न्यू योर्क। मिनेसोटाको मिनियापोलिसमा आइस एजेन्टको गोलीबाट ३७ वर्षीया रेनी निकोल गुडको मृत्यु भएपछि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शन न्यू योर्क सिटी, लस एन्जेलस, सान फ्रान्सिस्को, क्यालिफोर्निया लगायतका शहर र राज्यसम्म फैलियो। दर्जनौ स्थानमा सानातिना प्रदर्शन भयो।
गुडलाई जनवरी ७, २०२६ मा उनी बसेको गाडीमै गोली हानिएको थिइयो। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले गुडले एजेन्टहरूलाई “गाडी हतियार” बनाएर ठक्कर दिन खोजेकाले प्रतिरक्षामा गोली चलाएको दाबी गरेको छ। तर मिनियापोलिसका मेयर ज्याकब फ्रे र राज्यका नेताहरूले भिडियोले त्यो दाबी गलत ठहर गर्नेभन्दै “प्रोपागान्डा” गरेको आरोप लगाएका छन्।
भिडियोको “फ्रेम–बाइ–फ्रेम” समीक्षा उल्लेख गर्दै केही रिपोर्टले गुडको गाडी केहीबेर पछाडि हटेको र त्यसपछि अगाडि बढ्दै एजेन्टहरूबाट टाढिँदै गएको देखिने बताएका छन्। सो क्रममा एजेन्टले गाडीको दिशातर्फ गोली चलाएको देखिन्छ।
घटनापछि “मेडिकल सहयोग ढिला गरियो” भन्ने नयाँ आरोप पनि उठेको छ। प्रत्यक्षदर्शीहरूको भनाइअनुसार फेडेरल अफिसरहरूले सडकमा गाडी तेस्र्याएर एम्बुलेन्सलाई नजिक आउन कठिन बनाएको र “हाम्रो आफ्नै मेडिक्स छन्” भन्दै केहीलाई रोकिएको दाबी गरिएको छ।
अनुसन्धानलाई लिएर पनि तानातान भइरहेको छ। मिनेसोटा ब्युरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) का प्रमुख ड्रु इभान्सले फेडेरल निकायले प्रमाणमा पहुँच नदिँदा राज्यस्तरबाट पूर्ण अनुसन्धान गर्न नसकिने बताएका छन्। फेडेरल पक्षले भने “जुरिस्डिक्शन” को विषय उठाएको छ।
सडकमा भने आक्रोश बढ्दै गएको छ। मिनियापोलिसमा गोली लागेको स्थान र ह्विपल फेडेरल बिल्डिङ वरिपरि प्रदर्शन हुँदा केही ठाउँमा “केमिकल इरिटेन्ट” प्रयोग भएको, धकेलाधकेल भएको र कम्तीमा तीन प्रदर्शनकारी पक्राउ परेको रिपोर्ट छ। मिनियापोलिस सिटीले आपतकालीन सेवा प्रभावित हुने भन्दै सडक अवरोध हटाइरहेको छ। तर, सिटीले मेमोरियल नहटाइने प्रष्ट पारेको छ।





प्रतिक्रिया