नयाँ सूचना र जानकारी हासिल गर्नु वर्तमान समयमा मानिसको दैनिकीको एक हिस्सा नै बनिसकेको छ । आफ्नो सरोकारका विषयहरुमा आवश्यक र नविन जानकारी हासिल गर्न पाउनु लोकतान्त्रिक मुलुक र समाजमा हरेक व्यक्तिको नैसिर्गिक अधिकार पनि हो। यो नैसर्गिक हकको उपभोगका लागि सूचना प्रविधिको विकासक्रमले हामीलाई थप सहज समेत बनाइदिएको छ। प्रविधिमा आएको यही विकासक्रमको उपयोग गर्दै नेपाली समुदायको सूचना भोग गर्ने नैसर्गिक हकलाई सहज र सुरक्षित बनाउने प्रयास हो एनवाइसिनेपालन्युजडटकम।
संयुक्त राज्य अमेरिकामा नेपाली समुदायको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। नेपाली अमेरिकन समुदायको बसोबास वृद्धिसंगै दैनिक जीवनसंग जोडिएका विविध सवालहरु मात्र हैन आर्थिक, राजनीतिक र सामाजिक सरोकारका विषयहरु गम्भीर ढंगले अगाडि देखि परेका छन्। अध्यागमन, समुचित रोजगार, गुणस्तरीय शिक्षा, सामाजिक–साँस्कृतिक प्रवर्धन जस्ता नियमित समस्यासंग जुद्दै आएका नेपाली समुदायमा पछिल्लो समय राज्यको श्रोतसाधानमा न्यून पँहुच, विकृति विसंगती तथा विभेदको शिकार, समुदायमै आन्तरिक बेमेल, बेरोजगार, घरबारविहीन जस्ता जटिल समस्याहरु समेत देखा पर्दै गएका छन। नेपाली समुदायको बहुल बसोबास रहेका राज्यहरुमा समेत नेपालीभाषालाई मान्यता स्थापित गर्न नसक्दा राज्यका सूचनाहरुबाट बेखबर त भएका छन् नै स्थानीय सरकारबाट प्रदान गरिने सुविधाभोगबाट पनि नेपाली समुदाय बन्चित हुनुपरेको अवस्था विद्यमान देखिन्छ।
नेपाली समुदायमा देखिएका यी सवाल र साझा सरोकारका बारेमा समुदायलाई सुसूचित गराउने र समाधानमा उत्प्रेरित गराउने तथा स्थानीयदेखि राज्य सरकारसम्म झक्झक्याउन सशक्त संचार माध्यमको रुपमा भूमिका खेल्ने हाम्रो मुख्य अभिप्राय हो। परदेशी भूमिमा नेपाली समुदायको गतिविधि, सरोकार र समस्याहरुको उजागर तथा समाधानमा उत्प्रेरित गर्नुका साथै परदेशमा रहेका हामी नेपालीलाई जम्मभूमिसंग जोड्ने सेतुको भूमिका खेल्ने हाम्रो अभियान हुनेछ।
यही अभिप्राय पुरा गराउने उदेश्यले विश्वको आर्थिक राजधानीको रुपमा रहेको न्यू योर्क शहरबाट नेपाली समुदायको सामुदायिक संचार माध्यम एनवाइसिनेपालन्युजडटकम मल्टिमिडिया समाचार वेभसाइट शुरु भएको हो। नेपालका प्रतिष्ठित राष्ट्रिय दैनिकहरु, टेलिभिजन तथा रेडियो पत्रकारितामा करिब डेढ दशकभन्दा बढीको अनुभव प्राप्त गरेका नेपाली पत्रकारहरुको पहलमा संचालनमा आएको यो अनलाईन पत्रिका पत्रकारिताको आधारभूत मुल्य मान्यतामा रही संचालन हुनेछ। स्वतन्त्र र सन्तुलित सामाग्री, अवाज विहीनहरुको आवाज तथा तथ्यमा टेकेर सत्य स्थापित गर्ने हाम्रो सदैव जोड रहनेछ। गोपनियताको हक, कानूनी सीमा तथा पत्रकारिताको अधिकार क्षेत्रलाई विषेश ध्यानमा राखेर यो अनलाइन पत्रिकाको विश्वसनीयता वृद्धिमा हामी सदैब लागिरहने छौं। सूचना प्रविधिमा आएको अविश्वासनीय विकासका कारण अस्तित्वमा आएका असंख्य डिजिटल पत्रिका र सामाजिक संजालका कारण सूचनाका उपभोक्ताहरु कतिपय अवस्थामा सही र गलत सूचना छुट्ट्याउन अन्योल भएको अवस्था पनि छ । हामी पत्रकारिताको लामो अभ्यासबाट आर्जन गरेको सीप र दक्षताको उपयोग गर्दै सही र तथ्य सूचना प्रवाह गरी समुदायको सशक्तिकरण गर्न संधै प्रयासरत रहनेछौं।
