न्यू योर्क। फेडेरल इमिग्रेशन अफिसरहरूले गोली चलाउँदा ओरेगनको पोर्टल्यान्डमा दुई जना घाइते भएका छन्। घटना बिहीबार दिउँसो (जनवरी ८, २०२६) भएको हो। गोली कस्टम्स एण्ड बोर्डर पेट्रोल (सीबीपी) का अधिकारीहरूले चलाएको बताइएको छ।
अधिकारीहरूका अनुसार एडभेन्टिस्ट हेल्थ हस्पिटल नजिक गोली चलेको हो। पोर्टल्यान्ड पुलिसले घटनास्थलमा एक पुरुष र एक महिलालाई गोली लागेको अवस्थामा फेला पारेर प्राथमिक उपचारपछि हस्पिटल पुर्याएको जनाएको छ। दुवै जना जीवित रहेको विश्वास गरिए पनि अवस्था तत्काल खुलाइएको छैन।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले घटना एक भेनेजुएलान नागरिकसँग सम्बन्धित भएको र उनी “ट्रेन दे आराग्वा” सँग जोडिएको दाबी गरेको छ। डीएचएसका अनुसार गाडी चालकले किच्न खोजेपछि ‘सेल्फ-डिफेन्स’ मा अफिसरहरूले गोली चलाएका हुन्।
एफबीआईको पोर्टल्यान्ड अफिसले “शुटिङ” को अनुसन्धान भइरहेको जनाएको छ। ओरेगन अटर्नी जेनेरल ड्यान रेफिल्डले पनि फेडेरल अफिसरहरूको कारबाही कानुनसम्मत थियो कि थिएन भन्नेबारे आफ्नो कार्यालयले जाँच गरिरहेको बताएका छन्।यसैबीच पोर्टल्यान्ड मेयर कीथ विल्सनले सिटीमा हुने फेडेरल इमिग्रेशन अपरेसनहरू रोक्न माग गरेका छन्। घटनापछि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) फ्यासिलिटी बाहिर प्रदर्शनसमेत भएको बताइएको छ।





प्रतिक्रिया