१५ मंसिर २०८२, आइतबार
Sun, Nov 30, 2025
SUBSCRIPTION

जोहरानद्वारा सहयोगको अपिल, सिटी हल ट्रान्जिसनका लागि ४ मिलियन डलर उठाउने लक्ष्य

जोहरानद्वारा सहयोगको अपिल, सिटी हल ट्रान्जिसनका लागि ४ मिलियन डलर उठाउने लक्ष्य

न्यू योर्क। मेयर–निर्वाचित जोहरन माम्दानीले सिटी हल प्रवेशअघि हुने "ट्रान्जिसन" खर्चका लागि ४ मिलियन डलर सङ्कलन गर्ने लक्ष्य राखेका छन्। त्यसका लागि सहयोग गर्न उनले सर्वसाधारण समक्ष अपिल गरेका छन्।

उनले सुरु गरेको अभियानले करिब दुई हप्तामै १ मिलियन डलरभन्दा बढी उठाइसकेको छ। माम्दानीको टिम अनुसार हालसम्म १२ हजार ७०७ जनाले रकम दिएको छ। प्रति व्यक्तिको औसत योगदान करिब ७७ डलर ६५ सेन्ट रहेको छ। यी सबै सानासाना अनुदान वेब पोर्टल ट्रान्जिसन२०५डटकम मार्फत आएका हुन्। उनले यही वेबसाइटमार्फत सिटी जबका लागि आवेदन पनि खुलाएका छन्। सर्वसाधारणले अझ पनि जागिरका लागि आवेदन दिन सक्छन्।

माम्दानीले सोसल मिडियामा भिडियो सन्देश जारी गर्दै समर्थकलाई फेरि सहयोग मागेका हुन्। चुनाव प्रचारको अन्तिमतिर “अब पैसा नपठाउनुहोस्” भनेको याद दिलाउँदै उनले भनेका छन्, अब ट्रान्जिसनका लागि “जति सक्नुहुन्छ त्यति सहयोग गर्नुस्।”

यो रकम मेयरको ट्रान्जिसन कार्यालय चलाउन, नीति तयार पार्ने टिम खडा गर्न र नयाँ प्रशासनका लागि मान्छे छनोट गर्न प्रयोग हुनेछ। माम्दानीको आधिकारिक साइटका अनुसार अहिले नै करिब ५० हजारले उनको प्रशासनमा काम गर्न आवेदन दिएका छन्, जसको छानबिन र छनोटका लागि ठूलो स्रोत चाहिन्छ।

साथै, यही रकमले उद्‌घाटन समारोह र सहरभर हुने सार्वजनिक कार्यक्रम पनि धान्नेछ। माम्दानीले “जनवरी १ देखि तयारी मात्रै होइन, काम नै सुरु गर्ने” लक्ष्य राखेका छन्। त्यसैले नीतिगत तयारी र प्राविधिक संरचना बनाउन अग्रिम लगानी आवश्यक रहेको उनको टोलीको भनाइ छ।

न्युयोर्क सिटीको कानुन अनुसार निर्वाचन जितेका उमेदवारले ट्रान्जिसन र उद्घाटन खर्चका लागि छुट्टै ट्रान्जिसन एन्ड इनअगुरेशन इन्टिटी (टीईआई) दर्ता गर्नुपर्छ। प्रचार अभियानको खाताबाट यो खर्च चलाउन पाइँदैन। त्यस्तै, ट्रान्जिसनको योगदानमा सार्वजनिक “म्याचिङ फन्ड” पनि नआउने भएकाले सबै रकम निजी स्रोतबाट उठाउनुपर्छ।

अघिल्ला मेयरहरूले पनि यस्तै गरी पैसा उठाएका थिए। मेयर एरिक आडम्सले २०२१ को ट्रान्जिसन र उद्घाटनका लागि करिब १ देखि १.२ मिलियन डलर सङ्कलन गरेका थिए, जसमा करिब ५३० जना दाताले ठूला रकम दिएको तथ्याङ्क सार्वजनिक छ। माम्दानीको अभियानमा भने हजारौँ साना दाताहरूको औसत करिब ७८ डलरको योगदान देखिएको छ, जसलाई उनी “जनताले चलाएको ट्रान्जिसन” भन्दै प्रचार गरिरहेका छन्।

तर यस अभियानबारे आलोचना पनि देखिएको छ। चुनाव जितेको केही दिनमै फेरि पैसा मागेको भन्दै सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले प्रश्न उठाएका छन्। उनीहरूका अनुसार, माम्दानीले “धनीमाथि कर, गरिबलाई राहत” भन्ने नारा दिएको हुँदा समर्थकसँग पुनः चन्दा माग्नु विरोधाभासी देखिन्छ भनेका छन्।

माम्दानीले भने आफ्नो अभियान र ट्रान्जिसन दुवै “साना दाताको बलमा चल्ने” स्पष्ट बताएका छन्। उनका अनुसार, ठूला निगम र विशेष हितसमूहको भर पर्नुभन्दा सामान्य न्यू योर्कवासीको सानो सहयोगमा निर्भर रहनु नै उनको राजनीति र शासन शैलीको आधार हो।

ट्रान्जिसनको काम सुरु भइसकेको छ। ठूलो संख्यामा आएका आवेदनको छनोट र माम्दानीले वाचा गरेको रेन्ट फ्रिज, निःशुल्क सार्वजनिक बस र युनिभर्सल चाइल्ड केयर लगायतका सामाजिक सेवासम्बन्धी एजेन्डा कार्यान्वयनका प्रारम्भिक तयारी यही ट्रान्जिसनले नै तय गर्नेछ।

 

प्रतिक्रिया