०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपाली समाज टेक्सासको उपाध्यक्षमा दिलिप राईको उम्मेद्वारी

"यो संस्था नेपाली समाज टेक्सास बाट नेपाली समाज अमेरिका बन्न सक्छ," उनले भने "च्याप्टर खोलेर विभिन्न राज्यमा रहेका नेपालीलाई यसमा गोलबद्ध गर्न सकिन्छ। म त्यसका लागि पहल गर्छु।"
नेपाली समाज टेक्सासको उपाध्यक्षमा दिलिप राईको उम्मेद्वारी

टेक्सास। नेपाली समाज टेक्सासको उपाध्यक्षमा समाजसेवी तथा व्यवसायी दिलिप राईले उम्मेद्वारी दिएका छन्। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए), टेक्सासको दुई कार्यकाल अध्यक्ष रहिसकेका राईले खुला उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन्। 

"केआरएसए टेक्सासको अध्यक्षका रुपमा काम गरिरहँदा नेपाली समाज टेक्साससँग नजिकबाट काम गर्ने अवसर मिल्यो," आफ्नो उमेदवारीबारे राईले भने "समाज सेवा गर्ने हुटहुटी त थियो नै, नेपाली समाज टेक्सासका साथीहरूले तपाईँ जस्तो मान्छे समाज चाहिन्छ भन्नुभएपछि उपाध्यक्षको उम्मेद्वार भएको हुँ।"

राईले पहिला देखिनै नेपाली समाज टेक्सासका पदाधिकारीहरूबाट समाजमा जोडिन आग्रह गरिएको बताए। "केआरएसएको अध्यक्ष रहेकै बेला नेपाली समाज टेक्सासमा आवद्ध हुनु राम्रो हुँदैन थियो। आखिर गर्ने समाजका लागि हो, दुवै ठाउँमा खुट्टा राखेर हुँदैन। पदका लागि गरेको जस्तो देखिन्छ," उनले भने, "अहिले केआरएसएको कार्यकाल सकेर बसेका बेला साथीहरूले फेरी बोलाउनु भयो।" 

राईले उपाध्यक्षमै उम्मेद्वारी दिनुको कारणबारे भने, अमेरिकाको टेक्सास, न्यू योर्क र अन्य राज्यमा विधिवत रुपमा सक्रिय दुई दशक पुरानो र एउटा ठूलो संस्था किरात राई सोसाइटीको नेतृत्व गरिसकेकाले ग्रासरुटबाटै जाने भन्ने त भएन। तर, नेतृत्वमै जान पनि समाजभित्र बसेर काम गरेको र समाजले कसरी काम गर्दै आएको छ भन्ने पूर्ण रुपमा बुझेको अवस्था पनि रहेन। त्यही भएर उपाध्यक्षमा उम्मेद्वारी दिएको हुँ।"  

राई विजय भुसालको टिमबाट उपाध्यक्ष पदमा उठेका हुन्। उनी "बहुभाषी, बहुजाति, बहुसंस्कृतिको एकता, सबल, सुदृढ, र समावेशी नेपाल समाज टेक्सासको आवश्यकता" नारा सहित प्रचार प्रसारमा होमिएका छन्। “कुनै पनि समाज बिभिन्न थरीका जात जाती र बानी व्यवहार भयका व्यक्ति व्यक्ति मिलेर बनेको हुन्छ र त्यो समाजलाई गतिशील र दिशाबोध गराउन एक सक्षम अनुभवी र असल चरित्रवान् ब्यक्तिको आवश्यकता पर्दछ," आफ्नो नारा र समाजसेवा बारे उनी भन्छन्, "जो दूरदर्शी र पारदर्शी हुन्छ, जसले अरुको खोसेर होइन आफ्नो भाग बाँडेर खान्छ, जसले समाजमा घटेका घटनाहरूलाई नजिकबाट नियालेर समाधानको खोजी गर्दछ, जो व्यक्तिगत लाभलाई टाढा राखेर निस्वार्थ भावनाले सामाजिक विकासको निरन्तर खोजी गरिरहन्छ, जसले समाज सम्पूर्ण जातजाति, भाषा, संस्कार र संस्कृतिको एक सङ्गम हो भनेर बुझेको हुन्छ र सबै खाले संस्कृतिको पहिचान गरी समावेशी निर्णयको आधारमा समाजलाई उन्नतिको शिखरमा लैजान सक्छ भन्ने हो।” 