पहिलो प्रयासको रुपमा रहेको एनवाइसिनेपालन्युजडटकम सफलताको लागि एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क इंकको हरेक अभियानमा समेत हातेमालो गर्न सम्पूर्णमा हामी हार्दिक आह्वान समेत गर्दछौं ।
अमेरिकामा पनि नेपालीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा नेपाली अनलाईन पत्रिकाहरुको संचालनमा आउनु नौलो कुरा नहुन सक्छ। अझ विषेश गरी न्यूयोर्कमा नेपाली संचारमाध्यम संचालनको प्रयासहरु यसअघि पनि निकै भएको अनुभव यहाँहरुसंग नै छ। व्यक्तिगत र निजी तहमा भएका ती प्रयासहरु मध्ये अधिकांश अस्तत्वविहिन भइसकेका छन्। यो यथार्तलाई मनन गर्दै लथअलभउबलिभधक।अयm अनलाईन पत्रिकालाई फरक ढंगले संचालनमा ल्याउने हाम्रो सोच रहेको छ। यो संचार माध्यमलाई हामी कसैको व्यक्तिगत र निजी स्वामित्वको नभई समुदायको स्वामित्वमा रहने गरी संचालन गर्न तयारी रहेको छ। यसका लागि हामीले मुनाफारहीत संस्था एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क इंक स्थापना गरेका छौं । यही संस्था अन्तर्गत हाललाई अनलाईन पत्रिका एनवाइसिनेपालन्युजडटकम, पडकाष्ट तथा युट्युब च्यानल संचालनमा आएका छन् । यसकासाथै संचारसंग सम्बन्धीत अन्य गतिविधिहरु समेत प्राथमिकताको आधारमा संचालन गर्दै जाने यस संस्थाको योजना रहेको छ ।
यो लक्ष्य हासिलको लागि हामी केही संचारकर्मीहरुको मात्र प्रयास पर्याप्त हुन सक्दैन । यस अभियानलाई सफल बनाउन हामी संचारकर्मीसंगै अमेरिका विषेश गरी न्युयोर्कमा रहेका नेपाली संघसंस्थाहरु, व्यवसायीहरु, सामाजिक अगुवाहरु र सम्पूर्ण सचेत नेपालीहरुमा हातेमालोको आह्वान गर्दछौं । यो अभियान कसैको स्वार्थ पुरा गर्ने र समयक्रममा हराएर जाने प्रकृतिको नहोस् भन्ने हाम्रो मुख्य अभिप्राय छ । सम्पूर्ण समुदायको स्वामित्वमा यस संचारमाध्यम संचालनमा आएमा एकदुई व्यक्ति अन्य राज्यहरुमा स्थानन्तर भएपनि हाम्रो संचारमाध्यम भने निरन्तर संचालनमा नै रहने छ भन्ने हाम्रो विश्वास हो ।
तत्कालका लागि हामीले संचालनमा ल्याएको अनलाईन पत्रिका एनवाइसिनेपालन्युजडटकम भिजिट गर्न र यस अनलाईन पत्रिकामा समुदायको आवश्यक्त अनुरुपका सामाग्री प्रकाशन प्रशारण भयो भएन मुल्याँकन गर्न हामी विनम्र आग्रह गर्दछौं । समुदायको मुल्यांकनमा यो संचारमाध्यमको आवश्यकता महशुस भएको पुष्टि भएको खण्डमा यस संचारमाध्यमको दिगो विकासका लागि कसरी हातेमालो गर्न सकिन्छ भन्ने बारेमा समुदायकै सुझावको आधारमा अघि बढ्ने प्रण गर्दछौं । पहिलो प्रयासको रुपमा रहेको एनवाइसिनेपालन्युजडटकम सफलताको लागि एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क इंकको हरेक अभियानमा समेत हातेमालो गर्न सम्पूर्णमा हामी हार्दिक आह्वान समेत गर्दछौं ।
प्रतिक्रिया