न्युयोर्क। इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) ले न्युयोर्क सिटी काउन्सिलका एक कर्मचारीलाई पक्राउ गरेको छ। उनलाई आईसले जनवरी १२ मा नियमित इमिग्रेसन अपोइन्टमेन्टका क्रममा पक्राउ गरेको हो।
घटना लङ आइल्याण्डको बेथपेज, नासा काउन्टीमा भएको हो। सिटी काउन्सिल र सिटी हलले यसलाई “गम्भीर” विषय भनेका छन्। सिटी काउन्सिल स्पिकर जुली मेनिनका अनुसार ती कर्मचारी नियमित प्रक्रियाअनुसार अपोइन्टमेन्टमा उपस्थित भएका थिए। त्यही बेला आईसले उनलाई नियन्त्रणमा लिए।

मेनिनले उनको कानुनी अनुमति अक्टोबरसम्म रहेको दाबी गरिन्। उनले संघीय निकायसँग छिटो र पारदर्शी जवाफ माग गरिन्। मेयर जोहरान ममदानीले पनि सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। उनले आफू “आक्रोशित” भएको बताएका छन। उनले कर्मचारीलाई तुरुन्त रिहा गर्न माग गरेका छन।
विभिन्न रिपोर्टले पक्राउ परेका व्यक्ति राफाएल आन्द्रेस रुबियो बोहोरकेज भएको जनाएका छन। उनी भेनेजुएलन नागरिक भएको उल्लेख छ। उनी न्युयोर्क सिटी काउन्सिलमा डेटा एनालिस्टका रूपमा काम गरिरहेका थिए।
यो घटनामा सिटी काउन्सिल र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) को दाबी फरक छ। काउन्सिल पक्षले उनको बसोबास र काम गर्ने अनुमति अक्टोबरसम्म रहेको बताएको छ। उनी नियम पालना गर्दै अपोइन्टमेन्टमा पुगेका थिए भन्ने भनाइ छ।
डीएचएस पक्षले भने अर्कै दाबी गरेको छ। डीएचएसकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले ती कर्मचारीले २०१७ को बी टू टुरिस्ट भिसा ओभरस्टे गरेको भनेकी छन। उनले हाल वर्क अथराइजेसन नभएको दाबी गरेकी छन। साथै, उनले विगतमा आक्रमण अभियोगमा गिरफ्तारी सहित आपराधिक पृष्ठभूमि रहको भनेकी छन।
स्थानीय रिपोर्ट अनुसार उनलाई म्यानहटनतर्फ सारिएको छ। समर्थक र काउन्सिल सदस्यहरूले लोअर म्यानहटनको भ्यारिक स्ट्रिट नजिक प्रदर्शन गर्ने तयारी गरेको ती रिपोर्टहरूमा उल्लेख छ।
यो घटना देशभर इमिग्रेसन इन्फोर्समेन्टको तरिकाबारे बहस चलिरहेका बेला आएको हो। यतिबेला विशेष गरी “रुटिन चेक-इन” मा आउने मानिसहरू पक्राउ पर्ने डर बढ्ने भन्दै आलोचना भइरहेको छ। सिटीका नेताहरूले यसले नियम पालना गर्ने मानिसहरूलाई नै निरुत्साहित गर्ने चेतावनी दिएका छन्।





प्रतिक्रिया