१९९९ को ब्याचमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका राई किरात राई विद्यार्थी संघका एकजना संस्थापक सदस्य हुन्। उनले किरात राई विद्यार्थी संघको त्रिभुन विश्वविद्यालयमा सचिवको भुमिकामा समेत काम गरेका थिए। २००२ मा अमेरिका आएपछि पनि उनले धेरै नेपालीलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन्। 

उनले अध्यक्ष पदका उम्मेद्वार नभएकाले आफ्नै अलग एजेण्डा नभएको बताए । उनले भने, "अध्यक्ष पदका उम्मेद्वार विजय भुसाल र टिमको अल्पकालीन र दीर्घकालीन एजेण्डा छन्। त्यो नै हाम्रो भिजन र मिसन हो। ती एजेण्डामै काम गर्ने हो।" साथै, उनले नेपाली समाज टेक्सास गैरआवासीय नेपाली संघपछिको अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा ठूलो सामाजिक संस्था थप ब्यबस्थित गर्नु आवश्यक रहेको बताए। "यो संस्था नेपाली समाज टेक्सास बाट नेपाली समाज अमेरिका बन्न सक्छ," उनले भने "च्याप्टर खोलेर विभिन्न राज्यमा रहेका नेपालीलाई यसमा गोलबद्ध गर्न सकिन्छ। म त्यसका लागि पहल गर्छु।" 

भुसाल र उनको टिमले यसअघि नै स्वास्थ्य, संस्कृति, सामाजिक, आर्थिक तथा रोजगारी, युवा सशक्तिकरणको तथा करिअर कोचिङ, शिक्षा र खेलकुद तथा युवा विकाससहित ७ क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन एजेण्डा सार्वजनिक गरिसकेको छ। कूल ६ हजार १ सय ६२ टेक्सासवासी नेपाली सदस्य रहेको यो संस्था १९९७ देखि टेक्सासमा सक्रिय छ। 

नेपाली समाज टेक्सासको २०२६ २७ कार्यसमिति चयनका लागि शनिबार (डिसेम्बर १३, २०२५) निर्वाचन हुँदैछ। निर्वाचनका लागि प्रचार प्रसार समय बिहीबा मध्य रातसम्म हुनेछ। त्यसपछि शुन्य समय सुरु हुनेछ जसमा उमेद्वारले प्रचार प्रसार गर्न पाउने छैनन्। 

सानैदेखि गाउँमा क्लब सञ्चालन गरेर होस वा नाटक लेखेर वा देउसी भैलो कार्यक्रम संयोजन गरेर, दिलिप राई सामाजिक रुपमा सक्रियमा रहने गरेको उनलाई चिन्नेहरु बताउँछन्। १९९९ को ब्याचमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका राई किरात राई विद्यार्थी संघका एकजना संस्थापक सदस्य हुन्। उनले किरात राई विद्यार्थी संघको त्रिभुन विश्वविद्यालयमा सचिवको भुमिकामा समेत काम गरेका थिए। २००२ मा अमेरिका आएपछि पनि उनले धेरै नेपालीलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन्। उनले काम नपाएका वा समस्यमा रहेका दर्जर्नौ नेपालीलाई रोजगारी मिलाइदिएका छन्। आफ्नै घरमा महिनौं निःशुल्क बस्न र खान दिएका छन्। ड्राइभिङ लगायतका प्रशिक्षण तथा अमेरिका आएपछि वैधानिकता प्राप्तिका लागि गर्नुपर्ने प्रक्रियामा सहयोग गरेका छन्। 

 

प्रतिक्रिया