न्यू योर्क । न्यूयोर्कको क्वीन्समा संचालित पहिलो नेपाली कराते स्कुल निहोन कराते डोको आयोजनामा “एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप” प्रतियोगिता आयोजना भएको छ । क्वीन्सको नरदनबुलेभर्डस्थित एल्मकोर सेन्टरको हलमा आइतबार दिनभर भएको प्रतियोगितामा दुई सय ३५ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेको आयोजक निहोन कराते डोका प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले बताए ।


प्रतियोगितामा न्यूयोर्ककासाथै न्यूजर्सी, पेन्सिलभेनिया, अलाबामा, भर्मन, मासचुसेट, ओहायो, मेरील्याण्ड लगायतका राज्यहरुबाट खेलाडिहरु सहभागी छन् भने क्यानाडा, भारत, चीन र कुबेतबाट समेत प्रतिस्पर्धीहरु सहभागी भएका थिए ।

प्रतियोगिता शुरुअघि बोल्दै न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाली समुदायका सदस्यद्धारा संचालित कराँते स्कुलद्धारा अमेरिकामा राज्यस्तरीय प्रतियोगिता संचालन हुनु नेपाली समुदायका लागि गर्वको विषय भएको बताए । प्रतियोगिता संचालनका लागि आयोजक शान्त थोकरले गरेको पहलप्रति आभार व्यक्त गर्दै सहभागी खेलाडि तथा अफिसियलहरुलाई उनले धन्यवाद दिएका थिए । यसैगरी आयोजक निहोन कराते डोका प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले सहभागि खेलाडि, कराँते स्कुलहरु र प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिए ।
प्रतियोगितामा ५ वर्षदेखि ४५ वर्षसम्म उमेर समूहका खेलाडिहरुले ६६ वटा स्पर्धाहरुमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काता र कुमुतेतर्फ गरी १३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । १३२ स्वर्णपदकसंगै १३२ रजत पदक र २६४ वटा काश्य पदक वितरण गरिने बताएको छ । यसैगरी प्रतियोगितामा एडभास्नतर्फका स्वर्ण विजयी खेलाडिहरुलाई २ हजार डलरको नगत पुरस्कार समेत वितरण गरिने आयोजक शान्त थोकरले जानकारी दिए ।
प्रतियोगिता संचालनका लागि कराते महासंघ अमेरिका, पान अमेरिका कराँते महासंघ, विश्व कराँते महासंघ लगायतका संस्थासंग ३५ जना रेफ्रीहरु सहभागी रहेका थिए । विगत दुई दशकदेखि न्युयोर्कको क्वीन्सस्थित उडसाइट र फरेष्टहिलमा संचालन हुँदै आएको निहोन कराते डो नेपालीले संचालन गरेको पहिलो कराँते स्कुल हो ।







प्रतिक्रिया