र हिंसा समाधान होइन। “विन रोजारियो आज जीवित हुनुपर्थ्यो। जाबेज हिँड्न सक्ने अवस्थामा हुनुपर्थ्यो,” उनले भने। 

ड्रमका एक्जिक्युटिभ डाइरेक्टर फाहद अहमदले गत वर्ष नै सिसिआरबीले आरोप दर्ता गरिसकेको अवस्थामा पनि अफिसर अलोंगी र सियानफ्रोक्कोलाई जवाफदेहि नबनाइनु हास्यास्पद भएको बताए। “अनुशासन ट्रायल धेरै पहिल्यै सुरु हुनुपर्थ्यो। मेयर र पुलिस कमिस्नरले आखिर कस्तो सन्देश दिन खोजिरहेका छन्? कसैलाई मार्न सकिन्छ र कुनै परिणाम भोग्नुपर्दैन भन्ने सन्देश हो?,” उनले प्रश्न गरे।

“जवाफदेहिताका लागि विन रोजारियोजस्ता कति जीवन एनवाइपिडीले अझै खोस्ने हो?,” अहमदले थपे, “प्रहरीको सट्टा साँच्चिकै प्रशिक्षित मानसिक स्वास्थ्य प्रतिक्रिया टोली खडा गरिने? विन रोजारियोलाई मार्ने अफिसरहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्छ।”

विन रोजारियो परिवारका कानून व्यवसायी संस्था बेलडक, लेभिन एन्ड हफम्यानकी वकिल लुना द्रौबीले भनिन्, “विन रोजारियो आज जीवित हुनुपर्थ्यो। उनको मृत्यु सिटीमाथि लागेको त्यस्तो गम्भीर अभियोग हो, जुन जानु नपर्ने ठाउँमा प्रहरी पठाउँदा भएको हो। रोजारियो परिवार जवाफदेहिता र न्यायको हकदार छ। र न्यू योर्कवासी प्रणालीगत परिवर्तनमार्फत सुरक्षाको हकदार छन्।”

विन रोजारियोलाई क्विन्सको ओजोन पार्कस्थित घरमा उनकी आमा र कान्छो भाइको अगाडि मार्च २७, २०२४ मा एनवाइपिडी अफिसर साल्भाटोर अलोंगी र म्याथ्यु सियानफ्रोक्कोले गोली हानेका थिए। परिवारका अनुसार ती प्रहरी अधिकारीहरू घरभित्र प्रवेश गरेको दुई मिनेट नबित्दै उनीमाथि कम्तीमा पाँच पटक गोली चलाइएको थियो। त्यतिबेला उनकी आमाले अफिसरहरूलाई गोली नचलाउन विन्ती गरेकी थिइन्।

अलोंगी र सियानफ्रोक्कोले विनलाई शान्त उभिएको र हातमा केही पनि नभएको अवस्थामा कुनै चेतावनी बिना टेजर प्रहार गरेको परिवार र समर्थकहरूको आरोप छ। त्यसपछि स्तिथि भड्किएको र त्यसलाई पर्याप्त समय हुँदाहुँदै शान्त पार्ने प्रयास नगरेको आरोप परिवारको छ। गोली चलाउँदा आमाबाबु र भाइ नजिकै भएकाले उनीहरूको ज्यानसमेत जोखिममा परेको दाबी गरिएको छ।

घटनापछि एनवाइपिडी अफिसरहरूले विनकी आमा र कान्छो भाइलाई अस्पताल जान नदिई प्रिसिन्टमा लगेर सोधपुछ गरेको पनि परिवारले आरोप लगाएको छ। कोस्टालाई वकिलबिनै लामो समयसम्म सोधपुछ गरिएको र त्यसपछि मात्र उनको छोरा मरेको जानकारी दिइएको बताइएको छ। १७ वर्षीय भाइलाई पनि एक्लै सोधपुछ गरिएको थियो। परिवारले दुई दिनभन्दा बढी समय घरमा फर्किन नपाएको, औषधि लिन, सामान निकाल्न वा बिरालोलाई खाना खुवाउनसमेत अनुमति नदिइएको जनाएको छ।

ड्रमको विज्ञप्तिअनुसार प्रहरीले घटनामा संलग्न अफिसरहरूको नाम  एक महिनाभन्दा बढी समयसम्म सार्वजनिक गरेन। उनीहरूको नाम पहिलो पटक मे ३, २०२४ मा एटर्नी जनरलको कार्यालयले अफिसरहरूको बडी क्यामेरा फुटेज सार्वजनिक गरेपछि खुलाइएको थियो। तत्कालीन मेयर एरिक आडम्सले पनि घटनाबारे पहिलो र एकमात्र सार्वजनिक प्रतिक्रिया त्यही फुटेज सार्वजनिक भएपछि र पत्रकारले प्रश्न गरेपछि मात्रै दिएका थिए।

पछिल्लो डेढ वर्षदेखि रोजारियो परिवारले जस्टिस कमिटी, ड्रम र अन्य समर्थकसँग मिलेर अलोंगी र सियानफ्रोक्कोलाई एनवाइपिडीबाट हटाउन र न्युयोर्क स्टेट एटर्नी जनरलसँग उनीहरूमाथि अभियोजन चलाउन माग गर्दै आएको छ। परिवारले सहरको मानसिक स्वास्थ्य सङ्कट्मा प्रहरी सङ्लग्नता हटाउन पनि निरन्तर माग गर्दै आइरहेको छ।

गत सेप्टेम्बर १९ मा सिसिआरबीले अलोंगी र सियानफ्रोक्कोविरुद्ध अत्यधिक बल प्रयोग र अधिकार दुरुपयोगसहित आठ वटा दुराचरण आरोप पुष्टि गरेको थियो। सिसिआरबीले दुवै अफिसरविरुद्ध “चार्जेस एन्ड स्पेसिफिकेसन्स” दर्ता गरेको थियो, जुन अफिसरहरूमाथिको सबैभन्दा उच्च तहको अनुशासनात्मक कारबाही मानिन्छ। तर औपचारिक अनुशासन कारवाही प्रक्रिया अझै सुरु भएको छैन। हाल रोजारियो परिवार सिसिआरबीले अनुशासन ट्रायलको मिति तोक्ने प्रतीक्षामा रहेको छ।

प्रतिक्रिया